कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सार्वजनिक जग्गामा घरटहरा

गर्जाङ्गका ठूला फाँटमा घर हुनेहरू आफ्नो जग्गा छोडेर सार्वजनिक जग्गा अतिक्रमण गर्न पसेका हुन् ।
सार्वजनिक जग्गामा ओइरिएपछि पहिलेको बसोबास क्षेत्र सुनसान बन्न थालेको छ ।
सार्वजनिक जग्गामा घर बनाएर बस्नका लागि कुनै निकायले थुनछेक गरेको छैन ।
टीकाप्रसाद भट्ट

रामेछाप — चुचुरेको गर्जाङ्गमा रहेको फराकिलो समथर फाँट स्थानीयले अतिक्रमण गरी घरटहरा बनाएका छन्।सार्वजनिक जग्गामा मनलागी घर टहरा बनाउने क्रम बढेको छ  ।

सार्वजनिक जग्गामा घरटहरा

गर्जाङ्गमा घर बनाउनेहरूका अन्यत्र मनग्ये जग्गा छ । सुकुम्बासी कोही छैनन् । सबैका आफ्नो या परिवारका सदस्यको नाममा सुरक्षित स्थानमा जग्गा छ । गर्जाङ्गका ठूला फाँटमा घर हुनेहरू आफ्नो जग्गा छोडेर सार्वजनिक जग्गा अतिक्रमण गर्न पसेका हुन् ।

एकपछि अर्को गर्दै साविकको स्थानमा घरपरिवार घटिरहेका छन् । सार्वजनिक जग्गामा बढिरहेका छन् । सबै सार्वजनिक जग्गामा ओइरिएपछि पहिलेको बसोबास क्षेत्र सुनसान बन्न थालेको छ । सार्वजनिक जमिनमा बजार केन्द्र बनेको र चहलपहल बढदो छ ।

जग्गा नहुने सुकुम्बासीले समेत सार्वजनिक जग्गामा घर टहरा हालेर बस्दा सरकारले घर भत्काएर लखेटेका थुपै्र उदाहरण सुनेका चुचुरेको गर्जाङ्गबासी भने आफ्नो घडेरी भएको जग्गामा खतप गरेका छन् । भूकम्पपछि सार्वजनिक जग्गामा बसोबास बढेको हो । सार्वजनिक जग्गामा घर बनाएर बस्नका लागि उनीहरूलाई कुनै निकायले थुनछेक गरेको छैन । खुल्ला ठूलो चौर ढाक्ने गरी जता मन लाग्यो त्यतै घर बनाउने निर्धक्क छन् । हालसम्म ७३ परिवारको उक्त सार्वजनिक जग्गामा घर टहरा हालेर बसोबास भइसकेको बजार व्यवस्थापन समितिका अध्यक्ष दिलु कार्कीले बताए ।

गर्जाङ्गमा अहिले बजार नै बसेको छ । यो बजार क्षेत्र द्वन्द्वकाल अर्थात् २०५७ सालसम्म जिरी पशु विकास फार्मले आफ्नो भनेर चर्चेको थियो । जग्गा दर्ताका लागि प्रक्रिया थाले पनि उक्त जग्गा फार्मको नाममा गइसकेको थिएन । युद्धका बेला माओवादीले फार्ममा रहेका गाई फुकाएर धपाउँदै गोठलगायतका संरचनामा आगो लगाएर ध्वस्त पारेपछि उक्त जग्गा स्थानीयले मिच्न थालेका हुन् ।

सुरुमा स्थानीय जट्टेश्वरी माविले प्रतिघडेरी १ सय रुपैयाँ लिएर केहीलाई जग्गा भाडामा दियो । व्यवस्थापन समितिले विद्यालयको आर्थिक स्रोत जुटाउनका लागि उक्त निर्णय गरेको हो । तर पछिल्लो अवधि विद्यालयलाई समेत शुल्क तिरिएको छैन । ‘थोरै हुँदा शुल्क थियो अहिले धेरै घर भए शुल्क तिरेको छैन,’ कार्कीले भने ।

सरकारले माओवादीबाट ध्वस्त भएको पशु विकास फार्म पुन: सञ्चालनमा ल्याउनका लागि पूर्वाधार बनाउन थालेको छ । केही संख्यामा बाच्छाबाच्छीहरू उक्त फर्ममा पुर्‍याएको पनि छ । तर चरण क्षेत्र साँघुरिएको छ ।

सामुदायिक विद्यालय, चाकेखोला जलविद्युत् आयोजनाका संरचना, निर्माणाधीन माथिल्लो खिम्ती आयोजनालगायतले फार्मले साविकमा चर्चेको जग्गा प्रयोग गर्दै आएका छन् । सरकारले केही जग्गा जलविद्युत् आयोजनालाई प्रयोग गर्न दिएको छ । अन्यत्रको जग्गा सरकारले दिई उक्त स्थानको जग्गा आयोजनाहरूले प्रयोग गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा सार्वजनिक जग्गाको प्रयोग र व्यवस्थापनको जिम्मा स्थानीय सरकारले गर्ने उल्लेख छ । गर्जाङ्गको जग्गा कब्जाको बारेमा गोकुलगंगा गाउँपालिकाले भने हालसम्म कुनै कदम चालेको छैन । गाउँपालिका प्रमुख खड्गबहादुर सुनुवार भन्छन्, ‘सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणलाई व्यवस्थित बनाउनका लागि चाँडै नै गाउँपालिकाले निर्देशिका बनाएर काम गर्दै छ ।’

उनले गर्जाङ्ग मात्र नभई ठोसे, शिवालय, रस्नालु, बेतालीलगायत क्षेत्रमा पनि सार्वजनिक जग्गा अतिक्रमण भएकाले सबैको निर्णय एकै साथ हुने गरी नियमन गर्ने बताए । गाउँपालिकाले अमिन नियुक्त गरी सार्वजनिक जग्गाको यकिन गर्ने र त्यस्तो जग्गाभित्र बसोबास गर्नेलाई व्यवस्थित गरिने योजना रहेको उनले सुनाए ।

प्रकाशित : कार्तिक १३, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?