१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुधारगृह बन्दै कारागार

प्रताप विष्ट

हेटौंडा — उनलाई जेलमा बसेजस्तो लागेकै छैन । उनले जेलको जे जस्तो कल्पना गरेका थिए, त्योभन्दा फरक पाए । ‘घर जस्तै छ जेल पनि’ क्षेत्रीय कारागार भीमफेदीका बन्दी बाबु थिङले भने, ‘मलाई जेल जस्तो लागेकै छैन ।’

सुधारगृह बन्दै कारागार

अर्का बन्दी गणेशबहादर मोक्तानलाई पनि दिनभर काममा व्यस्त हुने गरेकाले जेलको अनुभूति नै हुँदैन । बिहान उठेदेखि बेलुका अबेरसम्म गलैंचा बुन्न व्यस्त हुने गरेकाले जेलमा छु कि घरमा पत्तो नै हुँदैन । कहिलेकाहीं राति निद्रा लागेन भने जेलमा छु जस्तो लाग्छ, मोक्तानले भने ।

टोपी बुन्दै जेल जीवन काटदै आएका ६५ वर्षीय श्यामबहादुर भोम्जनको पनि अनुभूति जेलको जस्तो छैन । उनी विगत ७ वर्षदेखि क्षेत्रीय कारागार भीमफेदीमा बस्दै आएका छन् । विभन्न अभियोगमा बन्दी जीवन बिताउँदै आएका थिङ, मोक्तान र भोम्जनलाई भीमफेदी कारागार सधंै गाउँको हाटबजारजस्तो लागेको छ । कुनै गाउँको हाटबजारमा आएर बसेको जस्तो महसुस उनीहरूलाई हुने गरेको छ ।

मकवानपुरको पूर्वसदरमुकामस्थित कारागारका बन्दीहरूले जेलको महसुस नै गरेका छैनन् । अधिकांश बन्दीहरू आ–आफ्नो काममा व्यस्त हुने गरेका छन् । बिहानदेखि बेलुकासम्म आयआर्जनको काममा जुट्ने गरेका छन् । करिब २ बिघा जमिनमा फैलिएको कारागारका वन्दीहरू मुढा बनाउने, गलैंचा बुन्ने, कपडा सिलाउने, टोपी बुन्ने र कपाल काट्ने काममा व्यस्त रहने गरेका छन् ।

बाबु थिङ गलैंचा बुन्ने काममा व्यस्त रहन्छन् भने गणेशबहादुर मोक्तान मुढा बनाउने र श्यामबहादुर भोम्जन टोपी बुन्ने काममा व्यस्त रहने गरेका छन् । कारागारका सबैभन्दा बढी बन्दीहरू मुढा बनाउने र गलैंचा बुन्ने काममा व्यस्त रहने गरेका छन् चौकीदार दीपेन्द्र राईले भने, ‘दिनभर काममा व्यस्त रहने कारणले गर्दा धेरैले जेलमा बसेको अनुभूति गरेका छैनन् ।’

जेलभित्र ठूल्ठूला गलैंचा बुुन्नका लगि ९ वटा तान राखिएका छन् भने टोपी बुन्ने तान पनि छ । यसैगरी मुढा बनाउने कार्यमा सयभन्दा बढी बन्दीहरू संलग्न छन् । आयआर्जन र रोजगारीका हिसाबले मात्र होइन जेलभित्रको भौतिक संरचनाको बनोट, सुत्ने कोठा, बस्ने ठाउँ, भान्साघर, पढ्ने घुम्नेलगायत सुविधाका कारणले भीमफेदी कारागार सुधारगृहको रूपमा परिणत हुँदै गएको बन्दीहरूको अनुभूति छ ।

जेलभित्र नै व्यायामशाला छ भने प्राथमिक उपचार गर्न कारागार परिसरमै क्लिनिक छ । जेलभित्र अध्ययन गर्न पुस्तकालय पनि छ । जेलभित्र लुगा सिउने, कपाल काट्ने सबै सुविधा छ । २ वटा ब्लकमा विभाजित उक्त कारागारमा क ब्लकमा ४ सय ३३ जना कैदीबन्दी छन् भने ख ब्लकमा ४ सय ५४ जना गरी ८ सय ८७ जना छन् ।

