कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा जोड्ने सडक अवरुद्ध

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — तिब्बत सीमा जोड्ने सडकको कोदारी खण्ड भासिएपछि सवारी आवागमन ठप्प भएको छ । अस्थायी रूपमा सञ्चालनमा आइरहेको सडक एकैसाथ बन्द हुँदा सीमा क्षेत्रका बासिन्दा पहिरोको जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । 

बर्खालगत्तै मर्मतमा जुटेको चाइना रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले जीर्ण सडक निर्माणको काम बीचैमा रोकेको छ । भूकम्प, भोटेकोसी बाढीदेखि पहिरोले क्षतिग्रस्त तातोपानीको पिप्लाङदेखि कोदारी बजार खण्ड मर्मत सकेर सीआरसीसीले लिपिङ क्षेत्रको सडक बनाइरहेको थियो ।


लिपिङ र कोदारी क्षेत्रमा पहिरो गएपछि ‘सपोर्ट पिलर’ को कामलाई रोकिएको छ । ‘कोदारी खण्ड माथिबाट बगेर आएको पहिरोले पुरिएपछि उनीहरूले आफ्नो काम रोकेका छन्,’ सीमास्थित सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले भने ।


अरूभन्दा लिपिङ क्षेत्रको ५ खण्डमा तल्लो संरचना एकदमै जीर्ण भएकाले सीआरसीसीले विशेष प्राथमिकतामा राखेर काम गरिरहे पनि अहिले रोकिएको उनले बताए । ‘शनिबारदेखि लगातार झरिरहेको पहिरो अझै रोकिएको छैन,’ उनले भने । अवरोध खोलेको १ घण्टामै पहिरो खसेर काम रोकिएको उनले बताए ।


चीनतर्फ बन्दै

चीनको सीमा सुरक्षार्थ बसेका प्रहरी अधिकारीका अनुसार तातोपानी नाका खुलाउन चीन पूर्णतयारीमा जुटेको छ । क्षतिग्रस्त मितेरी पुलदेखि खासासम्मको ७ किमि पुनर्निर्माण सकिन लागेको छ ।


‘नाका खोल्न ५ महिना नबित्दै यहाँको भौतिक संरचना तयार बनाउन जुटिरहेका छौं,’ खासादेखि मितेरी पुलसम्मको अनुगमन टोलीको नृेतत्व गरिरहेका चिनियाँ प्रहरी कप्तान टसीले भने ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?