कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मगर गाउँमा मदिरारहित दसैं

मादक पदार्थ सेवन गरेर दसैं मनाउने उक्त बस्तीमा यो पटक त्यस्तो तयारी छैन ।
सगुन हो, बैगुन गर्ने गरी कोही कसैले खाँदैन र घरबाट बाहिर पनि जाँदैन ।
टीकाप्रसाद भट्ट

रामेछाप —  यहाँको दुर्गम क्षेत्रमा पर्ने गौश्वाराको मगर समुदायले यो वर्षको दसैं फरक किसिमले मनाउँदै छन् । मादक पदार्थ सेवन गरेर दसैं मनाउने उक्त बस्तीमा यो पटक त्यस्तो तयारी छैन । सामान्य ढंगले दसैं मनाउने तयारीमा गाउँलेहरू जुटेका छन् ।

मगर गाउँमा मदिरारहित दसैं

गौश्वारालाई मदिरामुक्त बनाउने अठोटसहित जनप्रतिनिधिले थालेको अभियानका कारण मगर बस्तीमा दसैंमा जाँड–रक्सी जुटाउने र खाने उमंग कसैमा पनि छैन । स्थानीय झुमबहादुर मगर भन्छन्, ‘यो साल दसैं आएको र नआएको खासै फरक छैन ।


दसैंमा आफन्तजनसँग भेटघाट गर्ने, मान्यजनको हातबाट टीका थाप्ने अनि औकात अनुसारको मासुलगायतका सामग्री बनाएर खानपिन गर्ने सोचमा गाउँले छन् । ‘सगुनको रूपमा कतै मदिरा चलिहाले अनौठो हुने छैन ’ स्थानीय रामबहादुर मगर भन्छन्, ‘सगुन हो, बैगुन गर्ने गरी कोही कसैले खाँदैन र घरबाट बाहिर पनि जाँदैन ।’


मदिरा सेवन गरी सार्वजनिक स्थानमा झैझगडा गर्ने गौश्वाराका मगर बस्ती आजभोलि चकमन्न छन् । होटल, पसलमा मात्र होइन, घरमै बसेर पनि जाँड–रक्सी खाने घटेका छन् । ‘यो राम्रो होइन रहेछ,’ मगर भन्छन्, जाँड–रक्सी मनलागी खान दिएको भए के दसैं के तिहार ? सधैं रडाको हुन्थ्यो, यो साल ढुक्क छ । मगर गाउँमा जाँड–रक्सी निषेध, धेरैले पत्याउँदैनन् तर सत्य त्यही हो ।


वडा अध्यक्ष चन्द्रबहादुर मगर भन्छन्, ‘मलाई यो अभियानमा यति चाँडो सफलता मिल्छ भन्ने लागेको थिएन तर नसोचेको भयो, सबैले साथ दिए ।’ गौश्वारामा जाँड–रक्सी ठप्पजस्तै छ । जो नखाई बाँच्न सक्दिनँ भन्थे उनीहरूले पनि जाँड–रक्सी छोड्दा भएको फाइदाको अनुभव साटासाट गर्ने गरेका छन् ।


स्थानीय निर्वाचन भएपश्चात् गौश्वारामा मदिरा र जुवातासमा निषेध अभियान थालिएको हो । दुर्गम भएपछि दसैं–तिहारजस्ता चाडबाडमा १५–२० लाखको तासजुवामा हार–जित हुने उक्त गाउँमा जुवातास पनि ठप्पजस्तै छ । कतै लुकेर खेलेको जानकारी पाउनासाथ जरिवाना गर्ने चलनले कसैले पनि खेल्ने हिम्मत गरेका छैनन् ।


जाँड र जुवातास बन्द भएको समाजमा अमनचयन कायम गराउन सजिलो भएको अनुभव प्रहरीलाई पनि छ । विगतमा झै झगडाका विषयमा बारम्बार चौकीमा दुई पक्षका मुद्दा मिलाउने प्रहरी अहिले सुनसान आफ्नो ब्यारेकमा रमाइरहेका छन् । वडाका जनप्रतिनिधिहरूलाई पनि झैझगडामा पक्ष र विपक्षमा लाग्नु पर्ने झन्झट कम भएको छ ।


गाउँमा जाँडरक्सीको चलन स्वाट्टै घटेपछि खाद्यान्नको अभाव हुन छाडेको अनुभव गाउँलेलाई छ । कोदो र मकै बचेको छ । जाँडरक्सी पारेको भए बेसाहा खोज्ने बेलामा स्थानीयको भकारीमा अन्न रित्तिएको छैन ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?