३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बनेन पुष्पलाल पार्क

अधिग्रहण गर्नुपर्ने जग्गाका लागि मुआब्जा वितरण रोकिएको छ
टीकाप्रसाद भट्ट

रामेछाप — कम्युनिस्ट पार्टी नेपालका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको स्मृतिमा उनको जन्मथलो रामेछाप नगरपालिका ८ भंगेरीमा निर्माण गर्ने भनिएको पुष्पलाल पार्कको काम अलपत्र परेको छ ।

पार्क निर्माणार्थ अधिग्रहण गर्नुपर्ने जग्गाका लागि मुआब्जा वितरण रोकिएको छ ।


कम्युनिस्ट नेतृत्वको सरकार बनेपछि उक्त पार्कको काम अलपत्र भएको हो । अघिल्लो सरकारले नेपालका शीर्ष राजनीतिक पुरुष बीपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृतिमा उनिहरूको जम्मथलोमा स्मृति पार्क निर्माण गर्ने कार्ययोजना अघि सारेको थियो । सिन्धुलीको दुम्जामा जन्मेका कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको स्मृतिमा निर्माण गरिने पार्कको निर्माण समेत अलपत्र नै छ ।


पुष्पलालको जन्मथलो भंगेरीमा पार्क निर्माणका लागि आवश्यक पर्ने करिब ५० रोपनी जग्गा अधिग्रहरणको प्रक्रिया पूरा भएको छैन । झन्डै डेढ वर्ष अघिदेखि थालिएको अधिग्रहण प्रक्रिया अर्थ मन्त्रालयले मुआब्जाका लागि पैसा उपलब्ध नगराएको कारण रोकिएको हो । मुआब्जा वितरणका लागि बजेट माग गरी सहरी विकास विभागमार्फत गएको फाइल अर्थ मन्त्रालयले फर्काइदिएको छ ।


अर्थ स्रोतका अनुसार उक्त पार्कसम्बन्धी कार्यक्रमको जिम्मा प्रदेश सरकारलाई भएकाले बजेट दिन अस्वीकार गरिएको हो । उता प्रदेश भौतिक योजना मन्त्रालयले त्यसबारेमा चासो देखाएको छैन ।


साबिक सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले अधिग्रहण गर्ने जग्गाको लगत लिई उक्त जग्गा स्थानीय बासिन्दालाई खरिद बिक्री गर्न रोक लगाएको थियो । तर मुआब्जाको रकम नआउँदा स्थानीयले उक्त जग्गाको साटो अर्को जग्गा खरिद गरी घर बनाउन सकेका छैनन् ।


उक्त जग्गामा बसोबास गर्ने अधिकांश भूकम्पपीडित हुन । उनीहरू सबैलाई घर पुनर्निर्माण गर्नुपर्ने प्राधिकरणले दिएको म्याद सकिँदै छ । प्राधिकरणले आउँदो पुस मसान्तसम्म घरको जग हालेर दोस्रो किस्ता लिइसक्नुपर्ने समय सीमा तोकेको छ ।


मुआब्जा निर्धारण समितिको बैठक बाट मुआब्जाको रकम निर्धारण गरी त्यसका लागि लाग्ने रकम माग भएको छ । रकम हाल सम्म प्राप्त हुन नसक्दा मुआब्जा वितरण कार्य हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।


उनका अनुसार माथिल्लो निकायबाट रकम आउनासाथ जिल्ला तहमा मुआब्जा वितरण गरी पार्क निर्माणका लागि अन्य प्रक्रिया थाल्न बाटो खुल्थ्यो । पार्कका लागि आवश्यक जग्गा र ती जग्गामा रहेका घर, गोठ, बोटबिरुवा समेतका लागि करिब ६ करोड रुपैयाँ माग गरिएको थियो ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिव आनन्द श्रेष्ठले राजनीतिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्ने उक्त पार्कका लागि सरकारले आलटाल गरेकोमा रोष पोखे । ‘सरकारमा बस्ने र पार्टीको नेतृत्व तहका कयौं नेताहरूले पुष्पलालको जन्मथलोमा पुगेर उक्त पार्कका विषयमा थुप्रै समय खर्चेका छन्,’ श्रेष्ठले भने ‘काम वर्षौंसम्म जहाँको त्यहीं हुनु दुर्भाग्य हो ।’ उनले चाँडो भन्दा चाँडो जग्गाको मुआब्जा निकासा दिनुपर्ने र पार्कको काम तत्काल अघि बढाउनुपर्ने बताए ।


संघीय संरचनाका कारण पार्कको कार्य ओझेलमा परेको स्थानीयको भनाइ छ । ‘कहिले संघको अनि कहिले प्रदेशको अधिकार क्षेत्रभित्र पार्क परेको चर्चा सुनेका छौं,’ स्थानीय ध्रुवकुमार श्रेष्ठले भने, ‘जुन सरकारको कार्यक्षेत्रमा परे पनि काम चाँडो हुनुपर्‍यो ।’


उनले मुआब्जा गर्ने भनिएको जग्गामा बसोबास गर्ने स्थानीयले जग्गाको किनबेच गर्न नपाएका, सम्पत्ति अंशबन्डा हुन नसकेको , बैंक तथा वित्तीय संस्थामा धितो राख्न नपाएको गुनासो गरे ।

प्रकाशित : मंसिर १०, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?