कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हात्ती महोत्सवको तयारी सुरु

रमेशकुमार पौडेल

चितवन — पर्यटकीय होटलहरूको संस्था क्षेत्रीय होटल संघ, सौराहा चितवनले आयोजना गर्ने हात्ती महोत्सवको तयारी सुरु भएको छ ।

हात्ती महोत्सवको तयारी सुरु

आउँदो पुस ११ गतेदेखि पाँच दिनसम्म बाघमारा चौरमा महोत्सव सञ्चालन हुने संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक सुमन घिमिरेले बताए । यस पटक सञ्चालन हुन लागेको हात्ती महोत्सव १५ औं हो ।


सुरुमा हात्ती दौड भनेर कार्यक्रम सञ्चालन हुन्थ्यो । पशु अधिकारकर्मीहरूको विरोध गरेपछि हात्तीका विभिन्न गतिविधिहरू समावेश गरेर महोत्वका रूपमा सञ्चालन हुन थालेको हो । महोत्सवमा हात्तीको वनभोज, हात्तीका बच्चाहरू (छावा) को फुटबल, हात्तीहरूको सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङजस्ता कार्यक्रम हुन्छन् । हात्तीलाई नदौडाई हिँडाएर ‘इलाफेन्ट फास्ट वाक’ नामको प्रतिस्पर्धा हुने गर्छ ।


‘क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा पर्यटक चहलपहल बढाउने उद्देश्य राखेर सुरुमा हात्तीदौड आयोजना भयो । पछि त्यसैलाई महोत्सवको रूपमा सञ्चालन गर्दै आएका हौं,’ क्षेत्रीय होटल संघ, सौराहा चितवनका अध्यक्षसमेत रहेका महोत्सवका मूल संयोजक घिमिरेले भने ।


चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको सौराहामा बर्सेनि देश विदेशका लाखौं पर्यटकहरू आउँछन् । ‘यो महोत्सव चितवनको प्रमुख ठूला पर्यटकीय गतिविधिको रूपमा देशविदेशमा चिनिएको छ ।


पर्यटकहरू हात्ती चढ्न सौराहा आउने हुन् । हात्तीको महत्त्व, खानपान र व्यवहार बुझाउन पनि महोत्सवले भूमिका खेलेको छ,’ महोत्सवका प्रवक्ता रहेका संघका प्रथम उपाध्यक्ष दीपक भट्टराईले भने ।


क्रिसमसका समयमा विदेशी पर्यटकहरू कम हुँदै जान्छन् । पर्व मनाउन उनीहरू आफ्नै देश फर्कन्छन् ।

‘नेपाल आएका विदेशी पर्यटकहरू पनि सौराहामा नै रमाउन, स्वदेशी पर्यटकको चाप पनि बढोस् भनेर हात्ती महोत्सव सञ्चालन हुने गरेको हो,’ संघका अध्यक्ष घिमिरेले भने ।


महोत्सव सुरु भएको १५ वर्ष हुँदा प्रचारप्रसार राम्रैसँग भए पनि पर्यटक आउने क्रम सोँचे अनुरुप भने नबढेको उनले बताए । तर विस्तारै यसको प्रभाव पर्ने उनको आशा छ । चितवन निकुञ्ज घुम्न वर्षमा दुई लाखको हाराहारीमा पर्यटक जान्छन् ।


निकुञ्ज घुम्नेमध्ये अधिकांश पर्यटक सौराहा बस्ने गर्छन् । हात्ती महोत्सवमा प्रत्येक वर्ष नयाँ कार्यक्रमहरू थपिँदै आएका छन् । यो वर्ष संरक्षणमूलक कवि गोष्ठी आयोजना हुने छ । जसमा देशभरका २५ जना प्रतिष्ठित कवि लेखकले भाग लिने संयोजक घिमिरेले बताए । यसले साहित्यलाई पर्यटन र संरक्षणसँग पनि जोड्ने उनको भनाइ छ ।


हात्ती फास्ट वाकमा २० र हात्ती सुन्दरीमा पाँच हात्तीले भाग लिँदै छन् । त्यसै गरी हात्ती पोलोमा र छावाको फुटबलमा चार चार टिमले भाग लिने आयोजकहरूले जानकारी गराए ।

प्रकाशित : मंसिर २५, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?