१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

दसैंमा दंग वृद्ध चेपाङ

प्रताप विष्ट

हेटौंडा — दसैंको पूर्वसन्ध्यामा नयाँ लुगासँगै मासु र चिउरा पाउँदा वृद्ध चेपाङ दंग परेका थिए  । हेटौंडा उपमहानगरपालिका १४ नयाँ वस्तीका ८५ वर्षीय बमबहादुर चेपाङलाई दसैंको अवसरमा म्याग्दी घर भई ललितपुर बागडोल बस्ने ललितप्रकाश थापाले बाक्लो ज्याकेट, ट्राउजर, मासु, चिउरा र नगद रुपैयाँ सोमबार सहयोग गरेका थिए  ।

दसैंमा दंग वृद्ध चेपाङ

कान्तिपुरमा प्रकाशित बमबहादुर चेपाङको समाचार पढेपछि मन थाम्न नसकेर थोरै भए पनि सहयोग गरेको थापाले भने । एक महिनादेखि थलिएका चेपाङको आर्थिक अभावले औषधि उपचार पनि हुन सकेको थिएन । लगाउने कपडा र खानका लागि एक गेडा अन्न पनि छाप्रोमा थिएन । पत्रिकामा समाचार प्रकाशित भएको भोलिपल्टै हेटौंडाका दुई स्वास्थ्यकर्मीले चेपाङको घरमै पुगेर औषधि उपचार गरेका थिए ।


आवश्यक औषधि पनि दिएका थिए । औषधि उपचारपछि अहिले उनी विस्तारै यताउति हिँड्न सक्ने भएका छन् । ‘औषधिले मलाई ठीकै हुँदैछ,’ वृद्ध चेपाङले भने, ‘अहिले म विस्तारै यताउति हिँड्न सक्ने भएको छु ।’ उनलाई बेलुुका सधैं ज्वरो आउने छाती दुख्ने गथ्र्याे । अहिले ज्वरो आउन छाडेको छ । चारैतिर खुला भएको खरको छाप्रोमुनि कातीपरेको लुगा लगाइरहेका थिए चेपाङले ।

महिनौंदेखि लगाएका कपडा खोलेर नयाँ ज्याकेट र ट्राउजर लगाउँदा उनी खुसी भए । उनले चेपाङ भाषामा खिसिक्क हाँस्दै भने, ‘नयाँ नाइलवसा चेवा’ (नयाँ लुगा लगाउन पाइयो),‘माई चिउरा देसचेवा’ (मासु र चिउरा पनि खान पाइयो)। उनी बसेको छाप्रोको एउटा कुनामा छोराले गाई बाँधेको छ । बीचमा अगेना छ । अगेनामा स–साना दाउरा बलिरहेका थिए ।

खाद्यान्न, नयाँ कपडा र मासुको झोला बोकेर वृद्ध चेपाङको छेउ पुग्दा अनुहारमा खुसी झल्किएको थियो । उनले आफू नजिक आउनेहरूलाई उठेर नमस्ते गरेका थिए । एक साताअघिसम्म उनी ओछ्यानबाट उठ्न सक्ने अवस्थामा थिएनन् ।

औषधि उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको हो । पत्नी मरेपछि उनलाई रोगले थला पारेको थियो । चेपाङ भाषामा उनले ‘सिमा ङा एकान स्यावलाङ’ (बूढी मरी म एक्लै भएँ) भनेर पीडा पोखे । रोगले थला पारेको भन्दा उनलाई बुढेसकालमा पत्नीको मृत्युले गालेको थियो । उनकी पत्नी साँहिलीमाया चेपाङको ८० वर्षको उमेरमा साउनमा मृत्यु भएको थियो । उनी दुवै आँखा देख्दैनथिन् । दुवै आँखामा जलविन्दु भएको थियो ।


बमबहादुरले उनलाई घर अगाडिको चुरे बगरको बालुवा चालेर पाल्दै आएका थिए । गत असार महिनासम्म बमबहादुरले बगरको बालुवा चालेर आफू र पत्नीको प्राण धान्दै आएका थिए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?