कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मनहरीमा महोत्सव

मनहरी — मकवानपुरको पश्चिमी क्षेत्रको व्यापारिक केन्द्र मनहरीमा चौथो मनहरी महोत्सव शुक्रबारदेखि सुरु भएको छ ।

मनहरीमा महोत्सव

स्थानीय उत्पादित वस्तुहरूलाई पहिचान गराउने उद्देश्यले आयोजित मनहरी महोत्सवको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार एक समारोहबीच उद्घाटन गरेका थिए ।


बाँसको लिङ्गेपिङ खेलेर र दीपप्रज्वलन गरेर महोत्सवको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा मुख्यमन्त्री पौडेलले यस्ता मेला र महोत्सवहरूले स्थानीय उत्पादित वस्तुहरूलाई बजारीकरण गर्न योगदान पुर्‍याउनुपर्ने बताए । महोत्सवको स्टलहरूमा स्थानीय उत्पादित वस्तुहरू बिक्रीको निम्ति राख्नुपर्ने उनले सुझाव दिएका थिए । ‘महोत्सवमा भड्किला खालका गीतसंगीतहरू प्रस्तुत गर्नुुहुँदैन जसले समाजलाई नै गलत दिशातर्फ लैजान्छ,’ उनले भने ।


मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समिति मनहरीले आयोजना गरेको उक्त मेलाको उद्घाटन समारोहका अतिथिहरूलाई चिउरीको चाकासहितको मह खुवाउनुका साथै चेपाङको जावी झोला उपहार प्रदान गरिएको थियो ।


पुस २ गतेसम्म सञ्चालन हुने उक्त मेलामा चिउरीको मह, चेपाङको घर र उनीहरूले प्रयोग गर्ने सामग्रीहरू पनि राखिएका छन् । पश्चिमी क्षेत्र मनहरी उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द रिजालको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था तथा कृषिमन्त्री दावादोर्जे लामाले यस्ता महोत्सवहरूले स्थानीय कृषकलाई लाभ पुर्‍याउनुपर्ने बताए ।


मनहरी गाउँपालिका ७ मनहरी खोलाको बगरमा आयोजना गरिएको उक्त मेलामा २ सय १५ वटा स्टल रहेका छन् । उक्त मेलाको करिब एक लाखले अवलोकन गर्ने अनुमान छ । करिब ७ करोडको कारोबार हुने आयोजकहरूको अनुमान छ । मेलाको उद्घाटन गर्नुअघि विभिन्न समुदायका झाँकीसहित मनहरी बजारमा र्‍याली निकालिएको थियो ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?