१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एम्बुलेन्सलाई १८ लाख संकलन

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकास्थित ओखरबजारका युवाहरूले एबुलेन्स सञ्चालनका लागि शुरु गरिएको आर्थिक संकलन अभियानको क्रममा मंगलवारसम्म १८ लाख रुपैया संकलन गरेका छन ।

१८ लाखभन्दा बढी रकम संकलन भएको ओखरबजार स्वास्थ्य सेवा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानले बताए । एम्बुलेन्स व्यवस्थापनका लागि ओखरबजारका एकै व्यक्तिले आइतबार ५ लाखबढी सहयोग गरेका छन् ।


ओखरबजारका विवश अमात्यले सुनमाया स्मृति प्रतिष्ठानकोतर्फबाट एम्बुलेन्स सञ्चालन अक्षय कोषमा रहने गरी पाँचलाख २५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको अध्यक्ष प्रधानले बताए । अमात्यले एम्बुलेन्स सेवा सञ्चालनका लागि प्रत्येक वर्ष २५ हजार रुपैया सहयोग गर्ने पनि घोषणा गरेका छन् ।


हाल अमेरिकामा रहेका हरिहरमान श्रेष्ठले पिता हिरालाल र छोरी अभानीकोतर्फबाट एम्बुलेन्स सेवाका लागि ६० हजार रुपैया सहयोग उपलब्ध गराएका छन् । उनले बार्षिक १५ हजार रुपैया उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाल सम्वत् ११३९ को शुभारम्भसंगै ओखरबजारका युवाहरूले गाउँमा नि:शुल्क रुपमा एम्बुलेन्स सेवा सञ्चालनको योजना बनाएका हुन । उक्त योजना बमोजिम सुरेन्द्रमान प्रधानको अध्यक्षतामा जर्म श्रेष्ठ उपाध्यक्ष, मोहन प्रधान सचिब र सुरेन्द्र श्रेष्ठ कोषाध्यक्ष रहेको २१ सदस्यीय ओखरबजार स्वास्थ्य सेवा संस्था गठन गरेको छ ।


एम्बुलेन्ससहित स्वास्थ्यसम्बन्धी अन्य गतिविधिका लागि संस्थागत विकासको प्रक्रियासमेत अघि बढाएको अध्यक्ष प्रधानले बताए ।एम्बलेन्स सञ्चालनका लागि आर्थिक अभियानअन्तर्गत् ओखरबजारको प्रत्येक घरबाट रकम संकलन गर्ने, एम्बुलेन्स खरिद प्रक्रियासँगै वृहत् अक्षय कोष सञ्चालन गर्ने र हरेक वर्ष नियमितरुपमा रकम सहयोगका लागि स्वघोषणा गराउने कार्यक्रम राखिएको संस्थाले जनाएको छ । ओखरबजारका बासिन्दालाई नि:शुल्क र अन्यलाई शुलभ ढंगले एम्बुलेन्स सेवा सञ्चालन गर्ने गरी अभियान संचालन गरिएको संस्थाका उपाध्यक्ष जर्म श्रेष्ठले बताए ।


प्रकाशित : कार्तिक २८, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?