प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालन गर्ने

प्रताप विष्ट

हेटौडा — प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्थाको सहकार्यमा बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालन गर्ने

मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसहितको उपस्थितिमा हेटौंडामा बुधबार भएको संयुक्त बैठकमा विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने जानकारी गराइएको थियो ।


प्रदेश सरकारले चालु आवमा विद्युतीय बस खरिद गर्न ३० करोड रुपैयाँ र काठमाडौं महानगरपालिकाले १० करोड विनियोजन गरेका छन् । प्रदेश सरकारले वि.सं २०८५ सम्ममा काठमाडौं उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने नीतिअनुरुप विद्युतीय बस सञ्चालनको तयारी गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।


आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशको १३ जिल्ला र प्रदेश-प्रदेशको अन्तरसम्बन्ध जोडिने गरी विद्युतीय बस सञ्चालन हुने बताए ।


मेयर शाक्यले काठमाडौंबाट साना सवारीका साधनहरु विस्थापित गर्ने उद्देश्यले साझा यातायातसँग काठमाडौं महानगरले सहकार्य गर्दै आएको बताए ।


छलफलमा प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश सांसद दीपक निरौला, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. देवकोटा, सदस्य श्याम बस्नेत, साझा यातायातमा प्रतिनिधित्व गर्ने काठमाडौं महानगरपालिकाका कानुन महाशाखाका प्रमुख वसन्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : मंसिर १९, २०७५ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?