कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेमा नेविसंघको शैक्षिक हड्ताल, दोस्रो दिन पनि पढाइ प्रभावित

नगेन्द्र अधिकारी

काभ्रे — आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले आव्हान गरेको हड्तालका कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन् ।

प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाई अध्यक्ष कृष्ण ढकालको रिहाइको माग गर्दै जिल्ला समितिले आइतबार र सोमबार आव्हान गरेको हड्तालका कारण निजी तथा सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको हो ।

पक्राउको विरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेको नेविसंघले आइतबार जिल्ला प्रशासन कार्यालय काभ्रे घेराउ गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई ज्ञापनपत्र बुझाएको थियो । नेविसंघ केन्द्रले पनि आन्दोलनको कार्यक्रम घोषणा गर्दै सोमबार ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, बुधबार जिल्ला सदरमुकामहरुमा दुई घण्टा चक्काजाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । विना शर्त रिहा नगरिए आन्दोलन अझ शसक्त गर्ने नेविसंघ काभ्रेका अध्यक्ष नृपेश वादेले चेतावनी दिए ।

१६ वर्षीय ढकालले कुकुरको शरीरमा प्रधानमन्त्रीको फोटो जोडिएर बनाएको पोष्ट आफ्नो वालमा शेयर गरेका थिए । ‘गल्ती’ भएको स्वीकारेर आफ्नो पोष्ट हटाइसकेका उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

ढकालले शेयर गरेको सोही फोटो ‘सामाजिक सञ्जाल’ मा पुन: सेयर गरेको भन्दै पत्रकार कविराज ढकाल पनि पक्राउ परेका छन् । प्रहरी आफैले सञ्चालन गरेको ग्रुप च्याटमा उक्त पोष्ट सेयर गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी महानगरीय अपराध महाशाखा टेकुमा राखेको छ ।

उक्त बिषय पनि साइबर क्राइमको बिषयबस्तु भएको भन्दै उनलाई पनि पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । दुवैलाई १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?