३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘महानगरको मापदण्ड कार्यान्वयन नगर’

प्राचीन वास्तुकला नामेट पार्न लागियो –सहरी व्यवस्था विज्ञ
दामोदर न्यौपाने

काठमाडौँ — सम्पदा मासिने गरी काठमाडौं महानगरपालिकाले बनाएको मापदण्ड कार्यान्वयन नगर्न संस्कृति, पर्यटन तथा नागरकि उड्डयन मन्त्रालयले निर्देशन दिएको छ  । महानगरले प्राचीन स्मारक संरक्षण ऐन २०१३ सँग बाझिने गरी नयाँ भवन मापण्ड बनाएको थियो  ।

‘महानगरको मापदण्ड कार्यान्वयन नगर’

नगरपरिषदबाट पारित मापदण्ड स्थानीय राजपत्रमा समेत प्रकाशित गरेको थियो । यो मापदण्ड लागू भयो भने प्राचीन बस्तीका सम्पदा नष्ट हुने भन्दै विज्ञले आपत्ति जनाउँदै आएका थिए ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट महानगरलाई सम्पदा क्षेत्रमा महानगरको मापदण्ड कार्यान्वयन नगराउन आदेश दिएको हो । मापदण्ड कार्यान्वयन नगराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको निर्णय पुरातत्त्व विभागले सम्बन्धित निकायमा पठाएको छ । ‘काठमाडौं महानगरपालिका, नगरकार्यपालिका कार्यालयमाबाट प्रकाशित स्थानीय राजपत्र भाग १ मा उल्लेख भएको संरक्षित क्षेत्र, उपसंरक्षित क्षेत्र तथा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को प्रावधानबमोजिम घोषित स्मारक क्षेत्रभित्र पनि रहेको बुझिन आयो । स्थानीय राजपत्रमा उल्लेख भएको सो क्षेत्रमा रहेका निजी घरहरू संरक्षण एवम् पुनर्निर्माणसम्बन्धी मापदण्डसँग बाझिन गएको विषयमा पुरातत्त्व विभागको ध्यानाकर्षण भइ सोउपर कारबाही हुँदा संरक्षित स्मारक क्षेत्रभित्र रहेका घर निर्माण वा पुनर्निर्माण गर्दा प्राचीन स्मारक ऐनअनुसार नै गर्नु भनी नेपाल सरकारबाट निर्णय भएको छ,’ पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईले लेखेको पत्रमा छ, ‘सोही निर्णयबमोजिम काम गर्नु गराउनु ।’


विभागले स्मारक क्षेत्रमा पर्ने सबै वडा कार्यालयलाई समेत महानगरले स्थानीय राजपत्रमा प्रकाशित गरेको मापदण्ड कार्यान्वयन नगर्नु भनेर पत्राचार गरेको छ । स्मारक क्षेत्रमा पर्ने महानगरका ६, ८, १५, १९, २०, २३ र २४ वडालाई पत्राचार गरेको छ । त्यसैगरी पशुपति विकास क्षेत्र कोष, गुठी संस्थान, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौं, हनुमानढोका राजदरबार हेरचाह अड्डालाई पनि पत्राचार गरेको छ ।


ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र पुरातात्त्विक क्षेत्रमा बन्ने भवनको उचाइ, सेटव्याक, छानो, अग्रभाग लगायतमा अहिले भएका व्यवस्थालाई अझ मजबुत बनाउने भन्दै महानगर परिषदले नयाँ भवन मापदण्ड पारित गरेको थियो । उक्त मापदण्ड महानगरले स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको छ । सार्वजनिक भएको मापदण्डको ९ नम्बर बुँदामा पुरानो सहरी क्षेत्रसम्बन्धी व्यवस्था छ । यो बुँदामा विश्वसम्पदा क्षेत्रमा एक तलाको बेसमेन्ट राख्न पाउने व्यवस्था गरेको छ । ‘संरक्षित उपक्षेत्रमा व्यक्तिगत पार्किङ, निर्माण सामग्री एवम् मेसिनगरी सामग्री जस्ता विभिन्न खाले सामग्रीको भण्डारणका लागि एवम् भूकम्पीय दृष्टिकोणले समेत भवनको मजबुत जग निर्माणका लागि वरिपरिका घर, स्मारक, धाराको मुहान, आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधि समितिको सिफारिसमा एक तह माथिको निर्णयबमोजिम एक तलाको मात्रै बेसमेन्ट वा सेमिबेसमेन्ट बनाउन दिइनेछ,’ ९ नम्बर बुँदाको खण्ड क मा उल्लेख छ, ‘अन्य व्यवस्था भवन निर्माण मापदण्ड २०६४ अनुसार हुने छ ।’


