२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डोरी तानेर दसैं मनाउँदै

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको माझी समुदायले बाबियोको डोरी (बहरा) तानेर दसैं मनाउने गर्छन्  । दसैंमा राँगा, भैंसी, खसी–बोका र कुखुरा काटेर मासु भात खान्छन् र त्यसलाई पचाउन रातभर बहरा तान्ने गर्छन्  ।

डोरी तानेर दसैं मनाउँदै

फूलपातीको रातिदेखि टीकाको रातसम्म महिला र पुरुष दुवै बहरा तान्छन् । बहरा दिउँसो तान्दैनन् । राति तान्ने गर्छन् । ‘दसैंमा खाएको मासु–भात पचाउनलाई बाबियोको ठूलो डोरी अर्थात् बहरा तान्ने गरिन्छ,’ बकैया गापा–६ जुइनाका कृष्ण माझीले भने, ‘दसैंमा बहरा तान्ने हाम्रो संस्कृति हो ।’

दसैं सूरु हुनु भन्दा एक साता अघिनै माझी गाउका घरधुरी पिच्छे एक/एक जना जंगलमा गएर बाबियो काटेर ल्याएर सुकाउने गर्छन् । दसैंको फूलपातीको दिन बाबियोको डोरी अर्थात् बहरा बनाउने गरिन्छ । बहरा मोटो र लामो हुन्छ । फूलपातीको रातदेखि महिला पुरुष दुवैले बहरा तान्छन् । बहरा तान्दा थाकेपछि मादल ठोकेर गीत गाएर नाचगान पनि गर्छन् ।

भोक लाग्यो भने राति नै मासु भात खाने गर्छन् र पुन: बहरा तानिन्छ । ‘डोरी नछिनेसम्म त्यो क्रम टीकाको रातसम्म रहिरहन्छ,’ माझी समुदायका अगुवा कृष्णले भने, ‘घरका सबै परिवार बहरा तान्ने काममा संलग्न हुन्छन् ।’ बहरा बनाएपछि गाउँका अगुवा झाँक्री माझीले डोरीलाई तन्त्रमन्त्रसँगै पूजाआजा गरेपछि दुईतिरबाट तान्ने काम गरिन्छ । बहरा तान्ने काममा अहिले छिमेकी अन्य समुदायका व्यक्तिहरू पनि संलग्न हुने गरेका छन् । बहरा चुँडिएन भने टीकाको भोलिपल्ट त्यही डोरीको पिङ हाल्ने गरिन्छ ।

माझी गाउँमा टीकाको दिनभन्दा अघि पिङ हालिँदैन । बहरा तानातान गर्दा चाँडै नै चुँडियो भने टीकाको भोलिपल्ट पिङ नहाल्ने परम्परा छ । मकवानपुरमा रहेका प्रत्येक माझी बस्तीमा फूलपातीको रातदेखि बहरा तान्ने गरिन्छ । माझी समुदायले विगतमा रातो टीका लगाउने थिएनन् । केही वर्षदेखि निधारमा रातो टीका लगाउने गरेका छन् । मकवानपुरको पूर्वी क्षेत्र बकैया र वाग्मती गाउँपालिका केही बस्तीहरूमा माझी समुदायको बसोबास छ ।

प्रकाशित : आश्विन ३१, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?