कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँझो जग्गामा अर्गेली

अर्गेली लगाएपछि बिना मेहनत वर्षौंसम्म बसीबसी पैसा आउने भएपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् ।
टीकाप्रसाद भट्ट

रामेछाप — आलु गहुँ र मकै खेती गर्न कामदारको अभाव भएपछि उत्तरी रामेछापको गुम्देलमा व्यावसायिक रूपमा अर्गेली खेती गर्न थालिएको छ । केही वर्षयता बाँझो भएको जग्गामा अर्गेली लगाउने ह्वात्तै बढेका छन् ।

गुम्देलमा अहिले खेतीयोग्य जमिन बाँझो छैन । सबैतिर अर्गेली हुर्किएको छ । पहिले वनमा कताकति पाइने अर्गेली अहिले खेतीयोग्य जमिनमा बाक्लै देखिन्छ । अर्गेली लगाएपछि बिना मेहनत वर्षौंसम्म बसीबसी पैसा आउने भएपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् । स्थानीय जाङ्बु शेर्पा भन्छन्– गोडमेल, मलजल गर्नु नपर्ने भएकाले अर्गेली लगाउन किसानहरू हौसिएका हुन् । ‘अरू बालीका लागि हरेक वर्ष कामदार, मल बीउ, गोरुका लागि पैसा तिर्नुपर्ने,’ शेर्पाले भने, अर्गेलीको डाँठ रोप्यो, त्यसैबाट झ्याङ बढ्छ, पैसा आउन थाल्छ ।


अर्गेली उच्च पहाडी क्षेत्रमा पाइने वनस्पति हो । यसको बोक्राबाट रेसा निकालेर गुणस्तरको कागज बनाउनका लागि प्रयोग गरिन्छ । जापानिज ऐन बनाउनका लागि अर्गेलीको प्रयोग हुने भनाइ छ । होचो भूभागमा अर्गेली हुँदैन ।


अर्गेली लगाएपछि ३ वर्षमा काट्न मिल्छ । एकपटक लगाएको अर्गेलीले वर्षौंसम्म उत्पादन दिन्छ । शेर्पाका अनुसार गुम्देलका खाली जग्गामा घटीमा ५ सयदेखि बढीमा १ हजार ८ सय सम्म अर्गेलीका झ्याङ हुने किसान छन् । यो वर्ष गुम्देलबाट मात्र ३ हजार केजी तयारी अर्गेली बाहिरिने अनुमान गरिएको छ । मंसिरको २ गतेदेखि अर्गेली काट्ने तयारी रहेको शेर्पाले बताए । वर्षायाममा अर्गेली काट्दा राम्रोसँग घाम नलाग्ने भएकाले सुकाउन कठिन हुने हुँदा हिउँदका महिनामा काट्ने गरिन्छ । ‘पानीले भिज्यो भने अर्गेलीमा कालो टीका देखिन्छ, त्यस्तोले राम्रो भाउ पाउँदैन,’ शेर्पाले भने ।


एक झ्याङ अर्गेलीको बोटबाट बजार लैजान योग्य तयारी बोक्रा ५ सय ग्रामदेखि बढीमा २ केजी सम्म आउँछ । गुम्देलमै आउने व्यापारीले तयारी अर्गेली बोक्राको ४ सय ५० रुपैयाँ केजी दिने गरेका छन् । उक्त अर्गेली बाहिरी मुलुकमा कति पैसामा पठाउँछन्, उत्पादक किसानलाई मेलो छैन । अर्गेली उत्पादन गर्ने किसानले भने काटेको डाँक्ला र पातैसहितको अर्गेली प्रतिकेजी ७ रुपैयाँ ५० पैसामा जोखेर दिने गर्छन् ।

गुम्देलको अर्गेली संकलनका लागि प्रतिकेजी १ रुपैयाँ संकलन दस्तुर तिर्नुपर्छ । दस्तुर तिरेर संकलनका लागि अनुमति लिनेकै संख्या ८/१० जना छ । बाहिरी जिल्लामा निकासीका लागि अलग्गै कर तिर्नुपर्छ । संकलकले अर्गेली काट्ने, ढुवानी गर्ने, संकलन गर्ने, पकाउने र बोक्राबाट रेसा निकालेर काठमाडौं पठाउने तिनै अनुमति पाएकाले गर्ने गरेको शेर्पाले बताए ।


स्थानीय कर्मावाङ्छु शेर्पाका अनुसार अर्गेलीको लोकता निकाल्न फलामको ड्रममा पानी राखेर उमालिन्छ । ड्रममाथि काठको बाकसमा अर्गेली राखिन्छ । पानी उम्लँदा माथिको बाकसमा राखेको अर्गेली बाफिन्छ । बाफिएपछि बोक्रा निकाल्न सजिलो हुन्छ । त्यस्तो बोक्रालाई राम्रोसँग सुकाइन्छ र बजारमा पठाइन्छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?