पर्वतारोहण गरे जति विद्यालय भवन

नगेन्द्र अधिकारी

बालुवा — कोरियाली नागरिक अम होंङ गिलले सन् १९८८ देखि सन् २००७ सम्ममा विभिन्न देशका १७ वटा हिमाल चढे । ८ हजार मिटरमाथिका ती हिमाल आरोहण गरेका उनले जति पर्वतारोहण, उति नै विद्यालय भवन बनाउने अठोट गरे ।

पर्वतारोहण गरे जति विद्यालय भवन

उनैको नाममा स्थापित अम होंङ गिल हयुमन फाउन्डेसनले नेपालका १२ जिल्लाका १५ सामुदायिक विद्यालयमा बालमैत्री, भूकम्पप्रतिरोधी, सुविधा सम्पन्न पक्की भवन निर्माण गरिसकेको छ । फाउन्डेसनका अनुसार, २ विद्यालय निर्माणाधीन छन् ।


अमेरिकी जल सेनाबाट रिटायर्ड गिलले ३ पटक ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । ८ हजार २७ मिटरको सिमापाङमा र ८ हजार ५१६ मिटरको ल्होत्से २ पटक आरोहण गरेका छन् । सन् २००५ मा सगरमाथाको चुचुरोमा पुग्न असफल भएका उनी ३ वर्षपछिको प्रयासमा सफल भए । त्यसपछि पनि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरेका छन् ।


‘टंयाक अफ द हिमालयज’ को नामले परिचित उनले ८ हजार मिटरमाथिका चोयू, , मकालु, ब्रोड पिक, ल्होत्से, धौलागिरि, मनास्लु, गसेरब्रुम प्रथम, गसेरब्रम दोस्रो, अन्नपूर्ण, नाङ्गा पर्वत, कञ्चनजंघा, केटु, यालुङ काङ र ल्होत्से सार पनि उनले १९ वर्षको अवधिमा आरोहण गरिसकेका छन् । ‘जति आरोहण गरें, त्यति नै विद्यालय बनाउने मेरो चाहना हो,’ उनले भने, ‘दाताहरू खोजेर फाउन्डेसनमार्फत ग्रामीण भेगमा सुविधा सम्पन्न विद्यालय बनाइरहेका छौं ।’


यसअघि सोलुखुम्बु, म्याग्दी, धादिङ, रुपन्देही, कास्की, धुनषा, संखुवासभा, बर्दिया, ताप्लेजुङ्ग, गोरखा र रोल्पामा विद्यालय भवन बनाएर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ ।


काभ्रेका पाँचखाल १२ मा रहेको आजाद माविका लागि पनि फाउन्डेसनले १ करोड ९५ लाखको लागतमा ८ कोठे विद्यालय भवन, त्यहाँ प्रयोग हुने फर्निचर, कम्पाउन्ड, घेराबार र बगैंचा सजावटको काम गरेको छ । ४ कोठे शौचालय पनि निर्माण भएको छ ।


भिक्षुणी दोवन सा मानो र कोरियाका ९ वटा रोटरी क्लबले फाउन्डेसनमार्फत सहयोग गरेका थिए । २०१७ मार्च १६ मा समझदारी पत्रमा हस्ताक्षर भएको विद्यालय भवन २९ मार्चमा शिलान्यास भएर २१ महिनामा नै तयार भएको हो ।


भवनको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले उद्घाटन गरे । विद्यालयका प्रधानाध्यापक प्रल्हाद तिमिल्सनाले पठनपाठन सहज भएको बताए । विपन्न दनुवारको बाहुल्य भएको विद्यालयमा ७ सय ७८ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?