नाका खुलाउन पहल

दर्जनौं पटक सरकारी अधिकारीबाट तातोपानी नाका निरीक्षण
अनिश तिवारी

सिन्धुपाल्चोक — सीमावर्ती तातोपानी क्षेत्रको निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठसहितको टोलीले दसैंलगत्तै तातोपानीको भौतिक संरचना बनाएर ‘मे’ मा नाका खुलाउने बताएका छन्  ।

नाका खुलाउन पहल

‘यहाँको भौतिक संरचना तत्कालै मर्मतसम्भार गरिनेछ, नाका खोल्नेबारेमा चीन र केन्द्रीय सरकारबीच सम्झौता हुने पूरा तयारी भइसकेको छ,’ सीमागाउँ तातोपानीमा पुगेका मन्त्री सेठले भने  ।

प्रधानमन्त्री केपी ओलीसँगै नाकासम्बन्धी छलफल गर्दा तातोपानी नाका सञ्चालनप्रति चीन सकारात्मक देखिएको संकेत पाएको सुनाए । ‘असार ५ गतेदेखि १० गतेसम्म भएको चीन भ्रमणमा तातोपानी नाका आउने चैतको अन्तिम सातामा खोल्ने विषयमा सहमति भएको छ,’ उनले भने ।

कोदारी राजमार्गको क्षतिग्रस्त सडक अवलोकन गर्दै मितेरी पुलसम्म पुगेका प्रदेश ३ का उद्योग तथा वनमन्त्री अरुण नेपाल, प्रतिनिधिसभाका सांसद अग्नि सापकोटालगायतका जनप्रतिनिधिले सीमालाई ध्यानार्कषण गराए ।

‘सीमा जोड्ने घाँटी भेग बजार ध्वस्त रहेकाले पुनर्निर्माणमा समस्या बनेको छ,’ सडक विभागको महानिर्देशक रवीन्द्र श्रेष्ठले भने । नाका खोल्न भौतिक संरचना अत्यन्त आवश्यक रहेकाले क्षतिग्रस्त घर–भवनजस्ता संरचना हटाइनुपर्ने जरुरी भएको उनले प्रस्टयाए ।

चरिकोट सडक डिभिजन कार्यालयले केही दिनमै सडक तयार पार्न कार्ययोजना तयार पार्न लागेको जनाएको छ । ‘सडक, बिजुलीजस्ता बलिया पूर्वाधार तयारी पार्न विशेष योजना बनाएर अगाडि बढ्नेछौं,’ सडक डिभिजन प्रमुख अशोक तिवारीले भने । चीनतर्फको भूभाग लगभग तयार हुने अवस्थामा पुगिसक्दा सीमा भेग सडकको सामान्य मर्मत हुन सकेको छैन ।

यसअघि दर्जनौं पटक सरकारी अधिकारीबाट तातोपानी नाका निरीक्षण भइसकेको छ । औपचारिक र अनौपचारिक गरी झन्डै दसपटक नाकाबारे बैठक भइसक्दा नाका खोल्न सकेको छैन । चिनियाँ राजदूत यु होङले नाका खोल्न चीन सधैँ तयार रहेको बताउँदै आएकी छन् ।

केही दिनअघि चिनियाँ सरकारी अधिकृत भाइस सेक्रेटरी जनरल अफ गभर्नमेन्ट अफ टिबेट अटोनमस रिजनकी छुङ्लिउले नाका खोल्ने संकेत दिएकी थिइन् । ‘तर, नाका खोल्ने सुरसार स्पष्ट हुन सकेन, अब केही सुरसार देखिन्छ,’ भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले भने । अब सबै कुराको डायरी टिपोटसहित मंन्त्रीको नेतृत्व टोलीले निर्देशन गरी नाका चलाउन पहलकदमी लिएकाले नाका खुल्नेमा स्थानीय आशावादी रहेको उनले सुनाए ।

‘नाका नखुल्दा युवा बिदेसिए, आयआर्जन शून्यमा पुग्यो,’ उनले भने । ६५ प्रतिशत काम भइसकेको बन्दरगाहबाहेक सीमाका अन्य पूर्वाधार बलियो नबनाइएको स्थानीय बताउँछन् । भूकम्पपछि हालसम्म बन्द रहेको तातोपानी नाका नचल्दा सीमाको जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?