खोलाबाट तानेर खानेपानी

पानी आएको खुसियालीमा भोज र नाचगान
टीकाप्रसाद भट्ट

रामेछाप — तल खोलाको पानी पम्प गरेर गाउँमा झारेपछि रामपुरको चारघरेमा बुधबार स्थानीयले धुमधाम मनाएका छन् ।

रामेछापको सुक्खा क्षेत्र रामपुरमा रेडक्रसको अगुवाइमा खानेपानी सुविधा पुगेको खुसियालीमा नाचगान गर्दै स्थानीय । खानेपानी हस्तान्तरण कार्यक्रममा स्थानीयले भोज, नाचगान गरेका थिए ।  तस्बिर : टीकाप्रसाद/कान्तिपुर

खानेपानीको अभावले गाउँ छोड्न थालेका बेला भूकम्प प्रतिकार्य कार्यक्रम लिएर रामपुर भित्रिएको नेपाल रेडक्रसको सहयोगमा खानेपानी निर्माण भएको हो । भूकम्पपछि पानी सुक्ने क्रम तीव्र भएको बेला यो योजना चालू भएको छ ।

Yamaha

खानेपानी आएको खुसियालीमा बारीका बाटामा ठूलो राँगा काटेर गाउँलेले भोजै चलाए । मगर, नेवारले जातीय भेषभूषामा नाचगान गरे । खानेपानी दिने दाता पुगेका बेला गाउँभरका सबै उर्लिए र पाहुनालाई स्वागत गरे । भजनमा खानेपानी सुविधा भएकोमा प्रशन्न हुँदै उफ्रीउफ्री नाच्नेको कमी भएन । ‘यसको खुसी कसरी व्यक्त गरौं,’ स्थानीय कुमार श्रेष्ठले भने, ‘पानी नहुँदा जीवन थिएन, बल्ल बाँच्ने भयौं ।’

परम्परागत खानेपानीका स्रोत सुकेपछि पानीको अभाव टार्न रातभर पधेंरा र खोला धाउने रामपुरमा बुधबार धुमधाम खुसियाली गरेर खानेपानीको उपयोग गर्न थालेका हुन् । गाउँमा पानी आउने खुसियालीमा स्थानीयले बनीबुतो गरेर आएको ज्यालाबाट योजनामा योगदान गरे । महिनांै श्रम गरे । नगरपालिकाले खानेपानीको सास्ती मेटाउन योजना निर्माणमा सहकार्य गर्‍यो । रेडक्रसले गाउँभन्दा धेरै तलको खोलाको पानी बिजुलीको माध्यमले उकालो पम्प गरेर चारघरेमा झारिदियो ।

बालकन्या खानेपानी योजनाबनाउन रेडक्रस, रामेछाप नगरपालिका, समुदाय र श्रम गरी २ करोड ६० लाख रुपैयाँ खर्च लाग्यो । त्यो पैसा नजुटेको भए रामपुरमा यो हिउँदमा धेरै घरपरिवारको बास उठ्ने अवस्था थियो । श्रेष्ठ भन्छन्, ‘पानी ल्याइदिनेले स्थानीयको वर्षाैंदेखिको दु:खलाई बिदा गरिदिएका छन् । गाउँमा ४४ वटा सामुदायिक धारामार्फत स्थानीयले पानी उपभोग गर्न थालेका हुन् ।’

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले बालकन्या खानेपानीको बुधबार उद्घाटन गरे । उनले पानी बनाउनका लागि भन्दा पनि दीर्घकालसम्म उपयोग गर्ने कुरा ठूलो भएकाले मर्मतसम्भार र उपयोगमा स्थानीय निकायले सहयोग गर्नुपर्ने बताए ।

उनले रेडक्रस अभियानले भूकम्पपछि आवास मात्र हैन, एकीकृत रूपमा अरू कार्यक्रम पनि सँगसँगै गर्नुपर्ने अवधारणा अघि सारेका कारण रामपुरमा पानीको अभाव टार्न सकिएको बताए ।

