कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नारायणगढ–मुग्लिन सडक थप भासियो

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडक फराकिलो बने लगत्तै सुरु भएको भासिने समस्या थपिँदै गएको छ  । सडक फराकिलो बनाउन भतेरीमा पर्खाल लगाएर जमिन पुरेको ठाउँमा चिरा परे लगत्तै १७ किलोमा पनि सडक भासिएको थियो  ।

नारायणगढ–मुग्लिन सडक थप भासियो

फेरि भालुढुंगामा १७ किलोको जस्तै समस्या देखा परेको छ । भतेरी बाहेक अरू ठाउँको समस्या नयाँ नभएर पुरानो निर्माणका कारण आएको अधिकारीहरू बताउँछन् ।


‘अहिले नारायणगढ–मुग्लिन सडकको भतेरी, १७ किलो र भालु ढुंगा भन्ने ठाउँमा सडक भासिएको छ । तीन ठाउँमा सडक भासिए पनि भतेरीको समस्या अलग हो । अन्य दुई ठाउँको समस्या अलग हो,’ नारायणगढ–मुुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खानलले भने । १७ किलो र भालुढुंगामा रक एङरीमा समस्या आएका कारण सडक भास्सिएको खनालले बताए ।


मध्य असारमा जुगेडी नजिकको भतेरीमा छेउबाट सडक चिरा परेको थियो । त्यसैगरी गाईघाट नजिक १७ किलोमा असार २५ गतेबाट चिरा देखिएको सडकमा अहिले ठूलै समस्या आएर एकतर्फी मात्रै गाडी चलाउन मिल्ने भएको छ । गाईघाटकै जस्तो समस्या भदौको सुरुवातमा भालुढुंगा भन्ने ठाउँमा देखा परेको सूचना अधिकारी खनालले बताए ।


भतेरीमा योपटक नै खाडल पुरेर सडक फराकिलो बनाएको ठाउँमा समस्या आएको हो । तर १७ किलो र भालुढुंगा लगभग १५ वर्षअघि राखेको रक एङरीमा समस्या आएका कारण सडक चिरा पर्न थालेको खनाल बताउँछन् । सडक फराकिलो बनाउन अन्य कुनै विकल्प नभएपछि कडा चट्टानमा रड घुसारेर कंक्रिटको पर्खाल लगाएर फराकिलो बनाउने विधिलाई रक एङरिङ भनिन्छ ।


‘अहिले त्यही रडले ठाउँ छाडेको हुनु पर्छ’, नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी खनालले भने । उनका अनुसार ०६० सालमा नारायणगढ–मुग्लिन सडक मर्मत गर्दा केही ठाउँमा रक एङरिङ गरिएको थियो । तीमध्ये १७ किलो र भालुढुंगाको एङकरिङमा १५ वर्ष पुग्दा नपुग्दै समस्या आएको उनले बताए । अरू कुनकुन ठाउँमा एङरिङ भएको थियो त्यसको विवरण लिन बाँकी छ ।


अरू ठाउँमा त्यो बेला भएको एङरिङको अब अध्ययन सुरु गरेर योजना बनाउन ढिला गर्न नहुने अधिकारीहरू बताउँछन् । १५ वर्ष पनि नटिक्ने रक एङरिङले समस्या बढाउन सक्छ । भतेरीमा अहिले सडकको किनारामा लगभग डेढ सय मिटर लम्बाइमा ठूलै चिरा परेको छ । बाटो एकतर्फी नभए पनि दोहोरो गाडी चल्न केही समस्या छ ।


गाईघाट नजिकको १७ किलोमा ७० मिटर लम्बाइमा चौडाइतर्फ आधा सडक भासिएको छ । त्यहाँ एकतर्फी रूपमा मात्रै गाडी चलाउन सम्भव छ । भालुढुंगामा सय मिटर लम्बाइमा चिरा परेको सूचना अधिकारी खनालले बताए । त्यो ठाउँमा सडक अन्यत्रको भन्दा पनि फराकिलो भएका कारण सजिलै दोहोरो गाडी चल्ने गरेको खनालले बताए । त्यहाँ तीन मिटरभन्दा बढी चौडा सडक बिग्रेको छ । ‘पुरानो निर्माणका कारण अन्यत्र समस्या आउने सम्भावना छ कि छैन , समस्या आएको ठाउँमा के कसरी निर्माण गर्ने हो भन्ने विषयमा तिहारपछि नै अध्ययन भएर अध्ययनको निचोड अनुसार काम सुरु होला,’ नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो ।


साढे पाँच मिटर मात्रै चौडा ३६ किलो मिटर लम्बाइको यो सडकलाई तीन वर्ष लगाएर एसियाली मापदण्ड अनुरूपको दुई लेनको फराकिलो बनाउने काम हालै मात्रै सकिएको हो ।
दिनहुँ १० हजार गाडी ओहोरदोहोर गर्ने यो सडकमा निर्माण कार्य भइरहँदा यात्रुहरू घण्टौं जाम हुने समस्याबाट आजित थिए । अहिले पनि सानो समस्या आए वा पहिरो खसे जामको समस्या सुरु भइहाल्छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?