१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सिन्धुमा छानिए पर्यटकीय गन्तव्य

संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न छनोट गरेको हो ।
अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्पपछिको पुनर्निर्माणको लहरसँगै जिल्लाको पर्यटकी गन्तव्य विस्तारै तंग्रिन लागेको छ  । सरकारले तोकेको मुलुकभरका सयमध्ये जिल्लाका तीन स्थानलाई घुमघामका लागि छनोट गरेको छ  ।

सिन्धुमा छानिए पर्यटकीय गन्तव्य

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न छनोट गरेको हो । ‘नेपाल भ्रमण वर्षमा २० लाख’ पर्यटक भित्र्याउने लक्ष्यअनुसार सरकारले ५० करोड छुट्याएको छ । जसअनुरूप सिन्धुपाल्चोकको पर्यटकीय गन्तव्यमा भोटेकोसी/सुनकोसी नदीमा र्‍याफ्टिङ र बन्जी जम्पलाई बनाएको छ । गुम्बैगुम्बाको सहर हेलम्बु, चर्चित पाँचपोखरी रहेको नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा राखेको छ ।

भोटेकोसी र सुनकोसीमा ‘एड्भेन्चर’ राजधानीबाट नजिकैको सुनकोसी र भोटेकोसी क्षेत्र साहसिक खेल
र्‍याफ्टिङ, बन्जी जम्पजस्ता एडभेन्चरका लागि चर्चित छ । दिनहुँ झन्डै सय आन्तरिक र बाहय पर्यटक यसैको आकर्षणको कारणले यहाँ आउने गरेका छन् ।

राजधानीबाट सहजै पुग्न सकिने सुकुटे आसपासमा पर्यटक बढेका कारण झन्डै आधा दर्जन होटल, रिसोर्ट थपिएका देखिन्छन् । ‘यहाँको कञ्चन सुनकोसीमा र्‍याफ्टिङको एडभेन्चरको मज्जा लिन भनेर पर्यटक आउने गर्छन्,’ ३० वर्षदेखि सुकुटे बीच रिसोर्ट चलाइरहेका महेन्द्रसिंह थापा भन्छन्, ‘विश्वमा रहेका ६ हजार नदीनालामा दस उत्कृष्ट नदी एडभेन्चरका लागि चुनिएका छन्, जसमा सातांै उत्कृष्टमा भोटेकोसी र सुनकोसीको एड्भेन्चर परेको छ ।’

२०५६ सालमा पहिलो पटक न्युजिल्यान्डका डेबिड र नेपाली विष्णुप्रसाद न्यौपानेबाट सञ्चालित बन्जी जम्प, क्यानोनिङ, रक क्लाइबिङ गराइरहेको छ । लिस्तीकोट र मार्मिङको बीचमा रहेको बन्जी जम्पबाट दुई घण्टाको यात्रा सकेपछि प्रसिद्ध धार्मिकस्थल लिस्तीमाई र लेकाली गाउँ लिस्तीकोट पुगिन्छ । ‘त्यहाँबाट सुन्दरतम हिमशृंखला नियाल्न सकिन्छ, पुराना गुम्बा, मन्दिर, ग्रामीण परिवेश हेर्न भनेर पर्यटक पुग्छन्,’ उनले भने ।

यस्तै, भूकम्पले ध्वस्त भए पनि पछिल्ले समय अस्थायी रूपमा सडक सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्र तातोपानी क्षेत्र क्रमश: उठ्दै छ । धार्मिक रूपमा परिचित तातोपानी धारामा नुहाउने आन्तरिक पर्यटकको बर्सेनि घुइँचो लाग्ने महत्त्वपूर्ण तीर्थस्थलको रूपमा हेरिन्छ । तातोपानीमा नुहाए छालाको रोग निको हुने विश्वास पनि छ । सीम नजिकैको दुगुनाको ऐतिहासिक स्थल दुगुनागढीसम्म सडक पुर्‍याइएको छ । नेपाल तिब्बत युद्धका बेला सन् १९१२ मा बनाइएको गढी भूकम्पले ध्वस्त बनाएको थियो ।

बन्जी जम्प गन्तव्य स्थल बनेपछि नजिकै रहेको गढी सरकारी पहलमा यसको मर्मत हुने आशा स्थानीयले गरेका छन् । दुगुनागढी हुँदै ४२ सय मिटर उचाइमा रहेको भैरव कुण्डसम्म जाने पर्यटकीय पदमार्ग बनाइँदै छ । दुई घण्टामा पुग्न सकिने दुगुनागढीमा पहिले होमस्टे सञ्चालन गरिएका दुगुनागढीमाथिका यार्मासिंह, खाम्गेक बिक टोल, भुमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलका एक सय ४५ घर भूकम्पपछि पल्लो सुरक्षित स्थानमा सरेका छन् ।

बाह्य पर्यटकलाई लक्षित गरी ३० रोपनी जग्गामा स्थापना गरिएको दुगुनागढीस्थित बज्र इको रिसोर्ट सञ्चालनको तयारीमा छ । तातोपानी र लिस्तीको रमणीय क्षेत्र भएकाले पर्यटकले राम्रो गन्तव्यको रूपमा लिने गरेको उनको भनाइ छ । हेलम्बु हुँदै पाँचपोखरी अरनिको राजमार्गको जिरोकिलो हुँदै मेलम्ची बजारबाट तिम्बुको उकालो लागेलगत्तै हेलम्बु गाउँपालिका सुरु हुन्छ ।

वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीदेखि विभिन्न धार्मिकस्थल अवलोकन गर्ने गर्थे । भूकम्पपछि अहिले पूर्वाधार र धार्मिक मन्दिरको निर्माण भइरहँदा दैनिक ४० पर्यटक आउने गरेका छन् । ‘पर्यटकीय पदमार्गको लागि भनेर दिनहुँ १५ विदेशी आउँछन्, जसले माथिल्लो क्षेत्र घुम्न लक्ष्य राखेका हुन्छन्,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने ।

ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला, आमायांग्री घुम्न अत्यधिक आन्तरिक पर्यटक आउने गरेको उनले सुनाए । तिब्बती महायोगी मिलारेपा र अति प्राचीन गुम्बामा हुने महत्त्वपूर्ण पूजामा आउने पर्यटक प्रशस्त छन् यो राजधानी नजिकैको पुरानो ट्रेकिङ रुट हो । किउको शेर्माथान् , मेलम्ची घ्याङस्थित पर्यटकका लागि लक्षित गरेर बनाइएको होटल, रिसोर्ट पहिलेकै सुविधासम्पन्न अवस्थामा पुर्‍याउने कार्य भइरहेको छ । खासगरी हिमाली दृश्यावलोकन, शेर्पा संस्कृति र जैविक विविधता यहाँको विशेषता हो ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?