कोत डबलीमा नवदुर्गा नाच

प्रशान्त माली

ललितपुर — दसैंको एकदशीको अवसरमा सुनाकोठीस्थित कोत घरको मूल डबलीमा ठेचोको नवदुर्गा नाच देखाइएको छ । नाच देखाउन साँझ नवदुर्गा भवानी देवी गुठीका गुठियारहरू खड्गी खलकका महिलाबाट नङ काट्न लगाई अल: (एक प्रकारको रातो रङ) राखी नुहाइधुहाइ गरी चोखो भई मन्दिरमा जागराम बसेका थिए  ।

कोत डबलीमा नवदुर्गा नाच

नाचका लागि पाटन दरबार क्षेत्रबाट बिहान गुठियारहरू मु: द्य: (मुख्य देवता), मकुद, गरगहनालगायत सम्पूर्ण सरसामान खर्पनमा बोकेर परम्परागत रुट भएर सुनाकोठी पुर्‍याएका थिए ।

सुनाकोठीस्थित द्य: फल्चा (क्वपुखुसी फल्चा) मा मुख्य देवता र मुकुट राखी बाँकी सरसामान सत्तलमा राखिएको थियो । नवदुर्गा भवानी देवी गुठीका गुठियार अघिपछि हातमा मुस्या: (नय् कापतं हिना:चिकनं र्‍याकाच्याकेगु छता मतविशेष) बोकी बीचमा देवगण, बाजा बजाउनेहरू बसीगाउँ परिक्रमा गरेका थिए । गाउँ परिक्रमा (देशाच्यगु) हुँदा पूजाआजा गर्नेको घुइँचो लागेको थियो ।

डबलीमा दम्ब:खिंथाले (बाजा बजाउने) सामूहिक नृत्य गर्ने बाजाको ताल बजाउँछ । जसलाई नेवारीमा ‘प्यपु द्य:ल्हय:गु’ भनिन्छ । भैरव, काली र बाराही नृत्य गरिन्छ । कुमारी देवीबाट सुनाकोठीका नाइकेहरूलाई प्रसाद ग्रहण गराइन्छ । अन्तमा भाले बली चढाई पा:ता: (एक प्रकारको खप्पड आकारको कचौरामा कालो जाड राखी पिउने) लिनुपर्ने मान्यता छ ।

सुनाकोठीवासीले आफ्नी छोरीका रूपमा मान्ने कुमारी देवीलाई विशेष पूजाआजा गरी मान्ने गर्दछ । साँझ सुनाकोठीबाट पुन: ठेचोस्थित मन्दिरमा पुग्ने गर्दछ । बेलुका ठेचोमा देशाच्यगु भनी ठेचो नगर परिक्रममा गर्ने गरिन्छ । अन्त्यमा ठेचो क्व (तल्लो) लाछी डबलीमा आई नृत्य गरिन्छ । एउटा बोका बली चढाई मन्दिरमा भित्र्याइन्छ । यसरी एक ठाउँबाट अर्को ठाउँमा जाँदा बाजागाजाले धुमधामका साथ पुर्‍याउने गरिन्छ ।

बन्द भइसकेको नाच पुन: सञ्चालन गर्न मेयर चिरीबाबु महर्जनले प्रतिबद्धता जनाएका छन् ।

२४ वर्षदेखि बन्द रहेको पाटन दरबार क्षेत्रमा विजय दशमीमा देखाइने मू छेँ आँगन घरको खड्ग जात्रा, ठेचोको नवदुर्गा नाच र पाटन नकबहिलको अष्टमातृका नाचको गमन पर्व यस वर्ष सञ्चालन हुन सकेन । अर्को वर्ष सञ्चालन गर्न भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल भाषामा गमन पर्व भन्नाले दरबारस्थित दसैं घरमा राखिएको जमरा जता ढल्कियो त्यतै खड्ग जात्रा, नवदुर्गा नाच र अष्टमातृका नाच एकैपल्ट नगर परिक्रमा गर्ने बुझिन्छ । लोप भइसकेको नाच सञ्चालन गर्न सरकारको मुखमात्र तोकेर हँुदैन भन्दै उनले गुठीयारले पनि सक्दो योगदान दिनुपर्नेमा जोड दिए ।

यस्तै, गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले समयानुकूल परिमार्जन गर्न सुझाएका छन् । भने, ‘आगामी वर्ष नाच सञ्चालन गर्न जिन्सी र नगदमा समयनुकूल परिमार्जन गर्न तयार छु । गुठीयारहरूले समयमा प्रस्ताव पेस गर्नुपर्‍यो । गुठी संस्थानबाट सक्दो सहयोग गर्नेछु ।’

मू: छेँ आँगन घर गुठी व्यवस्थापक साम्राज्य देव श्रेष्ठले महानगरपालिकाले पहल गर्नुपर्ने बताएका छन् । मू: छेँ आग द्य: पूजाविधि पर्व निरन्तर रूपमा सञ्चालन गर्न भूकम्पले ध्वस्त बनेको लिच्छविकालीन मन्दिर पुनर्निर्माणमा महानगरपालिकाले पहल गर्नुपर्छ भनेका छ । अहिले उक्त आँगन घर गुठी संस्थानले भाडामा लगाएको छ । गुठीयार बस्ने घरमा क्याफे सञ्चालन भइरहेको छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?