भीमफेदी कारागारमा रहेका अधिकांश बन्दीले मासिक रूपमा २ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म घर परिवारलाई पठाउने गरेका छन् । सबैभन्दा बढी रकम मकवानपुर कुलेखानीका अशोक स्याङ्तानले ८ हजार रुपैयाँ मासिक रूपमा घर पठाउने गरेका छन् । उनी जेलभित्र गलंैचा बुन्ने गर्छन् ।

वीरगन्ज, विराटनगर, नेपालगन्ज, सिन्धुपाल्चोक, काठमाडाैंस्थित कारागारबाट सरुवा हुने क्रममा भीमफेदी कारागारमा आइपुगेका बन्दीहरू नेपालमा यस्तो सुविधायु्क्त जेल पनि रहेछ भनेर दंग पर्ने गरेका छन् । काठमाडांैको भद्रगोल जेलबाट सरुवा भएर भीमफेदी जेल आइपुगेका बन्दी क्षेत्रबहादुर केसीले भने, ‘यस्तो सुविधायुक्त जेल नेपालमा कहीं पनि छैन, यो जेल होइन, योचाहिँ सुधारगृह हो ।’

काठमाडौंस्थित जेलबाट सार्ने क्रममा भीमफेदी जेल आइपुगेका अर्का बन्दी अर्जुन राईले भने, यहाँ आएपछि जेलको अलिकति पनि अनुभूति भएको छैन । जेलजस्तो पनि लाग्दैन, उनले भने ।

काठमाडौंबाट आएका मात्र होइन महोत्तरी जेलबाट सरुवा भएर आएका सुरेश राय यादवको अनुभूतिमा ‘महोत्तरीको जेलको तुलनामा भीमफेदीको जेल स्वर्गजस्तो लाग्छ ।’ जेलभित्रको सुविधा मात्र होइन भीमफेदीको हावापानी पनि अत्यन्त राम्रो भएकाले भीमफेदीको जेल अहिले नेपालभरिका बन्दीहरूको एक नम्बरको छनोट (च्वाइस) मा पर्छ ।

हेटौंडाबाट करिब २३ किलोमिटरको दूरीमा रहेको उक्त कारागारभित्र भलिबल खेल्ने मैदान, टेलिभिजन, पत्रपत्रिका र टेलिफोनको सुविधा छ । झन्डै २ हजार भन्दा बढी किताबहरू रहेको पुस्तकालय छ भने शारीरिक व्यायाम गर्न विभिन्न किसिमका सामानसहितको व्यायाम स्थल पनि छ ।

भीमफेदी कारागारलाई सुधारगृहमा परिणत गर्ने उद्देश्यले यसलाई सुविधायुक्त कारागार बनाउन खोजिएको छ, जेलर मातृका दाहालले भने, ‘जेलहरू सुधारगृह नै हुनुपर्छ ।’ जेलको आन्तरिक र वाह्य प्रशासन कारागारलाई सुधारगृह बनाउने मानसिकताका भएकाले पनि भीमफेदी जेल अन्य जेलहरूभन्दा फरक देखिएको हो, जेलर दाहालले थपे ।

जेलभित्र नै गार्मेन्ट उद्योग सञ्चालन गर्न ठाउँको अभाव भएकाले समस्या भएको छ, चौकीदार राईले भने, ‘ठाउँ भएको भए गार्मेन्ट उद्योग नै खोल्न सकिन्थ्यो ।’ दिनभर सबै बन्दीहरू काममा व्यस्त रहने भएकाले ७ वर्षको बीचमा २ पटक मात्र आपसी झैझगडा भएका थिए । काम नहुँदा बन्दीहरूबीच दैनिकजसो झैझगडा हुने गरेको थियो । बन्दीहरूको झगडाले चौकीदार र जेलरको टाउको दुख्ने गरेको थियो ।

भीमफेदी जेलमा आफ्नो कैद भुक्तानी गर्नका लागि सोर्सफोर्स लगाएर यहाँ आउने गर्छन् । आन्तरिक एवं वाह्य जेल प्रशासनले जेल भित्रका पसलहरूमा मूल्यसूची पनि राख्न लगाएको छ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमरकट्टेल जेलको निरीक्षण गर्ने क्रममा मूल्यसूचीहरू जेलभित्रका पसलहरूमा टाँसेको देखिएको थियो ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?