नारायणगढ–मुग्लिन सडक : भत्केको ठाउँ मर्मत भएन

सडक आयोजनाका अधिकारीहरू सडक विभागले अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया सुरु गरेको बताउँछन्
रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडक निर्माण नसकिँदै भत्केका ठाउँहरू मर्मतमा ढिलाइ भएको छ । सडक भत्केको तीन ठाउँमा र पहिरोग्रस्त ६ ठाउँमा वर्षापछि अध्ययन गरेर तत्कालै मर्मत र रोकथामको प्रयास गर्ने भनिए पनि काम सुरु भएको छैन ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका अधिकारीहरू सडक विभागले अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया सुरु गरेको बताउँछन् ।

दुई वर्षमा सक्ने भनेर काम सुरु गरे पनि ३ वर्ष तीन महिना लगाएर गएको भदौमा नारायणगढ–मुग्लिन सडक दुई लेनको बनाउने काम पूरा भएको थियो । निर्माण सकिएलगत्तै भतेरी, १७ किलो र २६ किलोमा सडक भाँसिएको छ । त्यसैगरी गाईघाट, घुमाउने, भालुढुंगा, जलविरे, चार किलो र कालीखोला नजिकको टोपे खोलामा पहिरोको समस्या छ ।

भतेरीमा विस्तारका क्रममा भएको कमजोरीका कारण सडक भाँसिएको हुँदा सम्बन्धित निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने हुन्छ । नारायणगढ– मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले १० दिनयता त्यहाँ मर्मतको काम सुरु गरेको छ । भत्केको अरू दुई ठाउँमा आयोजना आफंैले मर्मत गर्नुपर्ने छ ।

‘भतेरीबाहेक १७ किलो र २१ किलोमा भाँसिएको सडक आयोजनाले मर्मत गर्नुपर्ने छ । त्यहाँ १५ वर्षअघि रक एङ्करिङ गरेर फराकिलो बनाएको ठाउँमा एङ्कर फेल भएर यो पटक सडक भत्केको हो । त्यसैले निर्माण कम्पनीले नभएर हामी आफंैले मर्मत गर्नुपर्ने हुन्छ,’ सूचना अधिकारी खनालले भने ।

१७ किलोमा सडक भत्केपछि अहिले एकतर्फी मात्रै गाडी चल्छ । त्यहाँ दिन प्रतिदिन सडक भत्कँदै गएको छ । त्यसैगरी २१ किलोमा पनि सडक भत्कने क्रम बढेको छ । त्यहाँ पनि दुई तर्फी गाडी चलाउन असजिलो हुँदै गएको छ । ‘विभागले परामर्शदाता नियुक्त गरेर परामर्शदाताले अध्ययन गरेर डिजाइन बनाएपछि बल्ल टेन्डर हुन्छ । परामर्शदाता नियुक्तिदेखि टेन्डरसम्मको काम विभागले नै गर्ने हो,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले भने, ‘टेन्डरपछि निर्माण सुरु हुँदा बल्ल हामीले हेर्ने हो ।’

विभागले परामर्शदाता चयन गर्ने प्रक्रिया सुरु गरेको आयोजना प्रमुख बिसुरालले जानकारी दिए । १७ किलोमा चाँडै मर्मत सुरु नभए पूरै सडक भत्किने समस्या छ । अहिले त्यहाँ लगभग साढे दुई मिटर मात्रै सडक बाँकी छ । जसले गर्दा एउटा गाडी जेनतेन वारपार हुन सकेको सूचना अधिकारी खनालले बताए । मर्मतका बेलामा पनि त्यहाँ गाडी कसरी चलाउने भन्ने समस्या आउन सक्छ ।

‘त्यसैले विस्तृत अध्ययन र डिजाइनबिना तत्कालै काम सुरु गर्न नसकिएको हो,’ सूचना अधिकारी खनालले भने । साढे पाँच किलो मिटर चौडा सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो बनाउन ठाउँठाउँमा पहाड काटिएको थियो । पहाड काटेको ठाउँमा पहिरो गएर निकै दु:ख दिएको थियो । सडक विस्तारका क्रममा २९ ठाउँमा पहिरो गएको थियो ।

गत वर्षको वैशाखमा पहिरो रोकथामको काम सुरु भएको थियो । यो क्रममा १५ करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । तर ६ ठाउँमा पहिरोको समस्या यथावतै थियो । वर्षायाममा ठाउँठाउँमा पहिरो जाँदा अघिल्लो वर्ष लगातार ११ घण्टासम्म बाटो थुनिएको खनालले बताए ।

प्रकाशित : मंसिर २०, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?