कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लाङटाङ फेरि झलमल्ल

बलराम घिमिरे

लाङटाङ — वरिपरि हिमाल । त्यही हेर्न पर्यटकको घुइँचो । होटल भरिभराउ । भूकम्पले क्षतविक्षत लाङटाङ झलमल्ल छ, तंग्रिएको छ । होटल व्यवसायी फर्केर जमेका छन् । आँखाअगाडि चारैतिर दर्जनभन्दा बढी हिमाल देखेपछि पर्यटक दंग पर्छन् ।

लाङटाङ फेरि झलमल्ल

यतिबेला दैनिक ६० देखि ७० पर्यटक आइरहेका छन् । प्रहरीचौकी लाङटाङको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा दुई हजार पाँच सय पर्यटक आएका छन् ।


चर्चित पदमार्ग यो क्षेत्रमा सुरक्षित होटल र घर बनिसकेका छन् । ‘लगभग पुरानै अवस्थामा लाङटाङ फर्किएको छ,’ होटल व्यवसायी ढिन्डुप तामाङले भने, ‘पर्यटक संख्या बढेर भूकम्प जानुअगाडिकै अवस्थामा पुगेको छ ।’


२०७२ वैशाख १२ को भूकम्पले लाङटाङ क्षेत्रको पर्यटन लगभग शून्यमा झरेको थियो । ‘काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा हो लाङटाङ । यही कारण विदेशी पर्यटकको सहज रोजाइमा पर्छ,’ पर्यटन व्यवसायी तेम्बा लामाले सुनाए, ‘पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न पाउँछन् ।’


स्याफ्रुबेंसीदेखि क्याङजिनसम्म बाटैभरि पर्यटकको लर्को देख्न सकिन्छ । स्याफ्रुबाट करिब दुई दिन पैदलमा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटलमा बास बस्न पुग्छन् पर्यटक । दोस्रो दिन बिहानै खाजा खाएर हिँडदा रिभर साइड, उडल्यान्ड, घोडा तबेला थाङस्याब, गुम्बा डाँडा हुँदै लाङटाङ पुगिन्छ ।


केही पर्यटक त्यहाँ बस्छन् भने केही मुन्डु, सिन्दुम हुँदै क्याङजिन पुग्छन् । पदमार्गमा आउने पर्यटकले रसुवाकै पुरानो क्याङजिन गुम्बा, लाङटाङ ग्लासियर र बस्ती नजिकैबाट एक दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सक्नेछन् ।


लाङटाङ नेपालको तेस्रो पर्यटकीय पदमार्ग मानिन्छ । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको चेर्को–रीबाट चारैतिर देखिने हिमालको मनमोहक दृश्य देखिन्छ । लाङटाङ जाने पर्यटक चेर्को–री, क्यान्जिन–री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । चेर्को–री पुगेकी स्पेनिस नागरिक मार्ता रोहरले भनिन्, ‘यहाँबाट हिमालको दृश्य हेर्न पाउँदा मनै आनन्द भयो, नजिकैबाट यति धेरै हिमाल हेर्न अन्त कतैबाट पाइँदैन ।’


लाङटाङ पदमार्गमा जाने अधिकांश पर्यटकले चेर्को–री चढ्ने गरेको क्यान्जिनका होटल व्यवसायी कर्मा तामाङले बताए । चेर्को–री पुगेका पर्यटकले लाङटाङ लिरुङ, झाङ्बु, किम्सुङ, छेर्पा छे, याङ्जी तेन्जी, युब्रा, मरिमटो, सिसापाङमा, लाङटाङ–री, पेम्दङकर्पु, पाङरी गुल्दुम हिमालको अवलोकन गर्न सक्छन् । त्यस्तै गुरकार्पो, दोर्जे लाक्पा, उर्केमा, लाङसिसारी, फायु देप्के, गाङक्षेम्बा, गन्जला चुली र नयाँगाङ हिमाल हेर्न पाउँछन् ।

प्रकाशित : मंसिर ८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?