२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अनुगमन भएन राजमार्गका होटल–रेस्टुरेन्ट

यसअघि स्थानीय प्रशासनको अगुवाइमा यदाकदा बजार तथा होटलको मूल्य तथा गुणस्तर अनुगमन हुने गरे पनि स्थानीय तहको निर्वाचनपछि अनुगमन हुनै छोडेको छ
हरिहरसिंह राठौर

धादिङ — सार्वजनिक सवारी साधनका यात्रुहरूले खाना र नास्ता खाने पृथ्वीराजमार्गस्थित होटलमा मूल्य एकरूपता गर्ने स्थानीय प्रशासनको प्रयास विफल भएको छ ।

राजमार्गका खाना र नास्ता दिने निश्चित होटलहरूले यात्रुहरू निरन्तर ठगी गर्ने गरेको आरोप लागेपछि पनि अनुगमन हुन सकेको छैन । यसअघि स्थानीय प्रशासनको अगुवाइमा यदाकदा बजार तथा होटलहरूको मूल्य तथा गुणस्तर अनुगमन हुने गरे पनि स्थानीय तहको निर्वाचनपछि होटल र बजारको अनुगमन हुनै छोडेको छ ।


‘दसैंताका अनुगमन गरेजस्तो हुन्छ । अरू समयमा अनुगमन गर्ने निकाय चुपचाप बस्छन्,’ नागरिक समाजका अगुवा सीताराम प्रसाद बर्माले भने । स्थानीय तहको निर्वाचनपछि अनुगमन गर्दै आएको स्थानीय प्रशासनले ‘सबै अनुगमन र आवश्यक कारबाहीको सिफारिस गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएकोले स्थानीय सरकार जिम्मेवार हुनुपर्ने’ जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत राममणि मिश्रले बताए ।


देशभरका ७२ जिल्लाले प्रयोग गर्ने पृथ्वीराजमार्गमा १६ सयभन्दा बढी सानाठूला होटल, रेस्टुरेन्ट छन् । पृथ्वीराजमार्गको ८६ किमि दूरी क्षेत्रको धादिङ खण्ड जोगीमाराको मौवा खोलादेखि नौबिसेको झयाप्ले खोलासम्म पर्यटकीय स्तरका १ दर्जन, माइक्रो बस रोक्ने २ दर्जन र लामो दूरीका २ दर्जन होटलहरू सर्वाधिक यात्रुहरूलाई खान र नास्ताका लागि सवारी साधनहरू रोकिने होटल हुन् ।


जिल्ला होटल व्यवसायी संघसँग ६ सय पनि आवद्ध छैनन् । ‘हामी हाम्रो संगठनमा आबद्ध होटल व्यवसायीहरूसँग मूल्य र गुणस्तरबारे निर्धारण गरी एकरूपता ल्याउन सक्छौं, संगठनमा आबद्ध नभएका, नयाँ र पटके व्यवसायीहरूले ग्राहकहरूलाई मनपरी रूपले असुल्ने गरेकोबारे स्थानीय प्रशाासनलाई पनि गुनासो गरेका हौं, कुनै सुनुवाइ भएन,’ नवनिर्वाचित जिल्ला होटल व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।


जिल्ला होटल व्यवसायी संघले स्थानीय प्रशासन र जिल्ला उद्योग वाणिज्य संघसँग छलफल गरी निर्धारण गरेको मूल्य सूचीमा हाल आकाश पाताल फरक छ । सार्वजनिक यातायातका साधनहरू रोक्ने हरेक होटलमा स्थानीय प्रशासनले तोकेको मूल्य सूचीलाई अनिवार्य टाँस्नुपर्ने आदेशको अवज्ञा गर्दै अझै पनि यात्रु ग्राहकहरूबाट मनपरी रूपले मूल्यसूची बनाई ठगी गर्ने गरेको आरोप छ ।


विशेषगरी नौबिसे, खानीखोला, सिक्रेखोला, २० किलो, धार्के , एक्लेफाँट, हुँदै मलेखु, सलाङ्गघाटसम्मका होटलहरू गुणस्तरहीन खाना तथा नास्ता दिएर यात्रुहरूबाट चर्को मूल्य असुल्ने गरेको आरोप छ ।


‘राजमार्गमा यात्रुहरूले हरेक दिन होटलहरूमा आफू ठगिएको सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्छन्, तर अनुगमन फितलो र कारबाही गर्ने प्रक्रियामै नजाने भएका कारण मनपरी मूल्य भएको हुन सक्छ,’ होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष राजकुमार प्याकुरेलले बताए ।


दैनिक उपभोग्यवस्तुहरूको चरम मूल्यवृद्धिको अनुगमन र नियन्त्रण नगर्ने स्थानीय प्रशासनले होटल व्यवसायीहरूलाई मात्रै नियन्त्रण गर्न खोजेको होटल व्यवसायीहरूले आरोप लगाएका छन् ।

प्रकाशित : मंसिर १८, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?