कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दोलखामा खड्गजात्रा

नेवारी र थामी जातिको संयुक्त रोचक जात्राका रूपमा पनि खड्गजात्रालाई हेरिन्छ
राजेन्द्र मानन्धर

दोलखा — दोलखा बजारका नेवार समुदायले दसैंको टीकाको भोलिपल्ट एकादशीमा उल्सासपूर्वक खड्गजात्रा प्रदर्शन गरेका छन्  । ऐतिहासिक सांस्कृति सहर दोलखा बजारमा आदिमकालदेखि देवदेवी र सेनाको भेषमा एकादशीको बिहानदेखि युद्धको अभिनय गर्दै जात्रा यसवर्ष प्रदर्शन भयो  ।

दोलखामा खड्गजात्रा

खड्गजात्राको अभिन्न अंग मानिने हिपाथामीको अनुपस्थितिले जात्रा अपुरो भयो । खड्गजात्रा देवदेवी र राक्षसबीचका युद्ध कथासँग सम्बन्धित छ । प्राचीन दोलखा बजारमा राक्षसले दु:ख दिएपछि देवदेवीले युद्ध घोषणा गरेको र त्यसमा थामी समुदायको हिपाथामी सारथी वनेको किंवदती छ । नेवारी र थामी जातिको संयुक्त रोचक जात्राको रुपमा पनि खड्गजात्रालाई हेरिन्छ ।


पछिल्ला वर्षहरूमा थामी समुदायको उपस्थित हुन छाडेकाले परम्परा तोडिए तापनि जात्रालाई परम्परागत झलकमै प्रदर्शन गरिएको भीमेश्वर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठ बताउँछन् ।


शक्तिको प्रतीक खड्ग बोकेर विभिन्न रोमाञ्चक पारामा नृत्य गरिने भएकाले खड्गजात्रा भनिएको हो । खड्गले राक्षसविरुद्ध आक्रमण गरेझैं अभिनय गर्दै अघि बढ्दा मानिसहरू पनि अघिपछि लागेर रमाइरहेका हुन्छन् । खड्गधारीमध्ये याकरगण प्रमुख पात्र मानिन्छ । दोलखा बजारका प्रधान जाति अर्थात् याकरगण खलकभित्र एकले अर्कालाई नेतृत्व हस्तान्तरण गर्दै जात्रा चलाउने चलन पुर्खादेखि सर्दै आएको छ । झन्डै ४० वर्ष याकरगणको नेतृत्व छाडेर यज्ञकुमार प्रधानले युवा सन्तोष प्रधानलाई हस्तान्तरण गरे । गणको नेतृत्व हस्तान्तरण प्रकृया जात्राको महत्त्वपूण पक्ष मानिन्छ । यज्ञकुमारले उनका बाबु धनबहादुर प्रधानबाट नेतृत्व लिएका थिए ।


राजकुलबाट निस्किएको खड्गधारी समूह देवदेवीका मन्दिर, देवल, डबली र चोक हुँदै अघि बढ्छ । नेवारी सस्कार र सम्पदाहरूको सहर दोलखा बजारमा देवताका लडाकुहरू सेनापती र लडाकुहरू क्रुद्ध शैलीमा दानवहरू खोजेर बध गर्ने अभिनय गर्छन् । यो नै जात्राको मौलिकता हो । रोचक हिपाथामी नभएपछि सांस्कृतिक परम्परा तोडिएकोमा क्षमापूजापछि त्यसको भूमिका नेवार जातिले नै सम्हालेका थिए ।


जात्राको अर्को रोचक पक्ष पहिरन पनि हो । सेता पोसाक, फेटा र पटुका लगाइएको हुन्छ । शीरमा जमराका मालाले सजिएको हुन्छ । त्यस्तो भेषका लडाकुहरूले राजकुल, श्यामसुन्दर, नक्छे र टसिचा टोलमा युद्ध लडेको अभिनय गर्छन् । गम्भीरखर्कमा पुगेर थप शक्ति जुटाउँछन् अर्थात् त्यसमा नयाँ लडाकुहरू थपिन्छन् । रास्नी पुगेपछि लडाकुहरू फरक दृश्यमा नाच्छन् ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?