धार्मिक सम्पदामा विदेशी पर्यटक

अनिश तिवारी

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनस्थित सुनकोसी क्षेत्रस्थित कफेश्वर महादेव मन्दिर घुम्न आएकी अमेरिकी क्यास्ट्रिना केट खुसी भइन् । ‘मेरो हिन्दु देवता महादेवप्रति अलग्गै लगाव छ, त्यसैले यहाँ घुम्न भनेर वर्षैपिच्छै आउने गरेकी छु,’ उनले भनिन् ।

धार्मिक सम्पदामा विदेशी पर्यटक

राजधानीको पशुपतिनाथ दर्शन गरेर आएकी उनले त्रिपुरासुन्दरी गापाअन्तर्गतको लाटुको लट्टेश्वर महादेव यात्रा सकेर कैलाश मानसरोवर जाने योजना बनाएको सुनाइन् ।


अफ्रिकाबाट आएकी फिदिम लिकीले मन्दिर घुम्न भनेर धेरै पटक सिन्धुपाल्चोक आइसकेको बताइन् । ‘६ जनाको समूहमा हामी आएका छौं, मन्दिर घुमेर आनन्द लिनकै लागि हाम्रो यात्रा हो,’ उनले भनिन् । उनले लिसंखुपाखर गाउँपालिकाको ठूलो धादिङस्थित गुफा र हरिसिद्धि देवीको मन्दिर अवलोकन गरेको जनाइन् ।


हेलम्बु गाउँपालिकाको महादेव पाइला हेरेर फर्किएकी अमेरिकी केटले यहाँ स्वर्गीय आनन्द लिएको अनुभव सुनाइन् । ‘किउलको हरियो खेतमा धान र फाँटको रमाइलो लियौं, यसपछि मेलम्चीघ्याङ, तार्केघ्याङ हुँदै आमायांग्री महादेव पाइला दर्शन गर्‍यौं,’ उनले भनिन् । १५ जनाको समूहमा आएकी केलिनाले भूकम्पअघि २५ जना साथीहरूसँगै हेलम्बु क्षेत्र घुम्न आएको सुनाइन् ।


‘ह्योल्मो धर्मको पहिचान गुम्बा, गुफा र मन्दिर भएकाले आएका हौं,’ उनले भनिन् । अमेरिका, अफ्रिकाजस्ता विभिन्न मुलुकबाट धार्मिकस्थल घुमेर आनन्द लिन भनेर आउने विदेशी पर्यटकको जमात बाक्लिँदै गएको छ । भूकम्प गएको तीन वर्षपछि पूर्वाधार, धार्मिकस्थलको पुनर्निर्माणसँगै जिल्लाको धार्मिक पर्यटन विस्तार हुने अवस्थामा पुगेको छ । क्षतिग्रस्त प्राचीन धार्मिक धरोहर विस्तारै उठ्न थालेपछि प्रसिद्ध सम्पदामा घुम्न आउने पर्यटक बढ्दै छन् ।


भूकम्पअघि दैनिक झन्डै हजार पर्यटक धार्मिक धरोहरको आनन्द लिन भनेर जिल्लामा आउने गरेका थिए । वार्षिक ७५ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बु, तातोपानीदेखि विभिन्न चर्चित धार्मिकस्थल अवलोकन गर्दथ्ये । अहिले पूर्वाधार र धार्मिक मन्दिरको निर्माण भइरहँदा जिल्लामा दैनिक सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।

प्रकाशित : आश्विन २६, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?