१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सडक धुलाम्यै

‘सीडीओलाई संयुक्त निवेदन बुझाएका छांै’
कृष्ण थापा

नुवाकोट — सदरमुकामको सडकमा धुलो उठेर बस्न नसक्ने भएपछि स्थानीयवासी प्रशासन गुहार्न पुगेका छन्  । विदुरदेखि साततल्ले दरबारसम्मको ६ किमि सडक खण्ड ठेकेदारले समयमा निर्माण नगर्दा सदरमुकामबासी र यात्रुले धुलो खानुपरेको हो  ।

सडक धुलाम्यै

‘बुङबुङती धुलो खाएर सहेर बस्दासमेत सुनुवाइ भएन,’ विनपा ४ का सरोजजंग थापाले भने, ‘सीडीओलाई संयुक्त निवेदन बुझाएका छौं ।’

बस, मालबाहक गाडी गुडेपछि स्थानीयवासी धुलोबाट बच्न मास्क लगाएर बस्ने गरेका छन् । ‘धुलोले बस्नै सकिएको छैन,’ स्थानीय क्षेत्रकुमार घलेले भने, ‘धुलोका कारण बटुवाले समेत सास्ती खेप्नुपरेको छ । ठेकेदारले पानीसमेत छर्केको भए पनि त राहत मिल्थ्यो । त्यो पनि गरेन ।’ धुलोले जिल्ला प्रशासन, प्रहरी, मालपोत, नापी, अदालत, बाल कल्याण समिति लगायतका कार्यालयमा जाने कर्मचारीले समेत सास्ती व्यहोर्नुपरेको छ ।

स्थानीयवासी मात्र नभई पुरानो सदरमुकाम नुवाकोट डाँडामा रहेको पुरातात्त्विक साततल्ले दरबारलगायत अवलोकन भ्रमण गर्न आउने पर्यटकसमेत धुलो खान बाध्य छन् । उक्त सडकमा साना(ठूला गरी दैनिक ५ सय सवारी गुड्छन् । यही सडक विदुरचोकदेखि पुरानो सदरमुकाम नुवाकोट साततल्ले दरबार, नुवाकोट भैरवी, कालभैरव देवस्थल, फलाँटे, चोगते, लच्याङ, उर्लेनी र रसुवाको सरमथलीसम्म जाने मूल सडक हो ।

उक्त सडक गत वर्ष फराकिलो र पिच गर्न ठेक्का सम्झौता गरिए पनि द्रुतस्तरमा काम हुन सकेको छैन । सडकस्तरोन्नति गर्ने जिम्मा सपना निर्माण सेवा प्रालि हेटांैडा २, मकवानपुरले २०७२ असोज २८ गते ८ करोड ८० लाख ३९ हजारमा ठेक्का सम्झौता गरेको थियो । ०७४ असोजमा सकिने पर्ने सडक अहिलेसम्म पूरा भएको छैन ।

यसअघि साउनमा ल्वाङपानीमा सडक पर्खाल लडेको थियो । सडक डिभिजन कार्यालय रसुवा(नुवाकोटले उक्त सडक ठेकेदारको जिम्मा दिइसकेकाले आफ्नो जिम्मामा नपर्ने जनाएको छ । ‘जिल्लाका ठूला निकायका कर्मचारी हिँड्ने सडक धुलो उडदासमेत कोही नबोल्दा अचम्म लगेको छ,’ स्थानीयको गुनासो छ ।

२०२८ सालमा डाँडामा रहेको ऐतिहासिक नुवाकोटबाट विदुर सदरमुकाम सारिएको थियो । ०२९ सालमा पुरानो सदरमुकाम यही नुवाकोट जान कच्ची रूपमा सडक निर्माण गरिएको थियो । डिभिजन सडक कार्यालयले ०५३ सालमा ओटासिल प्रविधिबाट नुवाकोटको साततल्ले दरबार जानका लागि पिच गरेको थियो ।

प्रकाशित : कार्तिक ९, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?