२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दैनिक १० हजार बाहिरिँदै

कान्तिपुर संवाददाता

काभ्रे — बीपी र अरनिको राजमार्ग हुँदै दैनिक १० हजार यात्रु जिल्लाबाट बाहिरिरहेका छन् । बीपी राजमार्ग हुँदै पूर्व तथा तराईका जिल्ला र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोक,दोलखा, रामेछाप दसैं मनाउन काभ्रे हुँदै फर्किएका हुन् ।

दैनिक १० हजार बाहिरिँदै

ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका प्रमुख उमेश थपलियाका अनुसार,दैनिक १५ सय सार्वजनिक सवारी र करिब ३ सयको हाराहारीमा निजी साधन बीपी राजमार्ग भएर बाहिरिएका छन् । ‘सवारीको चाप निकै छ,’उनले भने,‘दैनिक ८ देखि ९ हजार मानिस दसैं मनाउन फर्किने गरेको अनुमान छ ।’


सार्वजनिक यातायातका साधनले काभ्रेभञ्ज्याङस्थित ट्राफिक प्रहरी पोष्टमा नम्बर दर्ता गराएर जाने गर्छन् । दोलखा,रामेछाप,ओखलढुंगा,उदयपुर,सोलुखुम्बु र तराईका जिल्ला जान राजमार्ग प्रयोग गरिने गरेको छ ।


अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको बाह्रबिसे,चौतारालगायत क्षेत्रमा पनि दैनिक सार्वजनिक सवारीमार्फत यात्रु गाउँ फर्किरहेका छन् । ‘निजी सवारी इन्ट्री गर्ने गरेका छैनौँ,दैनिक सरदर २ सय सवारी बाहिरिरहेका छन्,’दोलालघाटस्थित ट्राफिक प्रहरी पोष्टका इन्चार्ज सञ्जीव झाले भने,‘दोलखा, रामेछाप जाने यात्रुले बीपी राजमार्ग भएर जाने भएकाले यात्रु चाप कम छ ।’


खाडीचौरदेखि चरिकोट जाने सडक निर्माण क्रममा अस्तव्यस्त भएकाले दोलखा जानेले वीपी राजमार्ग नै प्रयोग गर्ने गरेका छन् । केही संख्यामा यात्रु मेलम्ची मार्ग हुँदै सिन्धुपाल्चोकको हेलम्बु, मेलम्चीलगायत क्षेत्रमा पनि जाने गरेका छन् ।


१० स्थानमा यात्रु सहायता कक्ष

जिल्लाका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रु नठगिउन्,क्षमताभन्दा बढी नबोकुन् र दुर्व्यवहारमा नपरुन् भनेर सहायतका लागि बनेपा,बनेपा बसपार्क,मंगलटार, भकुण्डेबेंसी, हिंगुवापाटी,पनौती,दोलालघाट,पाँचखाल,खावा,साँगामा कक्ष स्थापना गरिएको हो । ‘बढी यात्रु बोकेको, बढी भाडा लिएको वा कुनै दुर्व्यवहार भए तत्काल सहायता कक्षमार्फत उजुरी लिएर कारबाही गर्छौँ,’ जिल्ला ट्राफिक प्रमुख निषेश चापागाईले भने ।


उनका अनुसार, यसबीचमा यात्रु भाडा बढी लिने ४ माइक्रोबसलाई बीपी राजमार्गमा कारबाही गरिएको छ ।

प्रकाशित : आश्विन २८, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?