तीन वर्षअघि भूकम्प प्रतिकार्य योजना लिएर रामपुर पसेको नेपाल रेडक्रस रामेछाप जिल्ला शाखाले बालकन्यासहित रामपुरका विभिन्न टोलमा ८ वटा खानेपानी योजना निर्माणमा सघाएको छ । तीमध्ये ६ वटा पूरा भइसकेका र २ वटा निर्माणाधीन अवस्थामा छन् ।

भूकम्पले घर क्षति भएका ६ सय ३७ परिवारको घर र त्यतिकै संख्यामा शौचालय निर्माणमा अनुदान वितरण गरेको छ । प्राविधिक सहयोग, एक बर्थिङ सेन्टरको निर्माण र उपकरण सहयोग, सयौंलाई डकर्मी र सिकर्मी तालिम, बाख्राको खोर वितरण र व्यावसायिक बाख्रापालन तालिम, नश्ल सुधार, विद्यालयमा बालमैत्री धारा र शौचालय, तरकारीखेती तालिम र बिउबेर्ना दिन रेडक्रसको सहयोग छ ।

आवास, जीविकोपार्जन र खानेपानीजस्ता पूर्वाधारको विकासले रामपुर रेडक्रसमय भएको वडा अध्यक्ष तामाङले बताए ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पहुँचका भरमा नेताका लगानी

मापदण्डविपरीत इँटाभट्टा 
नमोबुद्ध नगरपालिकाको केन्द्र भकुण्डेबेंसीमा सञ्चालित कुनै पनि इँटा उद्योगले मापदण्ड पूरा गरेका छैनन् । 
नगेन्द्र अधिकारी

काभ्रे — नमोबुद्ध २ मा स्थापना हुन लागेको शिवशक्ति इँटा उद्योगको सर्जिमिन मुचुल्कामा तत्कालीन दलीय संयन्त्रमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने नगर सभापति कुन्साङ लामाले हस्ताक्षर गरेका छन् ।

कांग्रेसकै अर्का नेता इन्द्रबहादुर दाहाल र हाल मेयर रहेका तत्कालीन एमालेका प्रतिनिधि रहेका टंकप्रसाद (टीपी) शर्मा लगायतका राजनीतिक संयन्त्रका प्रतिनिधिले पनि मानव बस्ती र अन्य कलकारखाना नभएकाले स्थापना गर्दा कुनै असर नगर्ने भन्दै मुचुल्कामा हस्ताक्षर गरेका छन् ।

संयन्त्रको निर्णयका आधारमा स्थापना भएको शिवशक्ति इँटा उद्योगमा कांग्रेस नगर सभापति लामाले नै व्यावसायिक साझेदारी गरेका हुन् । कांग्रेसका अर्का नेता इन्द्रबहादुर दाहालले पनि साझेदारीमा पञ्चकन्या इँटा उद्योगमा लगानी गरेका छन् ।

मापदण्डविपरीत नमोबुद्ध नगरपालिकाको केन्द्र भकुण्डेबेंसीमा सञ्चालित इँटा उद्योगहरूमा कांग्रेस तथा नेकपाका नेताहरूको लगानी र संरक्षण रहेको पाइएको छ । नगर कार्यपालिकाले इँटा उद्योग दर्ता तथा नवीकरण नगर्ने निर्णय नगरे पनि कार्यपालिका सदस्य रहने वडाअध्यक्षले नै त्यस्ता उद्योगलाई जग्गा उपलब्ध गराएका छन् ।

जनप्रतिनिधि बहाल भएपछि नमोबुद्ध २ मा दर्ता भएको सत्यनारायण इँटा उद्योगमा कांग्रेसका पूर्व सभासद चन्द्र महर्जनको लगानी छ । नगरपालिकाले इँटा उद्योग दर्ता र नवीकरणसमेत रोकेर कृषकलाई समेत जग्गा उपलब्ध नगराउन आहवान गरे पनि महर्जनको उद्योगको लागि १० नं वडाका अध्यक्ष रामकृष्ण उपाध्यायले नै जग्गा उपलब्ध गराएका हुन् ।

