६५ विद्यालय निर्माण सम्झौता

१६० विद्यालय भवन निर्माण
६ सय ५० कक्षाकोठा तयार
प्रताप विष्ट

हेटौंडा — भूकम्प प्राधिकरणको जिल्ला आयोजना कार्यालय इकाई शिक्षाअन्तर्गत चालु आवमा ६५ वटा विद्यालय भवन निर्माण हुने भएका छन् । ३० करोड ६७ लाख ५० हजार रुपैयाँमा जिल्लामा ती भवन निर्माण हुन भएका हुन् ।

चालु आर्थिक वर्षमा भवन निर्माण गरिने विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग भवन निर्माणको सम्झौता गरिएको छ ।

चालु आवमा सम्पन्न गर्ने गरी ६५ वटा विद्यालयसँग सम्झौता भएको छ । जसमा २ कोठाका २५ वटा, ३ कोठाका १० वटा, ४ कोठाका ३० वटा विद्यालय भवन निर्माण गर्न सम्झौता भएको इन्जिनियर सञ्जीव पुडासैनीले बताए । पूर्ण रूपमा अनुदानमा निर्माण हुने २ कोठे भवनलाई २३ लाख ९० हजार रुपैयाँका दरले र ३ कोठे भवन बन्ने विद्यालयका लागि ३५ लाख ८० हजार रुपैयाँ प्राधिकरणले उपलब्ध गराउने भएको हो ।

यसैगरी ४ कोठे भवन निर्माण हुने विद्यालयलाई ७० लाख ४० हजार रुपैयाँ उपलब्ध गराउने नीति छ । नियमित कार्यक्रमअन्तर्गत भवन निर्माण कार्यक्रममा विद्यालयलााई पूरै अनुदान छ । अनुदान रकम ४ कोठे भवन निर्माण गर्ने विद्यालयलाई ५ किस्तामा र २/३ कोठे भवन निर्माण गर्ने विद्यालयलाई तीन किस्तामा रकम उपलब्ध गराउने इन्जिनियर पुडासैनीले बताए ।

भवन निर्माणको सुरुवातमा २५ प्रतिशतसम्म रकम उपलब्ध गराइनेछ । मकवानपुरमा पहिलो चरणमा ११० वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिएको थियो । पुनर्निर्माण प्राधिकरणको शिक्षा सम्बन्धी जिल्ला आयोजना कार्यान्वयन इकाईले आव ०७३/०७४ र ०७४/०७५ मा १ सय ३६ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । पुनर्निर्माण भएका भवनहरूको साढे ५ सय वटा कक्षा कोठा तयार भएका छन् ।

चालु आवमा शिक्षा सम्बन्धी जिल्ला कार्यान्वयन आयोजना इकाईले ६५ वटा विद्यालय भवन निर्माण गर्दै छ । मकवानपुरमा हालसम्म सरकारी, गैरसरकारी गरेर एक सय ६० वटा विद्यालय निर्माण भइसकेका छन् । निर्माण सम्पन्न भएका विद्यालयमा करिब साढे ६ सय वटा कक्षा कोठा तयार भएका छन् ।

जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत मकवानपुरमा ४१ विद्यालयको भवन निर्माण गरिरहेको छ । तीमध्ये सात विद्यालय भवनको निर्माण सम्पन्न गरिसकेको छ । प्लान नेपालले ५ वटा विद्यालय भवनको पुनर्निर्माण सुरु गरेको छ । त्यसमध्ये २ वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । तीनवटा निर्माणाधीन अवस्थामा छन् ।

एस्थर वेन्जामिन्स नामक गैरसरकारी संस्थाले भूकम्पले भत्केका १० वटा विद्यालयका भवन बनाउने जिम्मा लिएको थियो । त्यसमध्ये ७ वटा भवनको पुनर्निर्माण गरिसकेको छ । तीन वटा पनि निर्माणाधीन अवस्थामा छन् । भारतीय दूतावासले ३ वटा विद्यालय भवनको पुनर्निर्माण गर्ने जिम्मा लिएकोमा २ वटा स्कुलका भवन निर्माण सम्पन्न भएको छ । एउटाको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यसैगरी कोसानले २ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । एउटा स्कुलको भवन जिल्ला आयोजना कार्यान्वयन इकाईसँग अनुमति लिएर उनीहरूले विद्यालय भवनको पुनर्निर्माण गरेका हुन् ।

जिल्लाको सबैभन्दा जेठो महेन्द्र मावि, वाग्मती गापाको देवकी मावि, कैलाश गापाको तिलेश्वर प्रावि, हेटौंडा वसामाडीको गणेश प्रावि, कैलाश गापाको कमलादेवी माविलगायत ७ वटा स्कुलको भवन पुनर्निर्माण भइसकेका छन् । जाइकाले थप ३४ वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरेको छ ।

हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहा नगरपालिकामा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी, वाग्मती, मनहरी र राक्सिराङ गाउँपालिकाका गरी ३४ विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिसकेको छ ।

भूकम्पपछि मकवानपुरमा ४ सय ९ वटा विद्यालयको ७ सय ४७ वटा भवनमा रातो स्टिकर लगाइएको थियो । रातो स्टिकर लगाइएका सबै भवन पुनर्निर्माण गर्नुपर्छ । पुन: निरीक्षण गरी मर्मतबाट पनि केही भवन सञ्चालनमा आएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । ‘सुरुमा हामीले ७ सय ४७ वटा भवनको २ हजार ३ सय ९० वटा कोठामा रातो स्टिकर लगाएका हौं, पुन: निरीक्षण गर्दा केही भवनहरू मर्मतबाट पनि चल्ने अवस्था भएकाले मर्मत गरेर सञ्चालनमा ल्याइएको छ,’ इन्जिनियर पुडासैनीले भने ।

मकवानपुरमा करिब २ हजार १ सय ५ कक्षाकोठा भूकम्पवाट क्षतिग्रस्त भएका थिए । भूकम्पबाट मकवानपुरका ५४ वटा मात्र विद्यालय पूर्ण रूपमा सुरक्षित थिए ।

प्रकाशित : कार्तिक २६, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?