१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भूकम्पपीडित भूमिहीन

हेटौंडा — मकवानपुरमा २०७२ वैशाख १२ गतेको भूकम्पपीडितमध्ये १ हजार ८ सय ८१ परिवार भूमिहीन छन् ।

हेटौंडा उपमहानगरपालिका र मनहरी, बाग्मती र बकैया गाउँपालिकामा गरेर १ हजार ८ सय ८१ लाभग्राहीको भूमिहीन भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना इकाई कार्यालयले जनाएको छ ।


जिल्ला पुनर्निर्माण सहजीकरण समितिको बिहीबार बसेका बैठकमा भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना इकाई मकवानपुरका प्रमुख सोमराज तिमल्सिनाले उक्त जानकारी दिएका हुन् ।


हेटाैंडा उपमहानगरपालिका र ३ गाउँपालिकामा भूकम्पपीडित लाभग्राहीहरू भूमिहीन रहेको प्रमुख तिमल्सिनाले बताए । उनका अनुसार हेटौंडा उपमहानगरपालिकामा ५ सय २७ जना, बकैया गाउँपालिकामा ७ सय ९६, बाग्मती गाउँपालिकामा ३५ जना र मनहरी गाउँपालिकामा ५ सय २३ जना भूमिहीन लाभग्राही रहेका छन् ।


मकवानपुरमा भूकम्पपीडित लाभग्राही ३३ हजार ९ सय ७४ को संख्या पहिचान भएको छ । तीमध्ये हालसम्म २६ हजार ३ सय ३२ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । जिल्लामा अझै पनि ७ हजार ६ सय ४२ जनासँग अनुदान सम्झौता हुन सकेको छैन । सम्झौता हुन नसकेकामध्ये एक हजार ८ सय ८१ लाभग्राहीहरू भूमिहीन छन् ।


भूकम्प पुनर्निर्माणअन्तर्गत निजी आवास पुनर्निर्माणतर्फ मंसिरमा मात्रै १ सय ११ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । यसैगरी, १ सय ७८ लाभग्राहीले दोस्रो किस्ता, २ सय ८० जना तेस्रो किस्ताका लागि निवेदन दिएका छन् ।


जिल्लामा ८५ हजार १ सय ८८ परिवारको सर्वेक्षण भएकोमा हालसम्म गुनासो फछर्याैटबाट थप भएका गरी ३३ हजार ९ सय ७४ लाभग्राही पहिचान भएका छन् । जसमध्ये हालसम्म २६ हजार २ सय २१ जनाले मात्र अनुदान सम्झौता गरेका छन् । २५ हजार ३ सय ८२ जनाले पहिलो किस्ता, १८ हजार १ सय ७० जनाले दोस्रो तथा ११ हजार ४ सय ८६ जनाले तेस्रो किस्ता प्राप्त गरेका छन् ।


यसैगरी दोस्रो किस्ताका लागि निवेदन दिने तथा प्रमाणीकरण भएका लाभग्राही १८ हजार ४ सय ४ जना, तेस्रो किस्ताका लागि निवेदन दिने एवं प्रमाणीकरण गरिएका लाभग्राहीहरू १२ हजार २ सय १३ जना रहेको जानकारी दिइएको छ । जिल्लामा घर निर्माण सुरु गरेका भूकम्प पुनर्निर्माण लाभग्राही संख्या १९ हजार ३ सय २९ रहेको कार्यालय प्रमुख तिमल्सिनाले बताए ।


जिल्लामा हालसम्म ११ हजार ६ सय ३५ लाभग्राही प्रबलीकरणका लागि पहिचान भएका छन् । जसमध्ये २ सय २२ सहित हालसम्म ३ हजार ८ सय ३४ जनासँग अनुदान सम्झौता भएको छ । अझै पनि जिल्लामा प्रबलीकरण गर्नुपर्ने ७ हजार ८ सय १ जना लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन । प्रबलीकरणतर्फ पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही ३ हजार ३ सय ८५ रहेका छन् ।


जिल्लामा १० जना लाभग्राहीले हालसम्म अनुदान रकम फिर्ता गरेको र जिल्लामा जोखिमयुक्त घरधुरी संख्या २५ पहिचान भएकोमा १० जनाको अन्यत्र जग्गा खरिद गरेर स्थानान्तरण गरेको इकाई प्रमुख तिमल्सिनाले भने ।


जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं सहजीकरण समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा संघीय सांसद एवं अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ऐलानी जग्गा मात्र भएका लाभग्राहीलाई स्थानीय तहको सिफारिसमा अनुदान दिने व्यवस्था गर्नुपर्ने बताए ।


बैठकमा सहजीकरण समितिका संयोजक एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले केन्द्रबाटै पहल गरेर गाँठो फुकाउन संघीय सांसद दाहाललाई आग्रह गरेका थिए ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?