मन्त्री जमरकट्टेल भन्छन्, ‘डाँडा भत्काएर विकास हुँदैन’

कृष्ण थापा

नुवाकोट — आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरट्टेलले बजेट छरेर आर्थिक समृद्धि नहुने बताएका छन् । विदुरमा आइतबार आयोजित प्रदेशको आवधिक योजना तर्जुमासम्बन्धी कार्यक्रममा मन्त्री जमरकट्टेलले आर्थिक समृद्धिको आधार निर्माण गर्न ठोस काम गर्नुपर्ने बताए ।

मन्त्री जमरकट्टेल भन्छन्, ‘डाँडा भत्काएर विकास हुँदैन’

मन्त्री जमरकट्टेलले शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताबाहेकमा कनिका छरेजस्तो बजेट खर्च नगर्न स्थानीय तहलाई निर्देशनसमेत दिए । उनले भने, 'बजेट छर्नु भनेको भ्रष्टाचार गर्नु हो, बजेट छरेर विकास हुँदैन ।'


स्थानीय सरकारले गाउँमा १२ महिना चल्ने सडक बाटो बनोस् भन्दै घरघरमा बाटो लगेर मात्र विकास नहुने मन्त्री जमरकट्टेलको भनाइ थियो । उनले भने, ‘डाँडा भत्काएर विकास हुँदैन ।’ उनले स्थानीय तहका पदाधिकारीले आफू निर्वाचित भएपछि डोजर किनेर चलाएको गुनासो प्रदेश सरकारमा आएकाले जनताको आलोचना खेप्ने कार्य नगर्न पनि आग्रह गरे ।


ढुंगा, गिटी र बालुवा उत्खननको लागि वित्त आयोगको कानुन अध्ययन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, उद्योग सञ्चालन तथा व्यवस्थापन ऐन हेरेर ऐन बनाउने काममा प्रदेश सरकार लागेको उनले बताए । प्रदेश नीति तथा योजना आयोग हेटौंडाले गरेको कार्यक्रममा आवधिक योजनाको आधारपत्र डा.पीताम्बर शर्मा, डा.गोविन्द नेपाल, दिनेश भुजु, पूर्णचन्द्र भट्टराई, डा. महेन्द्र सुब्वा, शोभा लामा, जगन्नाथ अधिकारीले प्रस्तुत गरेका थिए । उनीहरुले धादिङ, नुवाकोट र रसुवाका प्रदेश सांसद, नगर र गाउँपालिका प्रमुख, उपप्रमुख प्रशासकीय अधिकृतलाई ५ समूहमा विभाजन गरी समूहगत सुझाव संकलन गरिएको छ ।


कार्यक्रममा नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा पनि सहभागी थिए ।

प्रकाशित : कार्तिक १८, २०७५ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?