मापदण्डमा भएको यो व्यवस्था प्राचीन स्मारक ऐन २०१३ र हनुमानढोका दरबार संरक्षित क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड २०६४ प्रतिकूल छ । यो मापदण्डमा प्राचीन स्मारक क्षेत्रमा कुनै पनि बेसमेन्ट, सेमिबेसमेन्ट बनाउन नपाइने उल्लेख छ । ‘हनुमानढोका दरबार क्षेत्रमा केही घर मापदण्ड विपरीत बनेका छन्,’ आर्किटेक्ट इन्जिनियरको संस्था सोनाका पूर्वमहासचिव ज्ञानेन्द्र देवकोटा भन्छन्, ‘एउटा घर मापदण्ड विपरीत बनिराखेको छ । अरू घर पहिल्यै बनेका देखिन्छन् । यो क्षेत्रमा ६ वटा घर मापदण्ड विपरीत छन् । त्यही घरलाई सजिलो बनाएर कर लिने उद्देश्यले यो व्यवस्था गरिएको देखिन्छ । यो व्यवस्था प्राचीन स्मारक ऐन र स्मारक क्षेत्रमा बनेका मापदण्ड प्रतिकूल छन् ।’


स्मारक क्षेत्रमा व्यवस्था भएको ‘फ्लो एरिया रेशियो (फार)’ व्यवस्था समेत हटाएको छ । स्मारक मापदण्ड अनुसार घर बनाउँदा खाली जग्गाको हकमा उपलब्ध जग्गाको तीन गुणासम्म र साविक घरको हकमा त्यस्तो घर भत्काएर बनाउँदा घरले चर्चेको जग्गाको साढे तीन गुणासम्म स्वीकृति दिन सकिने उल्लेख थियो । यो ‘फार’ अनुसार बनाउँदा ३५ फिटभन्दा माथि बनाउन नपाइने व्यवस्था थियो । ‘यो व्यवस्था प्राचीन बस्तीमा अधिकतम ४ तलासम्म बनाउन सकिन्थ्यो,’ देवकोटा भन्छन्, ‘महानगरको मापदण्ड अनुसार ८ तलासम्म भवन बनाउन सकिने छ ।’


स्मारक क्षेत्रमा व्यवस्था भएको ३५ फिटको व्यवस्थालाई बढाएर ६५ फिटसम्म पुर्‍याइएको छ । उचाइ ८ तलासम्म पुर्‍याउन पाइने व्यवस्था गरिएको छ । ‘यो मापदण्ड लागू भयो भने सम्पदा बस्ती सबै मासिन्छ,’ सहरी विकास तथा वास्तुकलाविद् सूर्यभक्त सांगाछे भन्छन्, ‘पुरानो सहरलाई सम्पदा क्षेत्र मान्ने कि नमान्ने ? यहाँ पर्यटक नयाँ बस्ती होइन, प्राचीन बस्ती हेर्न आउँछन् । यहाँ टोलटोलमा मन्दिर छन् । ठूला भवन बने भने ती मन्दिरलाई डोमिनेट गर्छन् । मन्दिरलाई डोमिनेट नहोस भनेर प्राचीन बस्ती दुईदेखि तीन तलासम्मका छन् । उपत्यका यसै पनि भूकम्पीय जोखिम क्षेत्र हो । अग्ला घर बनेपछि भुइँचालोले ती घर भत्किए भने मन्दिरमा पनि क्षति पुग्छन् ।’


प्राचीन सहरको मौलिकता भनेकै पुरानो वास्तुकला भएकाले यसलाई मास्न नहुने साँगाछे बताउँछन् । ‘साढे दुई तले घरलाई ध्यान दिएर बाटो बनेका छन् । त्यहीअनुसार पानीको व्यवस्था भएका छन् । त्यहीअनुसार ढल बनेका छन्,’ उनी भन्छन्, ‘कति घरमा अरूको घरको मुनिबाट भित्र जानुपर्छ । यस्तो ठाउँमा अग्लो घर बनाएर के गर्नु ? पानीको व्यवस्था गर्न सकिँदैन । ढलको व्यवस्था गर्न सकिँदैन ।

प्रकाशित : कार्तिक ७, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?