यौन दुर्व्यवहार गर्ने किशोर सुधार गृहमा

प्रताप विष्ट

हेटौंडा — बालिकालाई यौन दुरुपयोग गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक किशोरलाई तीन महिना बालसुधार गृहमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले १६ वर्षीय किशोरले ८ वर्षीया बालिकामाथि यौन दुरुपयोग गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । बालबिज्याइँ गरेको बालकलाई हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृहमा राखिएको छ ।


कैलाश गाउँपालिका ९ की बालिकालाई गत असोज ९ गते बालकले यौन दुरुपयोग गरेका थिए । गत आवमा यस्ता घटना जिल्लामा ५ वटा भएका थिए । बालबालिका संलग्न रहेका मुद्दा जिल्ला अदालत मकवानपुरले बालइजलासबाट बयान लिनेलगायत फैसलासमेत गरेको छ ।


युवा तथा वयस्कहरूबाट चालु आवमा बालिकालाई यौनदुराचार र यौन दुव्र्यवहारका घटना ११ वटा भएका छन् । ५९ वर्षको वृद्धले तीन वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेका छन् । मकवानपुरमा चालु आवको ५ महिनामा जबरजस्तीकरणी, यौन दुराचार र यौन दुव्र्यवहारका १९ वटा घटना जिल्ला प्रहरी कार्यालय हेटौंडामा दर्ता भएका छन् ।


जबरजस्तीकरणी, यौनदुराचार र यौन दुव्र्यवहारका घटना छिमेकी र आफन्तहरूबाट भएका छन् । बालबालिकाको संरक्षण, सहभागिता र विकासको क्षेत्रमा काम गर्ने संस्था प्रशस्तै हुँदाहुँदै पनि यहाँ गत आवमा १८ जना बालिकाहरू बलात्कृत भएका थिए । साढे २ वर्षदेखि १२ वर्षसम्मका बालिकाहरू अधिकांश छिमेकी र आफन्तकै सिकार बनेका छन् ।


मादक पदार्थ सेवन र कुसंगतका कारण उनीहरूले प्रतिवाद गर्न नसक्ने बालिकालाई सिकार बनाउने गरेको देखिन्छ । हेटौंडा नगरपालिका–४ का १८ वर्षीय रिजन यादवले साथीसँग रातभर अश्लील फिल्म हेरेको भोलिपल्ट साढे तीन वर्षकी बालिकालाई बलात्कार गरेका थिए ।


उनलाई अदालतले ७ वर्ष कैद राख्ने फैसला गरिसकेको छ । त्यसैगरी वाग्मती गाउँपालिकास्थित राईगाउँका २२ वर्षीय रामबहादुर विकले रक्सीको उन्मादमा साढे २ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । त्यतिमात्र होइन, आफ्नै बाबुले ४ वर्षकी बालिकालाई पटक/पटक बलात्कार गरेका छन् ।


बालिकाले शिक्षकहरूलाई भनेपछि पीडक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका चुरियामाईका १८ वर्षीय युवक सानुलाल गोलेले ११ वर्षीया बालिकालाई पैसा दिन्छु भनेर लोभ्याएर बलात्कार गरेका थिए । गोलेले अघिल्लो रात साथीसँग अश्लील फिल्म हेरेका थिए ।

ग्रामीण क्षेत्रमा गरिबी, अशिक्षा र अभिभावकको संरक्षणको अभावले बालिकाहरू बलात्कृत हुनुपरेको महिला सेलकी प्रमुख दीपा कार्कीले भनिन्, ‘सहरमा कुसंगत, मादक पदार्थको सेवन, मोबाइललगायतका कारण बालिका बलात्कृत भएका छन् भने गाउँमा अभिभावकको हेरविचारमा कमी र चेतनाको अभाव तथा गरिबीका कारण अनजान बालिका बलात्कारको सिकार हुन पुगेका छन् ।


बलात्कृत बालिकाको स्याहारसुसार गर्दै आएकी माइती नेपाल हेटौंडा शाखाकी प्रमुख माया लामा भन्छिन्, ‘बलिकालाई बलात्कार गर्नेलाई समाजले दुत्कार्नुपर्छ र राज्यले कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?