किसानले पुसबाट चल्ला नकिन्ने

‘चल्ला, दाना र बिजुलीको लागत मूल्यभन्दा कुखुराको भाउ कम भएपछि खरिद नगर्ने निर्णय’
रमेशकुमार पौडेल

चितवन — मासुका लागि पालिने ब्रोइलर कुखुरा उत्पादक किसानले पुस एक गतेदेखि चल्ला नकिन्ने घोषणा गरेका छन् । ब्रोइलर कुखुरा पाल्ने किसानको संस्था नेपाल कुखुरा पालक किसान संघ केन्द्रीय समितिले आइतबार भरतपुरमा पत्रकार सम्मेलन राखेर यस्तो जानकारी गराएको हो ।

किसानले पुसबाट चल्ला नकिन्ने

लागत मूल्यभन्दा कममा कुखुरा बेच्नुपर्ने बाध्यतामा किसान पुगेका कारण यस्तो निर्णय लिएको संघले जनाएको छ ।


चितवनमा उपभोक्ताले किन्ने मासुको मूल्य प्रतिकिलो २ सय ६० देखि २ सय ८० रुपैयाँसम्म छ । किसानले बेच्ने ज्युँदो कुखुराको मूल्य प्रतिकिलो १ सय ४५ रुपैयाँसम्म छ । किसानले पाउने ज्युँदो कुखुराको मूल्य र उपभोक्ताले तिर्ने मासुको मूल्यबीच बढीमा सय रुपैयाँ फरक पर्ने नियम हो । तर उपभोक्ताले बढी मूल्य तिर्दा किसानले लागत मूल्य पनि नपाएको नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले बताए ।


‘अहिले चल्ला र दानाको बढ्दो मूल्य, बिजुली खर्च र हाम्रो मिहिनेतको सामान्य हिसाब गर्ने हो भने पनि एक किलो ज्युँदो कुखुरा तयार गर्न १ सय ७० देखि १ सय ७५ रुपैयाँसम्म खर्च लाग्छ । अहिले १ सय ४० रुपैयाँमा बेच्दा हाम्रो उठिबास हुने भयो,’ अध्यक्ष झनक पौडेलले भने । एउटा कुखुरा अढाई किलोसम्म हुन्छ । एउटै कुखुरामा ७५ रुपैयाँसम्म नोक्सान हुने गरेका कारण थप कुखुरा राख्न सक्ने अवस्था नरहेको उनले बताए ।


मूल्य तोक्ने संयन्त्र बनाउन माग

पत्रकार सम्मेलनमा सहभागी विभिन्न जिल्लाका कुखुरा पालक किसानले आफूले उत्पादन गरेको कुखुराको मूल्य व्यापारी र बिचौलियाले तोक्दा मर्का परेको धारणा राखे । ‘सरकारले देशलाई मासुमा आत्मनिर्भर बनाउने भनेको छ । कुखुरा पालनमा देशका लाखौं किसान संलग्न छन् । तर उपभोक्ताले मासुको मूल्य तिर्दा किसानले कति पाए, सरकारले थाहा पाउनुपर्‍यो,’ संघको बारा जिल्ला अध्यक्ष गोविन्द पौडेलले भने ।


तर सरकारले थाहा पाउने चेष्टा नगरेको र पीडामा परेका किसानको पुकार पनि नसुनेको गुनासो उनले गरे । बिचौलियाले मूल्य तोक्ने र खुला सिमानाका कारण अवैध रूपमा भारतबाट आउने चल्ला र कुखुराका कारण नेपाली किसान मारमा परेको उनले बताए । ह्याचरी र किसानका बीचमा बस्ने सप्लायर्सले तोकेकै मूल्यमा उत्पादन बेच्नुपरेको किसानले गुनासो पोखे ।


‘मूल्य हेरफेर गर्दा त्यो संयन्त्रले उचित आधारहरू दिएर बढाउने घटाउने गर्नुपर्छ । हाम्रो माग त्यस्तो संयन्त्र बनोस् भन्ने हो । नभए किसानले यो व्यवसाय थेग्न नसक्ने भयो,’ संघका केन्द्रीय अध्यक्ष झनक पौडेलले भने । देशमा केही ठूला व्यवसायीहरूले पछिल्लो समय कोल्डस्टोरहरू बनाएको र कोल्डस्टोरमा कुखुरा भर्नका लागि मूल्य घटाउने प्रतिस्पर्धा गरेको पौडेलले बताए ।


‘सस्तो मूल्यमा कुखुरा किनेर कोल्डस्टोर भरेपछि फेरि कुखुराको मूल्य बढ्छ । त्यो बेलामा किसानसँग कुखुरा हुँदैन,’ अध्यक्ष पौडेलले भने । ती ठूला कोल्ड स्टोरलाई कुखुरा बेच्न सप्लायरबीच नै प्रतिस्पर्धा हुने र किसानको मूल्य निरन्तर घट्ने गरेको पौडेलले बताए । यस्ता कोल्डस्टोरहरू सरकारले नै बनाउनु पर्ने किसान संघको माग रहेको छ ।


चल्लाको मूल्य बढ्यो

किसानहरूले पुस १ गतेबाट चल्ला नकिन्ने घोषणा गररिहँदा ह्याचरी उद्योगहरूले भने चल्लाको मूल्य बढाएका छन् । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीका पोखरेलले आइतबारबाट ब्रोइलर चल्लाको मूल्य प्रति गोटा १० रुपैयाँ बढेको जानकारी दिए ।


उनका अनुसार अहिले हप्तामा देशभर ब्रोइलर कुखुराका २७ लाख चल्ला उत्पादन हुन्छन् । चल्लाको मूल्य ५० रुपैयाँ रहेकोमा ६० पुगेको छ ।


‘कुखुराको मूल्यसँग ह्याचरीको कुनै सम्बन्ध छैन । ह्याचरीको चल्ला नकिनेर कुखुराको राम्रो मूल्य आउँछ भन्ने सोच्नु गलत हो । मूल्य नआउनुको कारणका विषयमा गम्भीर भएर खोजी गर्न आवश्यक छ । सबै मिलेर लाग्नुपर्छ । एक–अर्काबीच कारोबारै रोकेर आन्दोलन गर्दा उद्योगको हित हुँदैन,’ ह्याचरीका अध्यक्ष पोखरेलले भने । ३५ लाख गोटा माग भए पनि चल्ला उत्पादन कम भएका कारण बिक्रीमा समस्या नरहेको उनले बताए ।

प्रकाशित : मंसिर २४, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?