कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

धामीझाँक्रीले पठाउन थाले स्वास्थ्य चौकी

प्रताप विष्ट

हेटौंडा — दुर्गम गाउँमा बिरामीलाई धामीझाँक्री लगाउने प्रचलन अहिलेसम्म व्याप्त छ । धामीझाँक्रीले झारफुक र ढयांग्रो नठोकिकन बिरामीलाई हत्तपत्त स्वास्थ्य चौकी लाँदैनन् । अझ बिरामीलाई थोरै मात्र सुधार भयो भने झाँक्रीलाई नै झारफुक गर्न लगाउँछन् । 

धामीझाँक्रीले पठाउन थाले स्वास्थ्य चौकी

गाउँमा धामीझाँक्री विभिन्न समुदायका अधिकांश पुरुष हुन्छन् । ढयांग्रो ठोकेर झारफुक गर्ने तामाङ, चेपाङ, मगरलगायत आदिवासी जनजातिका झाँक्रीहरूले गर्छन् । गैरआदिवासी अर्थात् क्षेत्री बाहुनहरू पनि धामीझाँक्री हुन्छन् तर ढयांग्रो ठोक्दैनन् ।


तर यहाँ भिन्न छ, मकवानपुरगढी गाउँपालिका ८ साविकको बूढीचौर गाविसमा क्षेत्रीले ढयांग्रो ठोकेर झारफुक गर्छन् । त्यति मात्र होइन, महिलाहरू पनि जोडसँग ढयांग्रो ठोकेर झारफुक गरेका छन् । ‘यो गाउँमा नाम चलेका धामीझाँक्रीहरू क्षेत्रीहरू छन्,’ स्थानीयवासी दिलबहादुर भोम्जनले भने, ‘उनीहरूले नै ढयांग्रो ठोकेर झारफुक गर्छन् ।’


गाउँमा नाम चलेका झाँक्री तेजबहादुर खड्काका दम्पती छन् । उमेरले उनीहरू दुवै ७० नजिक छन् । खड्का दम्पतीलाई गाउँमा झारफुक र ढयांग्रो ठोक्न भ्याईनभ्याई छ । खड्कापत्नी मानकुमारी पनि निकै जोसका साथ ढयांग्रो ठोकेर झारफुक गर्ने गर्छिन् । झारफुकसँगसँगै बिरामीलाई स्वास्थ्य चौकी लैजान सुझाव पनि दिने गरेका छन् । ‘रोग हेरेर बिरामीलाई सुझाव दिने गरेका छौँ,’ खड्काले भने, ‘सामान्य रोग मात्र हामीले झारफुक गरेर निको पार्न सक्छौँ, ठूला रोग लागेकालाई उपचार गर्न स्वास्थ्य चौकीमा लैजान सल्लाह दिने गरेको छु ।’ आफूहरू पहिलाजस्तो नभएर सुधारिएको झाँक्री भएको दाबी गरे ।


मानकुमारीसँगै ५५ वर्षीया साहिली बस्नेत पनि झाँक्री भएकी छन् । उनीहरू झारफुक मात्र गर्दिनन् । गाउँमा झाँकी प्रदर्शन गर्नुपर्‍यो भने उनीहरू नै ढयांग्रो ठोकेर नाच्दै आउँछन् । बूढीचौर गाविसबाहिरका मानिस यो दृश्य देखेपछि छक्क पर्ने गर्छन् । ‘बूढीचौरमा हुने कुनै पनि सार्वजनिक कार्यक्रममा खड्का दम्पती र बस्नेतको टोलीले ढयांग्रो ठोकेर झाँक्री नाँच देखाउने गरेका छन् ।


९५ प्रतिशत तामाङ समुदायको बसोबास रहेको बूढीचौरमा क्षेत्री बाहुनहरूको संख्या न्यून छ ।

खड्का दम्पतीले बाल्यकालमा नै तामाङ झाँक्रीहरूबाट यो विद्या सिकेको बताए । ‘घरवरिपरि सबै तामाङ नै तामाङ छन्,’ झाँक्री खड्काले भने, ‘उनीहरूले ढयांग्रो ठोकेको देखेर आफूले पनि बाल्यकालदेखि नै सिकेको ।’ गाउँमा खड्कादम्पतीले तामाङ समुदायका झाँक्रीहरूलाई उछिनेका छन् ।


यो दम्पती तामाङ भाषा बोल्न पनि तामाङभन्दा कम्ती छैन । केही तामाङ झाँक्रीहरूले क्षेत्री झाँक्रीले तामाङले ठोक्ने ढयांग्रो र माला लगाएर फलाक्न रोक लगाउन ०४५ सालमा तत्कालीन गाविसमा उजुरी पनि दिएका थिए । त्यतिबेला गाविसले ढयांग्रो जसले पनि ठोक्न पाउने निर्णय सुनाएको स्थानीयवासी धनबहादुर तामाङले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?