कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यालयमै खुसी

अनिश तिवारी

सिन्धुपाल्चोक — शैक्षिक सामग्रीले सिँगारिएको कक्षा, भित्तामा टाँसिएका कलात्मक बालचित्र र छरपस्ट अक्षर कार्डसँगै सिकिरहेका कलिला बालबालिका  । बलेफी गाउँपालिकाको फुल्पिङकोटमा रहेको अर्चले आधारभूत विद्यालयको प्रारम्भिक बाल विकास केन्द्र कक्षा (ईसीसीडी) को दृश्य हो यो  ।

विद्यालयमै खुसी

बालविकास कक्षामा चार वर्षका मंगले तामाङ शिक्षकसँग आमाको काखमाझै लुटपुटिरहेका भेटिए । एकैछिनमा मंगलेकी आमा सुन्तली सोही कक्षामा देखा परिन् । तर, आफ्नी आमाको ख्याल नगरी उनी शिक्षिकासँगै पढ्नमा रमाइरहे । त्यहाँ पुग्ने जो कोहीले बालबालिकासँग पहिला नमस्कार गरेर परिचय खुलाउनुपर्छ ।

महिना दिनअघि शिक्षक देखेर डराउने बालबालिका दिनहुँजसो नयाँ अनुहारसँग परिचित बन्दै गएकाले कक्षा शिक्षकसँग आमाबुबाझै रमाएर अध्ययन गर्छन् । अर्चलेजस्तै जिल्लाभर झन्डै ३ सय ५२ सामुदायिक विद्यालयका ईसीसीडी कक्षागत बालबालिका उसैगरी रमाएर लेखपढ गरेको देख्न पाइन्छ । ती विद्यालयका १ सय ३० शिक्षकलाई बाल उत्प्रेरणा तालिम दिइएको छ ।

‘ईसीसीडी कक्षा टुकी संघ सुनकोसी र जिल्ला शिक्षा कार्यालयबाट पाइएको प्रारम्भिक उत्प्रेरणा तालिमले गर्दा थप प्रभावकारी भएको हो,’ अर्चले आविकी प्रधानाध्यापक लक्ष्मी कोइरालाले भनिन् । तालिमपछि उत्साहित रहेकी कोइरालाले ईसीसीडीको प्रभावले गर्दा विद्यालय सुधारिँदै गएको सुनाइन् ।


बालबालिका विकास तथा स्याहार तालिमले विद्यालयमा ठूलो परिर्वतन ल्याइदिएको उनको अनुभव छ । शिक्षाको प्रारम्भिक जग (ईसीसीडी) लाई प्रभावकारी बनाउन टुकी संघ सुनकोसीले १६ दिने आधारभूत र २१ दिने बाल्यावस्था स्याहारसम्बन्धी तालिम दिइरहेको छ । ‘८४ महिला स्वास्थ्य सेविकालाई प्रारम्भिक बाल्यावस्था स्याहार तथा विकास तालिम दिइरहेका छौ,’ टुकी संघको ईसीसीडी कार्यक्रम संयोजक सोमबहादुर लामाले भने । उनले जिल्ला शिक्षा कार्यालयको सहयोगमा निजी र सामुदायिक गरी १ सय ३० जना शिक्षकलाई उत्प्रेरणा कक्षा चलाएको सुनाए ।


टुकी संघले रुमाल, टिफिन बक्स, ब्रसजस्ता आवश्यक सामग्री एक विद्यालयलाई ४० हजार बराबरको उपलब्ध गराउँदै आएको छ । शैक्षिक वातावरण बनाउन तालिम र प्रारम्भिक उत्प्रेरणा कक्षा सञ्चालनले विद्यालयमा ठूलो भूमिका खेलेको शिक्षक सुनाउँछन् । बलेफी गाउँपालिकाको माखा, फुल्पिङकोट, फुल्पिङडाँडा, चौतारा साँगाचोकगढी नगरको स्याउले, ठूलोसिरुवारीलगायत साबिकका १५ गाविसमा यो कार्यक्रम सञ्चालित छ ।


टुकी संघ सुनकोसीले गर्भदेखि तीन वर्षका बालबालिकालाई स्याहार गर्नेबारेमा अभिभावक राखेर बैठक तथा अन्तरक्रिया गर्छन् । ‘साँच्चै पटकपटकको तालिमपछि बालप्रिय वातावरणबारे मैले बुझ्ने मौका पाएँ,’ सातकन्या आधारभूत विद्यालयकी बालशिक्षक सीता काफ्लेले भनिन्, ‘बालबालिकालाई माया दिएर सिकाउनु पर्दोरहेछ, सिक्दै छु ।’ तालिमपछि बालस्याहार र शिक्षाबारे चासो लिने अभिभावक बढदै गएकाले ईसीसीडी कक्षा झनै प्रभावकारी बनेको उनले जनाइन् ।

आमाबुबाजस्तै माया पाएपछि ईसीसीडी कक्षाले एकैसाथ फडको मारेको जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेले बताए । ‘हामीले जे सिकायौं, बालबालिकाले त्यही सिक्ने त हुन्,’ पाण्डेले भने, ‘विभिन्न तालिम प्रभावले ईसीसीडीकै प्रभावले पूरा विद्यालय सुधारिँदै गएको छ ।’ ईसीसीडीलाई बालमैत्री बनाउनका लागि निजीभन्दा सामुदायिक विद्यालय अगाडि बढदै गएको उनले प्रस्टयाए । ‘बोर्डिङको तुलनामा सामुदायिक ईसीसीडी कक्षा अग्रणी पाएका छौं,’ उनले भने ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?