हिमाली बाटो पहिल्याउँदै

टीकाप्रसाद भट्ट

रामेछाप — हेर्दै अक्कर र हिउँ बिलाएको कालो डाँडा छ । बेलुका बेस्सरी चल्ने हुरी चल्छ । त्यही डाँडाको भीरमा चिप्लँदै गुम्देलका पेम्बा शेर्पाले गुम्देलदेखि लुक्ला जाने पदमार्ग पहिल्याएका छन् । 

गुम्देलको लाहाछेवरबाट ४ दिनअघि हिमाली पदमार्ग पहिल्याउँदै उकालिएका शेर्पा आइतबार राति सोलुको लुक्ला पुग्ने क्रममा लगातार १८ घण्टा हिँडे । ‘थकाइ कति छ भन्नै सक्दिनँ,’ शेर्पा भन्छन्, ‘अचाक्ली थाकेको छु ।’ उनीसँगै ३ जना साथी पनि उस्तै । उक्त क्षेत्रबाट पर्यटकलाई हिमाली दृश्यावलोकन अनि दर्जनाैं हिमपोखरीहरू देखाउँदै लुक्ला लैजानका लागि बाटो पहिल्याउनु उनीहरूको उद्देश्य थियो ।

गुम्देलको लाहाछेवर त्यसै पनि दुर्गम छ । त्यसबाट सुरु हुने पैदल यात्रा त्यसै पनि कष्टकर छँदै थियो । लाहाछेवरको लिखु नदी कटेपछि सिधै उकालिएका उनीहरू एक दिन पूरै जंगलको बाटो एकोहोरो उकालो हिँडे । झोलामा बोकेको ड्राइफुड खाएर हिमालकै काखमा टेन्टमा २ रात बिताएका उनीहरू लुक्ला पुग्दा आफ्नो यात्रा वर्णन गर्न आतेस लाग्ने अनुभव सुनाउँछन् ।

‘सोमुनाको (४५०० मिटर ) पास कटेर लुक्लातर्फको ओरालोको यात्रा यति कठिन थियो कि बयानै गर्न नसक्ने,’ शेर्पा भन्छन्, ‘सिधै भीरको बाटो । ढुंगामा परेको तुसारो उत्तिनै ज्यानमारा चिप्लो । झन्डै ३ सय मिटर लामो ढुंगेपहरो कट्न असाध्यै मुस्किल भयो ।’ गुम्देलदेखि लुक्लासम्मको पदमार्गमा खाना र बासका लागि उपयुक्त स्थान छैन । बाटोमा दूधकुण्डनजिक एउटा होटल छ । सोलुको टाक्सिन्दुबाट दूधकुण्डमा जाने पर्यटकहरू त्यहाँ बाक्लै पुग्छन् । अर्को मार्ग हुँदै । तर शेर्पाहरू गएको पदमार्ग सुनसान छ, मानव भेट्नै मुस्किल ।

‘हामीलाई जंगली जनावरको पनि उत्तिकै डर थियो,’ शेर्पा भन्छन्, ‘भीरको बाटोमा माथिबाट झारलहरूले ढुंगा लडाउलान भन्ने चिन्ताले बचेर हिँड्न उत्तिकै डर मर्नु । तर भाग्य न जंगली जनावर भेटियो न ढुंगा लड्यो ।’

गुम्देलबाट सत्रवेनी, टाक्सिन्दु, घ्यू ढुंगा, सोमुनाक्रोपास, लुम्जिङखोला हुँदै लुक्ला जाने बाटो धेरै स्थानमा बनाउनुपर्ने उनले देखे । बाटो नै बनाउनुपर्ने धेरै स्थानमा छ । ठाउँठाउँमा बासको प्रबन्ध अनि पानीको व्यवस्था गर्न सके उक्त पदमार्ग रोमाञ्चकारी छ । सोमुनाक्रोबाट सर्वोच्च शिखर सगरमाथा छ्याङ्गै देखिन्छ । तर दुर्भाग्य आइतबार हिमाल खुलेन । ढ्याप्प कुहिरोले ढाक्यो । शेर्पा र उनका सहयोगी साथीहरू बिरक्तिँदै ओरालिए ।

आउँदो वर्ष एउटा टिम आउँदै छ विदेशीको । उक्त टिम त्यही मार्ग हुँदै लुक्ला जाने तयारी भएकाले शेर्पाहरू पदमार्ग पहिल्याउन त्यता लागेका थिए । सरकारले सत्रवेनीसम्मको पदमार्ग बनाउन पहल थालेको छ । तर त्यसभन्दा पूर्वको भागमा भने स्थानीय सरकारले नै पहल गर्नुपर्ने देखिएको उनले बताए ।

लुम्जिङखोलामा कैयौं वर्ष अघि हालेको काठेपुल जीर्ण छ । कुहिइसकेको उक्त काठेपुल खस्यो भने लुक्लातर्फ जाने अर्को उपाय छैन । पुलचाहिँ चाँडो बनाउनुपर्ने अवस्था छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?