कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै पालमा बास

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प विस्थापित जिल्लाको उत्तरी गाउँका बासिन्दा अझै पालमा रात बिताउन विवश छन् । हरेक वर्ष जाडो महिना सुरु भएपछि सेलाङ बासखर्कमा बस्दै आएका पीडितहरू चिन्तामा पर्ने गर्छन् । भूकम्प गएको साढे तीन वर्ष बिते पनि उनीहरू पक्की घरमा बस्न सकेका छैनन् ।

अझै पालमा बास

न्यानो ठाउँ नपाएपछि जुगल गाउँपालिकाको लेकाली गाउँका बासिन्दा अँगेनाको तातोमा रमाउन विवश छन् ।


‘फाटेका पालमा कति दिन बस्ने हो ठेगान छैन,’ जुगल गाउँपालिका बोल्देका शिव थापाले भने । ‘सुखदु:ख, दसैंतिहार यसैमा मनाइयो, यो वर्षको चिसो छेक्न पनि बलियो बनाइराख्नुपर्‍यो नि,’ उनले थपे । भूकम्पले उक्त गापाको गोल्चे लिदी, गुम्बा, बतासे, पाङताङको केही बस्तीका बासिन्दा विस्थापित भएर त्यहाँ आएका हुन् ।


सयभन्दा बढी परिवार सुरक्षित स्थानको खोजीमा भौंतारिँदै त्यहाँ आएका बसेका थिए । सार्वजनिक वनको जग्गामा उपयुक्त स्थान देखेपछि उनीहरूले आफ्नो बास बसाले । बतासेबाट ज्यान जोगाउन आएको विगत सम्झँदा ६३ वर्षीया शान्ति तामाङलाई अझै डर लाग्ने गरेको छ । ‘त्यो बेला पनि हतारिएर आइयो, अहिले पनि बस्ती पाउने हतारोमा छौं,’ उनले गुनासो गरिन् । पीडित घाम नलागी वनबाट निस्कँदैनन् ।


एकीकृत बस्ती बन्ने वन क्षेत्रमा बसिरहेका झन्डै ६० विस्थापित परिवारका लागि चाँडै एकीकृत बस्ती बन्ने जुगल गाउँपालिका १ का अध्यक्ष कमल थापा सुनाउँछन् । ‘अक्सफाम र जनहित ग्रामीण सेवा समितिको सहयोगमा विस्थापितको एकीकृत बस्ती बनाउन लागिएको हो,’ थापाले भने । उनले स्थानीय तहको समन्वयमा अक्सफाम नेपाल र जनहित ग्रामीण सेवा समितिले एकीकृत बस्ती बनाउने अगुवाइ लिएको बताए ।


सामुदायिक वन क्षेत्रभित्रै बस्ती प्रयास गरिए पनि प्रक्रिया लामो र झन्झटिलो भएको उनको कथन छ । ‘स्थानीय आफैंले जग्गा खोजेर सरकारमार्फत २ लाख लिएर व्यक्तिसँग जग्गा किनेका छन्, जसमा ४४ परिवार प्रक्रियामा छन्,’ उनले भने ।


जनहित ग्रामीण सेवा समिति कार्यकारी निर्देशक राजेन्द्र शर्माका अनुसार १९ परिवारले प्रतिपरिवार २ लाखका दरले जग्गा खरिद गरेका छन् । समितिका कार्यकारी निर्देशक शर्माका अनुसार संस्थाले घर, खानेपानी, जीविकोपार्जन र विपत् जोखिम न्यूनीकरणका कार्यक्रम अघि सारेको छ । हाल करिब ६० धुरी उक्त स्थानमा बस्दै आएका छन् ।

प्रकाशित : मंसिर ५, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?