१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बढी भाडा लिनेलाई कारबाही

टीकाप्रसाद भट्ट

रामेछाप — सर्वसाधारणलाई सवारी साधनको अभाव भएको मौका छोपी भाडा दर भन्दा बढी असुल गर्ने यातायात व्यवसायी धमाधम कारबाहीमा परेका छन् । 

बढी भाडा लिनेलाई कारबाही

रामेछापको मन्थलीदेखि काठमाडौंसम्म नियमित भाडा दर ५ सय तोकिएको छ । दसैंमा आउने र फर्कनेलाई टिकट समेत नदिएर यातायात व्यवसायीले प्रतियात्रु १ हजार लिने गरेका छन् । यातायातका साधन अभाव भएको र तोकिएको भाडा दरमा यात्रा गर्न सहज नभएपछि यात्रुहरुले बाध्य भएर बढी भाडा तिर्ने गरेका छन् ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक कुशहरी भण्डारीका अनुसार सोमबार १ सय ३२ वटा सवारी साधन कारबाहीमा परेका थिए । कारबाहीबाट एकै दिन १ लाख ५ हजार ५ सय राजश्व संकलन भएको उनले जानकारी दिए । यसैगरी मंगलबार मध्यान्हसम्म ६१ वटा सवारी कारबाहीमा परेका छन् ।


तोकिएको भन्दा बढी भाडा लिने,क्षमता भन्दा बढी यात्रु हाल्ने,रातो नम्बर प्लेट भएका सवारीले भाडा असुलेर यात्रु ओसार्ने,छतमा यात्रु राख्ने कार्य गरेका सवारी साधनलाई नियमन गरी कारबाही गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सर्वसाधारणलाई ठग्ने र असुरक्षित तवरले यात्रु ओसारपसार गर्ने यातायातका साधनलाई कडाईका साथ चेकजाँच गर्न ट्राफिकलाई निर्देशन दिएका छन् ।


‘हाम्रो अभियान सवारी साधनलाई कारबाही गर्नेभन्दा पनि सुरक्षित यात्रा गराउनु हो’भण्डारीले भने । उनले नियमानुसार सवारी सञ्चालन गरी यात्रुलाइ सुरक्षित गन्तव्यमा पुर्‍याउनका लागि जिल्ला ट्राफिकले नियमित अनुगमन,नियमन गरिरहेको बताए ।

प्रकाशित : कार्तिक ६, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?