१०८ वर्षीयको हातबाट टीका

प्रताप विष्ट

काठमाडौँ — मकवानपुरको दुर्गम गाउँको दुई पाखे पुरानो घरमा दसैंको टीका लगाउन उनको आफन्त र नातेदारमात्र होइन गाउँलेहरू पनि पुग्ने गर्छन्  । उनको आशिक थाप्ने गर्छन्  ।  संस्कृतिमा नै श्लोक भनेर उनले आशिक दिने गरेका छन् ।

१०८ वर्षीयको हातबाट टीका

निधारमा टीका लगाउन हात कामे पनि सवैले सुन्ने गरी श्लोक भनेर आशिक दिन्छन्, भीमफेदी गाउँपालिका—९ च्याखुका १०८ वर्षीय हरिलाल रेग्मी । तामाङ,चेपाङ,क्षेत्री वाहुन र मगरलगायत छरछिमेक सवैले उनको हातको टीका लगाए । गाउँका उनी पण्डित पनि हुन् । अहिले उनले पुरेत्याइँ काम छोडेका छन् । १०५ वर्ष उमेरसम्म उनले जजमानहरूका गएर पुरेत्याइँ गथ्र्ये । ‘विगत तीन वर्षदेखि यो काम उनले छोडे,’ स्थानीयवासी रामप्रसाद कालाखेतीले भने, ‘लौरो टेकेर हिँड्न थालेपछि उनले पुरेत्याइँ गर्न छाडेका हुन् ।’


नुवाकोटको तिगाउँमा १९६८ साल भदौ २९ गते जन्मेका रेग्मीका साथमा अहिले पनि १०२ वर्षीया पत्नी उमादेवी रेग्मी, ६ छोरा र एक छोरी छन् । उनी पत्नीसहित कान्छा छोरा रामप्रसादसँगै बसेका छन् । छोरीतर्फ पलातीसम्म उनले देख्न पाइसकेका छन् । छोरातर्फको जलातीसम्मको अनुहार देखिसकेका छन् । भदौ २९ गते १०८ वर्षमा प्रवेश गरेका रेग्मीको हातबाट टीका लगाउन छोराछोरीदेखि जलातीसम्म आए । उनका सन्तानमात्र अहिले १ सय १० जना छन् । रेग्मी दम्पतचीको हातबाट दसंैमा टीका लगाउन आफन्तहरूमात्र होइन,गाउँका सवै आउँछन् र उनले रातो टीका र आफैंले चण्डि पाठ गरेर हुर्काएको जमरा लगाइदिने गर्छन् ।


बिहान सधैं ५ बजे उठेर चिसोपानीमा नुवाइधुवाइ गरेर बिहान ८ बजेसम्म पूजापाठ गरेर अनिमात्र एक गिलास दूध पिउने गर्छन् । बुढाले पूजापाठ सकेपछि बुढाको हातबाट रातो टीका लगाएपछि यी दम्पतीको दिनचर्या सुरु हुन्छ । लठ्ठीको सहारामा कुप्रो परेर घरमुनिको खेत र खोला छेउसम्म पुगेर हरिलाल बालीको निरीक्षण गरेर आउँछन् । उमाकुमारी बुहारीलाई भान्सामा सघाउने गर्छिन् । कहिलेकाहीँ उनी घरमुनिको खेतमा घाँससमेत काट्न सक्छिन् । सधैं यो दम्पती दूधदहीसँग दुवै छाक भात खान्छन् । हरिलाल अहिलेसम्म अस्पताल भर्ना हुने बिरामी भएका छैनन् । अहिलेसम्म उनलाई नियमित ढंगले औषधि सेवन गर्नुपर्ने रोग लागेको छैन । हरिलाल भीमफेदी गाउँपालिकाको मात्र होइन सिंगो जिल्लाको सवैभन्दा बढी उमेरका ज्येष्ठ नागरिक हुन् । उनी अहिलेसम्म आँखा प्रस्टसँग देख्छन् । भागवत,गीता र चण्डीपाठ बिनाचस्मा पढ्छन् । नुवाइधुवाइ आफैं गर्छन् । भात कसैले खुवाइदिनु पर्दैन । कान अलि कम सुन्छन् । तर पत्नी उमा आँखा देख्छिन् र कान पनि सुन्छिन् ।


हरिलालले यो दसंैको आइतबारसम्म करिब दुई सय जनाभन्दा बढीलाई टीका लगाइसकेका छन् । त्रिभुवन राजपथको वाघमाराबाट एक घण्टा पैदल हिँडेर उनको घर पुग्न सकिन्छ । उमेरमा हरिलाल घरबाट हिँडेर हेटौंडा बजार पुगेर राति सुत्न घर आइपुग्थ्ये । ‘त्यतिबेला हेटौंडामा औलो लाग्ने भएकाले राति कोही पनि हेटौंडामा बस्ने थिएनन्,’ हरिलाल भने, ‘अहिलेको जस्तो हेटौंडा उहिले थिएन, कच्ची घरहरू फाट्टफुट्ट थिए । तीन वर्षअघि उनी नातिसँग हेटौंडा बजार आएका थिए । त्यसपछि उनी आएका पनि छैनन् ।

राणाकाल,पञ्चायत र गणतन्त्र सवै देखियो र फरक पनि पर्दै गएको उनको अनुभव छ । यस्तो बाटोघाटो, मोबाइल र स्कुल बनेका छन् । बाँचेपछि धेरै देखिँदोरहेछ उनले भने ।
अझै पनि बाँच्न रहर बोकेका हरिलाल काल नआएसम्म मर्न कहाँ पाइन्छर भन्छन् । १९९० सालको भूकम्प आउँदा रूखमा चढेर घाँस काट्दै थिए । २०७२ सालको भूकम्पमा घरभित्र थिए । बेसरी हल्लायो तर घर भत्केन । भत्केको भए किचेर मरिन्थ्यो होला । ढुंगामाटाको गाह्रो भएको जस्तापाताले छाएको उनको घर छ । यो घर बनाएको ५ दशक वितिसकेको छ तर भत्केन । उनलाई अरू नेता र राजाको नाम थाहा छैन, थाहा भएको भए पनि बिर्सिसके तर मनमोहन अधिकारीको नाम उनलाई कन्ठै छ । ‘अधिकारीले नै वृद्ध भत्ता दिएकाले अहिलेसम्म सम्झना छ,’ उनले भने ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?