अभिभावकलाई कक्षा

‘पैसा भएर मात्रै बालबालिकालाई राम्रो शिक्षा र संस्कार दिन सकिने हैन, राम्रो वातावरण दियो भने बालबालिका राम्रो हुन्छन्’
नगेन्द्र अधिकारी

काभ्रे — नमोबुद्ध–४ का सरिता सुन्दासका जेठा छोरा ८ वर्षका भए । विद्यालय जान नमानेपछि उनले छोरालाई धेरैजसो पैसा दिएर फकाइन् । नमानेपछि कुटिन् पनि । गाउँका सबै बालबालिका विद्यालय जाँदा जीवन भने लुक्ने गर्थे । आफन्तको घरमा राख्दा पनि पढ्न जान मानेनन्, जसका कारण उनको पढाइ एक बर्ष ढिलो भयो ।

अभिभावकलाई कक्षा

गाउँमा सञ्चालन भएको ‘असल अभिभावक कक्षा’ लिएपछि उनले आफ्नो छोराप्रति गर्ने व्यवहार परिवर्तन गरिन् । आफ्नो कारणले समेत छोरा विद्यालय जान नमानेको रहेछ भन्ने महसुस गरिन् ।

‘पिटेर र पैसा दिएर मात्रै हुने रहेनछ, राम्रो व्यवहार गर्नुपर्ने रहेछ,’ सरिताले भनिन्, ‘पालनपोषण कसरी गर्ने, उनीहरूको भावना कसरी बुझ्ने भन्ने कुरा कक्षाबाट सिकेर सोहीअनुसार व्यवहार गर्दा छोरा अहिले रमाएर विद्यालय जान थालेको छ ।’ स्थानीय संसारीदेवी आधारभूत विद्यालयमा कक्षा २ मा पढ्ने गरेका छन् । कान्छो छोरा पनि दाइसँगै रमाउँदै सोही विद्यालयको बाल कक्षामा पढ्न जान्छन् ।

सोही वडाका कनकबहादुर दर्जीका बालबालिकाले बजार जाँदा सामान किनिदिनुपर्‍यो भनेर ‘हैरान’ पार्थे । आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूको मागअनुसार किनिदिन सक्दैनथे । असल अभिभावक कक्षा लिएपछि उनलाई बालबालिकालाई वास्तविकता बताउनुपर्ने रहेछ भन्ने ज्ञान भयो ।

‘हेर नानी बाबु, बाबासँग आज पैसा छैन भनेर वास्तविकता बताएँ, बच्चाले पनि मान्न थाले,’ कनकबहादुरले भने, ‘झगडा गरे भनेर गाली गरिन्थ्यो, पिटिन्थ्यो, तरिका त हामीले पो ध्यान नपुर्‍याएका रहेछौं ।’

सेभ द चिल्ड्रेनको सहयोगमा नाङसाल एसोसिएसनले नमोबुद्ध नगरपालिका वडा नं ३ र ४ का दलित र अनाथ बालबालिका भएका ४४ परिवारका लागि १४ हप्ता ‘असल अभिभावक कक्षा’ सञ्चालन गरेको थियो । अभिभावकलाई पोषणयुक्त खाना, शिक्षाको महत्त्व, बालश्रमका नकारात्मक असर, पारिवारिक बजेट, सामाजिक सुरक्षा, बालबालिकालाई माया गर्ने तरिका लगायतका विषयमा कक्षामा सिकाइन्छ ।

सरकारले दलित परिवारका ५ वर्ष उमेर समूहका बालबालिकालाई पोषण भत्ताबापत मासिक ४ सय दिने गरे पनि अभिभावकले मादक पदार्थ लगायतमा खर्च गर्ने गरेका छन् । उक्त भत्ताको सही सदुपयोग गर्न पनि कक्षा लिइएको थियो । ‘बालबालिकाको पोषणको लागि आएको ४ सय रुपैयाँ बाबुआमाले जाँडरक्सी खाएर सकाएको पनि पाइयो,’ नाङसाल एसोसिएसनकी कार्यक्रम संयोजक विमला सापकोटाले भनिन्, ‘पैसा भएर मात्रै बालबालिकालाई राम्रो शिक्षा र संस्कार दिन सकिने हैन, राम्रो वातावरण दियो भने बालबालिका राम्रो हुन्छन् ।’

स्थानीय कमला विकले कक्षापछि बालबालिका र कामलाई समान ध्यान दिन थालेको बताइन् । ‘पहिला बच्चाले केही कुरा सोध्दा पनि झर्किने, थाहा छैन भन्ने गथ्र्यौं,’ कमलाले भनिन्, ‘अहिले सोधेको कुरा राम्रोसँग बताइदिन्छौं, बच्चाहरू पनि खुसी हुन्छन् ।’

प्रकाशित : मंसिर ५, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?