फैलिँदै स्ट्रबेरी खेती

कृष्ण थापा

नुवाकोट — हिउँदमा उत्पादन हुने कोदो र मुला खेतीमा सीमित ककनीमा दुई दशकदेखि स्ट्रबेरी फैलिएको । यसले किसानलाई आम्दानीको स्रोत बढाएको छ । ककनी गाउँपालिका ५ ककनीका शुक्र तामाङ स्ट्रबेरी टिपेर बिक्रीका लागि जाँदै भेटिए ।

फैलिँदै स्ट्रबेरी खेती

कोदो, मकैबालीले दिने उत्पादनभन्दा राम्रो आम्दानी पाउन थालेपछि यहाँका किसानहरू स्ट्रबेरी खेतीमा आकर्षित भएको बताउँछन् । ‘कोदो मकैभन्दा यसले बढी आम्दानी दिन्छ,’ उनले भने, ‘कोदो मकैले खानलाई सीमित हुने, यो खेतीले नगद पाइन्छ ।’


सुरुमा यहाँका २३ जना किसानले यो खेती सुरु गरेका थिए । अहिले यो खेतीको फैलिएको छ । अहिले ६१ जना किसानले स्ट्रबेरी खेतीमा लागेका छन् । एक दिन बिराएर स्ट्रबेरी टिप्छन् । टिपेको स्ट्रबेरी घरनजिक रहेको आवर फार्मस् लान्छन् । फार्मस्ले किसानबाट संकलित स्ट्रबेरी ग्रेडिङ गरेर प्याकेजिङ गरी दरबारमार्ग पुर्‍याउँछन् । त्यहीँबाट स्ट्रबेरी बिक्री गर्ने प्रोडक्सन म्यानेजर भीमबहादुर श्रेष्ठले बताए ।


‘अरू फलफूलको तुलनामा स्ट्रबेरीले किसानलाई उल्लेख्य राम्रो आम्दानी दिएको छ,’ प्रोडक्सन मेनेजर श्रेष्ठले भने, ‘लामो समय फल दिने भएकाले जागरुक किसानलाई यो खेती फाइदाजनक छ ।’ यहाँका ६१ धुरी किसानबाट १ सय ७५ मा पुर्‍याउने फार्मस्ले बताएको छ । किसानलाई मलखाद, बीउ यहीं संस्थाले दिने गरेको तामाङले बताए ।


मिहिनेत गर्न सके एउटा बोटबाट सिजनमा ३ सय ग्रामसम्म स्ट्रबेरी फलाउन सकिने किसान बताउँछन् । मंसिरको अन्तिमदेखि पुस दोस्रो सातासम्म स्ट्रबेरी स्वादिलो हुने किसानको भनाइ छ । यहाँ किसानले सिजनमा पाखा बारीमा स्ट्रबेरी खेती गरेर १ लाख रुपैयाँभन्दा बढी कमाउँछन् ।


मंसिरदेखि चैतसम्म स्ट्रबेरीले राम्रो फल दिन्छ । ग्रेडिङअनुसार सी १ सय, बी २ सय र ए ३ सय रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको छ ।

प्रकाशित : मंसिर २०, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?