१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वाल्मीकि आश्रममा भारतीयको चाप

चितवनबाट बाटो नभएपछि नवलपरासी (दाउन्ने सुस्तापूर्व)मा पर्ने त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जान सकिन्छ ।
रमेशकुमार पौडेल

चितवन — भगवान् रामले त्यागेपछि सीता आएर बसेको वाल्मीकि आश्रममै ऋषि वाल्मीकिले संस्कृतमा रामायण लेखेको विश्वास गरिन्छ । यो ठाउँ भारतीय सिमानाको आडैमा चितवन निकुञ्जभित्र छ ।

वाल्मीकि आश्रममा भारतीयको चाप

भौगोलिक सिमानाले चितवनको माडी नगरपालिका–१ मा पर्ने यो आश्रममा चितवनबाट जान सकिँदैन । नेपालीभन्दा भारतीयलाई यो ठाउँ जान सजिलो छ । त्यसैले दर्शन गर्न आउनेमा भारतीयहरू प्रशस्तै देखिन्छन् ।

चितवनबाट बाटो नभएपछि नवलपरासी (दाउन्ने सुस्तापूर्व)मा पर्ने त्रिवेणीधाम गएपछि वाल्मीकि आश्रम जान सकिन्छ । त्रिवेणीबाट नारायणी नदीमा डुंगा चढेर आश्रम पुग्नुअघि चितवन निकुञ्जको जंगल आधा घण्टा हिँड्नुपर्छ । त्यसैले यो बाटो हिँड्न कमै इच्छुक हुन्छन् । त्रिवेणीको गण्डक बाँधको पुल तरेर गाडीमा आश्रमसम्म जान सकिन्छ । तर यसरी जाँदा सात किलो मिटर भारतीय भूमि पार गर्नुपर्छ ।

गण्डक पुल पार हुनेबित्तिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई विवरण टिपाउनुपर्छ । त्यसपछि भारतीय जंगल पार गरेर आश्रम पुग्ने बेलामा पनि एसएसबीको पोस्ट छ । अहिले त्यहाँ पनि विवरण टिपाउनुपर्छ । आफ्नै देशको आश्रम पुग्न यति कठिन भएपछि नेपालीले त्यहाँ जान रुचि नदिएझैं देखिन्छ । तर भारतीय भूमि वाल्मीकि नगर हुँदै जान सकिने भएका कारण टाढा–टाढाका भारतीय सहरबाट दर्शन गर्न आउँछन् ।

‘भारतीयहरू धेरै नै आउँछन् । शुक्रबार, शनिबार र आइतबार स्कुलबाट घुम्न आउनेहरूको भीडभाड लाग्छ । अरू पनि आउँछन् । नेपालीहरू माघे औंसी र रामनवमी जस्ता तिथि विशेषमा नआउने हैनन् तर सधैं आउनेमा भारतीयको भीडभाड हुन्छ,’ वाल्मीकि आश्रममा रहेको पुरानो मन्दिरका पुजारी रामशरण गिरीले भने । आइतबार आश्रम नजिकको भारतीय बजार वाल्मिकी नगरमा विहारका मुख्यमन्त्री र उपमुख्यमन्त्री आएका थिए ।

मुख्यमन्त्रीको सुरक्षाका लागि आएका प्रहरीहरू आश्रम घुम्न पुगेका थिए । पोसाकमै उनीहरू आश्रम क्षेत्रमा छपक्कै भएका थिए । भारतीय पत्रकार र राजनीतिकर्मीका टोली पनि आश्रम घुम्दै गरेको भेटिए । ‘यो ठाउँको नाम सुने पनि आउने अवसर जुरेको थिएन । मुख्यमन्त्री र उपमुख्यमन्त्री वाल्मीकि नगर आउने कार्यक्रममा सहभागी हुन आउँदा नजिकै रहेको यो आश्रम पनि घुमिया,’ भारत बेतियाका पवन वर्माले भने ।

भारतीय जनता पार्टी निकट किसान मोर्चाका बेतिया जिल्ला अध्यक्ष रहेका वर्मासँगै १३ जना नेता कार्यकर्ता आश्रम क्षेत्रमा रहेका रामायणकालीन मानिने पुराना वस्तुहरू हेर्न र फोटो खिचाउन व्यस्त थिए । नेता कार्यकर्ता विशेष अवसरमा आए पनि नियमित आउने विद्यार्थी टोलीको भीडभाड त्यस्तै थियो । दिनमा ६ वटासम्म विद्यार्थी टोली आउने पुजारी गिरीले बताए ।

विहार पश्चिम चम्पारण

भेडिहारीको राजकीय उत्कर्मित मध्य कन्या विद्यालयका ५२ विद्यार्थी आश्रममा घुम्दै थिए । कक्षा ८ की विद्यार्थी अनामिकाकुमारी राम र सीताका सन्तान लव–कुशले पढेको, घोडा बाँधेको जस्ता ठाउँ हेर्दै थिइन् ।

यस्ता कुरा उनले किताबमा पढेकी थिइन्, प्रत्यक्ष देख्दा दंग परिन् । विहार सरकारले नै विद्यार्थीलाई घुमाउने कार्यक्रममा सहयोग गर्दै आएको छ ।

‘विहार राज्य सरकारले विद्यार्थी घुमाउन स्कुलहरूलाई केही रकम दिन्छ । किताबमा पढेका कुरा प्रत्यक्ष हेर्न पाउँदा विद्यार्थी रमाउँछन् । उनीहरूको ज्ञान पनि बढ्छ । रामायणका कथाहरू विद्यार्थीले पढ्छन् । त्यसैले घुमाउन ल्याउँदा हामी आश्रम पनि डुलाउँछौं,’ शिक्षक मोहम्मद अस्लमले भने ।

शिक्षिका रुवी पिटरले सीताले प्रयोग गरेको सिलौटो लगायतका सामानहरू देख्न पाउँदा खुसी लागेको बताइन् ।

पर्यटकीय जिल्लाको पहिचान बनाएको चितवनबाट पुग्ने कुनै सुविधा छैन । नवलपरासीबाट जाँदा पनि सजिलो बाटो नभएका कारण नेपालीभन्दा भारतीयहरू दर्शन गर्न बढी आउने गरेका हुन् । ‘यहाँ के कति आउँछन्–जान्छन् कसैले हेक्का राखेको छैन । नेपालीलाई सुविस्ता हुने गरेर यहाँसम्म ल्याउने बारेमा सोच्ने पनि कोही भएनन् । महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र नेपालीको नजरमा भने राम्रोसँग पर्न सकेन’ पुजारी गिरीले भने ।

प्रकाशित : मंसिर ४, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?