अध्यक्ष उपाध्यायले आफू निर्वाचित हुनुभन्दा २ वर्ष अघि नै जग्गा दिने सहमति भएको बताए । ‘म जनप्रतिनिधि हुनुभन्दा २ वर्षअघि नै जग्गाको एग्रिमेन्ट भएको हो, जग्गा मात्र दिएको हुँ, मेरो लगानी छैन,’ उपाध्यायले भने, ‘विकल्प दिएर किसानको जग्गा फिर्ता दिन नगरपालिकाले अनुरोध गरेको छ, अरूको फिर्ता गर्दा मेरो पनि फिर्ता गर्ने कुरा हुन्छ ।’

‘पहुँचवाला’ भएकै कारण नगर क्षेत्रमा रहेका इँटा उद्योगबारे अध्ययन गर्न गठन भएको समितिका संयोजक रहेका २ नं वडा अध्यक्ष सञ्जीव ढकालले नै नगरको निर्णयविपरीत सत्यनारायण इँटा उद्योग स्थापना गर्न अनुमतिदिएका थिए । ‘स्वार्थ बाझिने गरी’ अध्यक्ष ढकालले सोही उद्योगको डोजर प्रयोग गरेर वडामा बाटो खनाएका छन् ।

वडा नं ३ का सदस्य रामकुमार मैनालीको पनि दुईवटा उद्योगमा लगानी गरेका छन् । जय शिवक्ति र शंकर इँटा उद्योगमा गरी उनको २५ प्रतिशत सेयर छ । वडा सदस्य रहेका उनले राजनीतिसँगै ‘पेसा’ पनि गर्नु पर्नाले लगानी गरेको बताए ।

तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट नमोबुद्ध २ मा वडा अध्यक्षका प्रत्याशी कविराज श्रेष्ठले फूलबारी इँटा उद्योगका सञ्चालक हुन् । हाल कांग्रेसमा सक्रिय उनी सो समयमा फोरमबाट गाविस संयन्त्रमा थिए । संयन्त्रले नै उद्योग स्थापना गर्न दिने निर्णय गरेको थियो । तत्कालीन नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रहेका जगत शाहको भैरवकुण्डइँटा उद्योगमा लगानी छ ।
काभ्रे इँटा उद्योग व्यवसायी संघका सचिवसमेत हुन् ।

जग्गा व्यवस्थापन गरिदिने, स्थानीयले विवाद र अवरोध गरे समाधान गरिदिने र प्रहरी, प्रशासनलाई ‘मिलाउने’ भन्दै उद्योगीहरूले सानो हिस्साको सेयर स्थानीयहरूलाई दिने गरेका छन् । भैरवकुण्ड इँटा उद्योगका सञ्चालक केदार आचार्यले स्थानीयको हिस्सा थोरै हुने दाबी गरे । ‘हाम्रो त नाम मात्रै हो,’ आचार्यले कान्तिपुरसँग भने, ‘हामीलाई यसबारे जानकारी पनि हुँदैन, उहाँहरू (भक्तपुर निवासी) को अनुभव र सीपका आधारमा मात्रै हामीले लगानी गर्ने हो ।’

भकुण्डेबेंसीका सबै इँटा उद्योगले जनप्रतिनिधि, दलका नेताका साथै पैसा र पहुँच हुनेसँग साझेदारी गरेको पाइएको छ । नमोबुद्ध नगरपालिकाको केन्द्र भकुण्डेबेंसीमा सञ्चालित कुनै पनि इँटा उद्योगले मापदण्ड पूरा गरेका छैनन् । उद्योग दर्ता गर्ने समयमा राखेका १७ सर्तमध्ये कुनै पनि पालना नभएका हुन् ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT