२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कार्यकर्ता रिहाइको माग गर्दै नेविसंघद्वारा काभ्रेका विद्यालय बन्द

फेसबुक पाेष्ट सेयर गरेको भन्दै पत्रकार पनि पक्राउ
नगेन्द्र अधिकारी

काभ्रे — आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले आव्हान गरेको हड्तालका कारण काभ्रेका शैक्षिक संस्था बन्द भएका छन् ।

प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाई अध्यक्ष कृष्ण ढकालको रिहाइको माग गर्दै जिल्ला समितिले अाइतबार र साेमबार आव्हान गरेको हड्तालका कारण निजी तथा सार्वजनिक विद्यालय बन्द भएका हुन् ।

१६ वर्षीय ढकालले कुकुरको शरीरमा प्रधानमन्त्रीको फोटो जोडिएर बनाएको पोष्ट आफ्नो वालमा सेयर गरेका थिए । ‘गल्ती’ भएको स्वीकारेर आफ्नो पोष्ट डिलेट गरिसकेका उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

ढकालको रिहाई माग गर्दै नेविसंघ केन्द्रले पनि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उसले कार्तिक २५ गते जिल्ला प्रशासन कार्यालय काभ्रे घेराउ, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्काजाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । विना शर्त रिहा नगरिए सशक्त आन्दोलन गर्ने नेविसंघ काभ्रेका अध्यक्ष नृपेश वादेले जानकारी दिए ।

पत्रकार पनि पक्राउ

यता, कृष्ण ढकालले सेयर गरेको सोही फोटो ‘सामाजिक सञ्जाल’ मा पुन सेयर गरेको भन्दै पत्रकार कविराज ढकाल पनि पक्राउ परेका छन् । प्रहरी आफैंले सञ्चालन गरेको ग्रुप च्याटमा उक्त पोष्ट सेयर गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त बिषय पनि साइवर क्राइमको बिषय भएको भन्दै उनलाई पनि पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?