२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सीमा जोड्ने सडक मर्मतसम्भार

तातोपानी, पिप्लाङ सडकको पुनर्निर्माण सकेर लिपिङ बजार क्षेत्रको सडक मर्मत
अनिश तिवारी

सिन्धुपाल्चोक — चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले सीमा जोड्ने जीर्ण सडकको मर्मतसंभारलाई तीव्रता दिएको छ । भूकम्प, भोटेकोसी बाढीदेखि पहिरोले क्षतिग्रस्त पारेको तातोपानी, पिप्लाङ सडकको पुनर्निर्माण सकेर सीआरसीसीले लिपिङ बजार क्षेत्रको सडक मर्मत थालेको हो  ।

सीमा जोड्ने सडक मर्मतसम्भार

‘अरूभन्दा लिपिङ क्षेत्र सडकको ५ खण्डमा तल्लो संरचना एकदमै जीर्ण छ, यसैले तलबाट टेको दिन ‘सर्पोट पिल्लर’ बनाइरहेका छौँ,’ लिपिङ बजारको ‘सर्पोट पिल्लर’ बनाउन खटिरहेका चिनियाँँ प्राविधिक ‘ल्यु’ ले भने । आउँदो ‘मे’ मा यहाँको सडक बनाइसक्ने लक्ष्य राखिएको उनले सुनाए ।

‘त्यति बेलासम्म जीर्ण भौतिक संरचना हटाइसक्ने छाँै,’ सीआरसीसीका मिस्टर हुको
नेतृत्वमा खटेका उनले भने । चीन सरकारबाट निर्देशन आएकाले सीआरसीसीले ८ महिनामा यहाँको सबै भौतिक स्वरुप व्यवस्थापनको सक्ने उनको कथन छ ।

चीनको सीमातर्फ सुरक्षार्थ बसेका प्रहरी, अधिकारीका अनुसार तातोपानी नाका खुलाउनमा चीन पूर्ण तयारीमा जुटेको छ । क्षतिग्रस्त चीनको मितेरी पुलदेखि खासासम्मको ७ किमि सडक पुनर्निर्माण सकिने तरखरमा छ । ‘नाका खोल्नको लागि भनेर ५ महिना नबित्दै यहाँको भौतिक संरचना तयार बनाइनेछ,’ खासादेखि मितेरी पुलसम्मको निरीक्षण अनुगमन गरिरहेका चिनियाँ प्रहरी कप्तान टसीले भने ।

तातोपानी क्षेत्रको लिपिङको सडक बनाइसकेपछि सवारी आउजाउ गरेर एक पटक नाका खोलाइनेछ । त्यसपछि मितेरी पुलको संरचनासँगै लिपिङ बजारको भग्नावेश बनेको संरचना भत्काउँदै लगिने चीनको योजना छ । ‘अहिलेको मितेरी पुल ८ मिटर छ, पछि १२ मिटरको फराकिलो बन्नेछ,’ उनले भने ।

सडकलाई विशेष रूपमा निर्माण गरिरहेको चीनले अन्य महत्त्वपूर्ण भौतिक संरचना बलियो बनाउने कार्ययोजना अघि सारेको उनले प्रस्टयाए । सुक्खा बन्दरगाहमा सिधै सामान ओराल्ने लक्ष्य राखेको चीनको केन्द्रीय सरकारले ३ महिनामै बन्दरगाह र ८ महिनामा सडकलाई सकाउन निर्देशन दिएको सीआरसीसीले जनाएको छ ।

खण्डहर बनिसकेको लिपिङ बजारको सडक मर्मत कार्य हुन थालेपछि यहाँका स्थानीयमा नाका खुल्ने आशा जागेको छ । ‘सडक, बन्दरगाह बनेपछि नाका खुल्ने भन्दै स्थानीय हौसिएका छन्,’ भोटेकोसी गाउँपालिका तातोपानीका वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले भने । यहाँको भौतिक स्वरूप एकाएक बन्न सुरु भएपछि तातोपानीमा अलग्गै रमझम हुन थालेको उनले बताए । ‘तातोपानीमा नुहाउन आउने दिनहुँ बढ्न थालेका छन्, तातोपानी बजारका होटल भरिन थालेका छन्,’ उनले भने । नाका खुल्ने सरगर्मी तातेपछि माहोल नै रमाइलो हुन पुगेको उनले जनाए ।

नाका खुल्ने आश्वासनमा स्थानीयले निर्माण, मर्मतको काममा सघाएको सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले बताए । ‘सडक सञ्जाल जोडिएपछि दैनिकी सहज बनेको छ, सीआरसीसीलाई मद्दत गर्न स्थानीय जागरुक देखिन्छन्,’ सुरक्षाकर्मीद्वारा मर्मत कार्यमा सहयोग पुर्‍याइरहेका डीएसपी गुरुङले भने । चीनतर्फका उच्च अधिकारीले समय समयमा यहाँको वस्तुस्थिति टिपेर लैजाने गरेका छन् ।

‘नाका खोल्नको यता र उता क्षेत्रको भौतिक वस्तुस्थितिबारे बेलाबेलामा ‘रिपोर्टिङ’ भइरहने गरेको छ,’ उनले भने ।

प्रकाशित : कार्तिक १३, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?