एकीकृत घुम्ती शिविरमा सेवा लिनेको भीड

बलराम घिमिरे

रसुवा — गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सरकारी सेवा लिन सर्वसाधारणको भीड लागेको छ । 

नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङमा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सेवा लिन सर्वसाधारणको भीड लागेको हो । दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै पुगेर सेवा दिने सरकारको उद्देश्य अनुरुप नौकुण्ड गाउँपालिकाको पारच्याङमा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।


शिविरबाट स्थानीयले मुख्य गरी नागरिकता र नागरिकताको प्रतिलिपि बनाउने सेवा पाएका छन् । ‘नागरिकताको प्रतिलिपि गाउँबाटै पाउने भएपछि शिविरमा प्रतिलिपि लिन स्थानीयको भिड लागेको छ’ पौडेलले भने ।

२०५५ साल यता जारी भएका नागरिकताको मात्र प्रतिलिपि वितरण गरिएको छ । नागरिकताको प्रतिलिपि लिन सदरमुकाम धाउनुपर्ने हुन्थ्यो । यस पटकको एकीकृत घुम्ति शिविरबाट स्थानीयले यो सुविधा गाउँमै पाएका छन् ।

शिविरबाट स्थानीयले समुदायमा अदालत तथा सरकारी वकिल कार्यक्रम अन्र्तगत कानुनी परामर्श, फोटो सहितको मतदाता नामावली संकलन, तरकारिका बिउ विजन, निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, पशु उपचार सेवा, निशुल्क आँखा परीक्षणको सेवा पाएका छन् ।


कोलेनिका,लारानि,नेपाल टेलिकम, घरेलु, पुननिर्माण प्राधिकरण, शिक्षा, सिंचाइ लगायतका कार्यालले आ–आफ्नो कार्यालयबाट हुने सेवा दिएका छन् ।


सरदमुकाम धुन्चेसम्म जान नसकेका महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त र अपांगता भएकाहरुलाई सरकारले घरदैलोमा आएर सेवा दिएकोमा स्थानीयहरु धेरै खुसी भएको नौकुण्ड गाउँपालिका उपाध्यक्ष सृजना लामाले बताइन् ।


घुम्ती शिविर आइतबारसम्म चल्ने छ ।

प्रकाशित : मंसिर २२, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?