गौश्वाराको परिचय बदलिँदै

टीकाप्रसाद भट्ट

रामेछाप — कुनैबेला प्रहरीको अभिलेखमा ‘चोर’ गाउँको नामले चिनिने रामेछापको गौश्वारा यतिखेर पहिचान बदल्ने अभियानमा छ  । अब चोर हैन, पौरखीहरूको गाउँ भनेर गौश्वारालाई चिनाउने अभियानमा विगतमा चोरी पेसा गर्नेहरू नै लागेका छन्  ।

गौश्वाराको परिचय बदलिँदै

काठमाडौंमा हुने अधिकांश चोरीका घटनामा गौश्वाराका कोही न कोही जोडिन्थे । अरू त परै जावस्, शिक्षक समेत चोरी गर्न काठमाडौं पुग्ने गरेको उक्त गाउँमा चोरीको मुद्दा लाग्ने बग्रेल्ती थिए । कतिले जेल सजाय भोगे । कति अझै फरार सूचीमा होलान् । तर त्यो विगत हो । अहिले गौश्वारा बदलिएको छ ।

वडा अध्यक्ष चन्द्रबहादुर मगर भन्छन्, ‘विगतमा गौश्वारा जति बदनाम थियो, पछिल्लो २ वर्षमा त्यति छैन । चोरीमा जाने ९५ प्रतिशत घटिसके । कताकति सुनिने गरेको भए पनि त्यो एकदमै न्यून छ ।
मगरका अनुसार अर्काको चोरेर हुँदैन, समृद्ध हुन आफैं कमाउनुपर्छ भन्ने चेतनाको विकास विगतमा गलत क्रियाकलापमा संलग्नलाई अनुभूति भएको छ । कुखुरापालन, आलु व्यवसाय, डकर्मी, सिकर्मी अनि सवारी साधन चलाउने जस्ता आयआर्जनको काममा लागेका व्यक्तिहरू चोरीको अभियोगमा जेल बसेर फर्केका पनि छन् ।

अनौठो त के भने त्यस्तो पेसामा लागेका व्यक्तिहरूले प्राप्त गरेको सम्पत्तिको स्रोत खुलाउँदा चोरी गरेर ल्याएकै भन्थे । एकचोटि त चोरी केही व्यक्तिहरूको खेती नै भएको थियो । काठमाडौंतिर कोही चिनेजानेको व्यक्तिले किन आएको भनेर सोध्यो भने चोरी गर्न आएको भनेर खुल्लमखुला भन्थे । ठूलठूला सुन पसलहरूको चोरीमा कोही न कोही गौश्वाराका व्यक्ति परेको प्रहरीको तथ्यांक छ । सुन पसल चोरी भयो कि रामेछापको गौश्वारामा आँखा लगाउने प्रहरीले धेरैलाई त्यस्तो घटनामा अनाहकमा मुछेको पनि थियो । जिल्लाकै दुर्गम मानिने गौश्वारामा सडक नपुग्दै आलिसान घरहरू थिए । इँट, रड, सिमेन्ट अनि असजिला र ठूला सिसा लगाएका गौश्वाराका घरहरू कुलीन परिवारका भन्दा कम्तीका थिएनन् । त्यस्तो भव्य घरमा बस्नेहरूमा चैन भने थिएन । कतिबेला प्रहरी आइपुग्छ भन्ने चिन्ता थियो । स्थानीय झुमबहादुर मगर भन्छन्, ‘पछिल्लो केही समय प्राय: ढुक्क छ । प्रहरी चोर समाउन आइपुग्ला कि भन्ने चिन्ता छैन । कसैलाई समाउन आएको छैन । समातेको थाहा छैन ।’ प्रहरीचौकी गाउँमै छ । विगतमा चोरीको सजाय खेपेकाहरू फेरि उक्त पेसामा फर्केका छैनन् । गाउँमै खेती–किसानी गरेर बसेका छन् । यसले राम्रो सन्देश दिएको छ । पहिले गौश्वाराबाट काठमाडौं पस्नेहरू प्राय: सुन पसलमा आँखा लगाउँथे ।

प्रकाशित : आश्विन २८, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?