कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

घैया धान मासियो

कान्तिपुर संवाददाता

नुवाकोट — घैया धानको खानी मानिएको पिपलटारमा अहिले हाइब्रिड धानमात्र छन् । घैया धान वर्षातको पानीले टार र पाखाबारीमा फल्ने गरेको थियो । कोदो रोपेझैं रोपिने र गोड्दा कोदो गोडेझंै मलखाद गरेर किसानहरूले फलाउथे ।

घैया धान मासियो

घैया धान पछिल्लो समय हराउँदै गएको विदुरनगरपालिका ५ पिपलटारका स्थानीय क्रिमबहादुर कुमालले बताए । दुई दशकअघि सिजनमा ८०/९० मुरी धान आफ्नो हातले घरमा भित्र्याएको उनले बताए । ‘अहिले घैया छैन,’ उनले भने, ‘तेत्रो धान आफ्नो हातले झाटरे भित्र्याइयो । अहिले सिला खोज्दा पनि नभेटिने भो ।’ ३/४ दशक अगाडि तल्लो र माथिल्लो पिपलटार, बट्टार, माझिटार, गैरीगाउँ, इनारपाटी, महारानीडिही लगायतका स्थानमा लगाइने घैया प्रशस्त हुने गरेको थियो ।


‘एकरोपनी जग्गामा ८/१० मुरी घैया फलाउँथे,’ कुमालले भने, ‘अहिले सबै हाइब्रिडले खायो ।’ स्थानीयवासीले दसंै चाडको समयमा यही धानको चिउरा र चामल खाने गरेका थिए । १८ वर्षदेखि यी टारहरूमा घैया धानको सट्टा हाइब्रिड धानले किसानका टार र बारी भरिएको छ । कुमाललाई उक्त धान हराएकोमा चिन्ता लगेको छ ।


‘हाइब्रिड धानको बीउ सधैं किन्नुपर्ने,’ उनले भने, ‘घैया धान खाएर बचेको त्यसैको बीउ राखिन्थ्यो ।’ छिमेकीले नयाँ धान लगाएपछि आफूले त्यही रोप्नुपर्ने बाध्यता रहेको किसानहरू बताउँछन् । साँधमा नयाँ धानको लगाउनसाथ सँगैको धानलाई असर पर्ने किसानको बुझाइ छ । ‘पहिला घैया लगाइयो,’ स्थानीय कृष्णहरि गजुरेलले भने, ‘अहिले हाम्रा टारहरूमा हाइब्रिड धान लगाउन बाध्य भइयो ।’


धेरै फल्ने अनि छिटो पाक्ने भएकाले किसानहरू यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘अहिले घैया धान देखिएको छैन,’ ज्ञान केन्द्रका प्रमुख डा. कमलराज गैरेले भने, ‘रैथाने जातका धानले कम फल दिएपछि किसानहरूले लगाउन छाडे ।’

प्रकाशित : कार्तिक ६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?