नगरको प्रवेश सडक खाल्डैखाल्डा

‘नगरपालिकाका जिम्मेवार व्यक्तिले वास्ता नगरेका कारण लाजमर्नु भएको छ’
टीकाप्रसाद भट्ट

रामेछाप — नगर सहरको चिनारी हो, तर रामेछापको मन्थली नगरपालिकालाई भने नगर पस्नै बेलाको सडकले गिज्याइरहेको छ  । मन्थली प्रवेश गर्न लाग्दा हिलो र धुलो मात्र हैन, ठुल्ठूला खाडल परेको सडकका कारण नगरपालिका प्रवेश गर्नेले नगरको विकासबारे नराम्रो धारणा वनाउने गरेका छन्  ।

नगरको प्रवेश सडक खाल्डैखाल्डा

रणजोर खोलादेखि मदन भण्डारीचौकसम्मको सडक बिग्रेको पूरा चार महिना भयो । पुष्पलाल मार्गमा पर्ने उक्त खण्डमा सडक चौडा पार्ने र ढल हाल्ने कार्यका लागि सडक डिभिजन र बजार व्यवस्थापन समितिले सडक खने । स्थानीयले खनेको भागमा तत्काल सडक सुधार गर्नका लागि माग गरे पनि हालसम्म सडक भताभुंग नै छ ।

सडक डिभिजन कार्यालय खुर्कोटका इन्जिनियर मनीषमान शाक्यले उक्त खण्डमा दुवैतिर नाला राखी सडक चौडा पार्नका लागि आवश्यक बजेट निकासाका लागि माथिल्लो निकायमा लेखिपठाएको तर अझै रकम नआएको सडक सुधार गर्न नसकेको बताए । ‘अल्पकालीन रूपमा ग्राभेल हालेका पनि हौं,’ शाक्यले भने, ‘सिँचाइका लागि सडक कटाएर कुलो लगिएको कारण बारम्बार बिग्रने गरेको हो ।’

नगरपालिकाले सडकको सुधारका लागि पहल नगरेकोमा स्थानीय रुष्ट छन् । भत्काउने बेलामा नगर प्रमुखको अगुवाइमा भएको उक्त कार्य सुधारका लागि प्रमुखले अग्रसरता नदेखाएको गुनासो स्थानीयको छ । नगर प्रमुख रमेशकुमार बस्नेतले उक्त सडक विभागले मर्मत सम्भार र निर्माण गर्ने जिम्मेवारी हो, नगरपालिकाको कार्यक्षेत्रभित्र पर्दैन ।

‘थोरै काम गर्दा सुरक्षित र सहज यात्रा गराउन सकिन्छ,’ वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष नारायणबहादुर बोगटी भन्छन्, ‘नगरपालिकाका जिम्मेवार व्यक्तिले वास्ता नगरेका कारण लाजमर्नु भएको छ ।’ उनले नगरपालिकाको द्वारमै सडक बिग्रेर हालत हुँदा सडक विभागलाई देखाएर नगरपालिका बस्नु नहुने बताए । सुकाजोरको ग्राभेल थोरै ल्याएर हाल्यो भने सडक सहज हुन्छ उनले भने । सडक जर्जर भएका कारण दुर्घटनाको भय बढेको छ ।

बिग्रेको सडकमा सिँचाइका लागि किसानले ल्याउने पानी बग्ने गरेको छ । कुलाको पानी सडकमा बग्दा यसअघि पटक–पटक कालोपत्रे उप्किने गरेको थियो । कालोपत्रे नभए पनि ग्राभेलसम्म हालेर स्थानीयलाई पानी छम्कने जिम्मा दियो भने यति धेरै कष्ट सहनु पर्दैनथ्यो ।

प्रकाशित : कार्तिक ८, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?