कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतबाट ल्याइए नुवाकोटका पाँच किशोरी

किशोरीहरूले आफू घर छाडेर हिँडेको विषयमा केही बोल्न चाहेनन् । ती १३ देखि १६ वर्ष उमेर समूहका छन् ।
कृष्ण थापा

नुवाकोट — सुर्खेतबाट उद्धार गरी ल्याइएका पाँच किशोरीहरूका अभिभावक आत्तिएका छन् । भर्खर पढदै गरेका किशोरी अभिभावकलाई कुनै जानकारी नदिई बेपत्ता भएपछि अभिभावकहरू आत्तिएका हुन् ।

बेचबिखनका लागि लैजान खोजेको देखिएकाले आत्तिनुपर्ने अवस्था भएको अभिभावक कृष्णकुमार थापा मगरले बताए ।


‘हामीले कुनै कमी हुन दिएनाैं,’ उनले भने, ‘छोरीहरूले किन त्यसरी गए भनेर सोध्दा पनि केही बोल्दैनन् ।’ राजकुमार थापा मगर सपनाका (नाम परिवर्तन) अभिभावक भन्छन्, सुर्खेतका निर्मल विकमाथि शंका छ । उनीहरूलाई सदरमुकामसम्म ल्याउने मान्छेमाथि पनि शंका छ ।’ किशोरीहरूले आफू घर छाडेर हिँडेको विषयमा केही बोल्न चाहेनन् । उनीहरू यही २१ गते साँझ ७ बजे भैलो खेल्न भनेर ५ जना मिलेर घरबाट निस्केका थिए । ती १३ देखि १६ वर्ष उमेर समूहका छन् । त्यसपछि उनीहरू सदरमुकामस्थित बट्टार बजारको एक होटलमा बसेका थिए ।


घरबाट विकास प्याकुरेल भन्नेले मोटरसाइकलमा ओसारेको होटलमा ल्याएको अभिभावकहरूले बताए । त्यसपछि भोलिपल्ट उनीहरू त्रिशूली–गल्छी हुँदै काठमाडौं पुगेका थिए । काठमाडांैबाट सुर्खेतको जाने बसको टिकट लिएर सुर्खेत भेरीगंगा नगरपालिका १२ छिञ्चुस्थित निर्मल विकको घर पुगेका थिए । उनीहरूका अभिभावक रामकुमार थापा मगर भन्छन्, ‘फोनबाट कुरा गर्दै त्यहाँसम्म पुगेको पाइयो । बाटोमा कुनै व्यक्तिले सँगै लगेको देखिँदैन ।’


उनीहरूका अभिभावकले घरबाट लगाउने लुगा सबै तन्नाधरी बोकेर लगेको बताए । सदरमुकाम राम्ररी नघुमेका कसरी सुर्खेत पुगे भन्नेमा अभिभावक अचम्मित भएका छन् । रामकुमारले भने, ‘यो नियोजित तरिकाले मानव बेचबिखनकै लागि लैजाने तयारी रहेछ । किनभने बुटबल हँुदै सुनौली नाकाबाट लैजाने खोजेको देखिन्छ । त्यति बेला चाडबाडले नाका बन्द भएपछि सुर्खेत पुगेका हुन् भन्ने हाम्रो अनुमान छ ।’ किशोरीका अभिभावक भन्छन्, ‘सुर्खेत घुमेर बुटवल जाने तयारी थियो भनेसम्मको कुरा खुलाएका छन् ।’


को हुन् विक ?

सुर्खेत भेरीगंगा नगरपालिका १२ छिञ्चुस्थित निर्मल विक दुई वर्षअघि लिखु गाउँपालिका ३ र ४ वडामा टयाक्टर चलाउने काम गर्थे । एक तामाङ थरका व्यक्तिसँग मित लगाएपछि यता काम गर्न थालेका थिए । उनले वडा नम्बर ४ चौघडामा रहेको सडक ग्राभेल र पिचका लागि ढुंगा र बालुवा टयाक्टरमा ओसार्ने काम गर्दै आएका थिए ।


किशोरीहरू सोही सडक हुँदै चौघडामा रहेको एक विद्यालयमा अध्ययन गर्ने जाने क्रममा विकसँग चिनजान भएको प्रहरीको भनाइ छ । विकको फुपू र काका भारतको मुम्बईमा काम गर्ने र त्यता आफ्ना छोरीहरू लैजाने तयारी गर्दा प्रहरीले पक्राउ गरेको अभिभावक बताउँछन् ।


बेचबिखनको शंका

अभिभावकहरू छोरीहरू हराएपछि आत्तिएको र यस्तो समस्या कहिल्यै नपरेको बताउँदै लिखु गाउँपालिका ३ का वडाध्यक्ष भोलाप्रसाद सेढाईंले भने, ‘फकाएर लगेको देखिन्छ । तर यसमा मानव बेचबिखनकै गिरोह छ कि भन्ने शंका छ, नत्र भने कसरी उनीहरूलाई त्यति टाढा लगियो ?’


प्रहरीको भनाइ किशोरीहरूलाई मानव बेचबिखन गर्ने उद्देश्यले लैजान खोजिएको अहिलेसम्म नदेखिएको प्रहरीले जनाएको छ । उनीहरूलाई फोन गरेको टयापिङबाट सुर्खेत देखाएपछि त्यहाँको प्रहरीलाई भनेर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।


‘भारत लैजाने खालको गिरोह हो जस्तो त अहिलेसम्मको अनुसन्धानले देखिएको छैन,’ जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले भने, ‘सत्यतथ्य बाहिर ल्याउने हाम्रो प्रयास जारी छ । दोषीलाई कारबाही हुन्छ ।’


पहिलेको तुलनामा जिल्लामा विस्तारै मानव बेचबिखन कमी हुँदै आएको प्रहरीले जनाएको छ । गाउँगाउँमा चेतना, अभिभावक सचेत हुनले केही अपवादबाहेक विस्तारै मानव बेचबिखनमा न्यूनीकरण हँुदै जाने प्रहरी बताउँछ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?