फेरि गैंडाको चोरी सिकार

रमेशकुमार पौडेल

चितवन — ‘गैंडाको शून्य चोरी सिकार’ केही वर्षयता निकै प्रचारमा आउने गरेको छ । सिकारीका कारण लगातार हजार दिनसम्म कुनै पनि गैंडा नमारिएको भनेर मन्त्री नै ल्याएर चितवन निकुञ्जले कार्यक्रम पनि गरेको थियो ।

यसलाई संरक्षण इतिहासमा अहिलेसम्म पाएको सबैभन्दा ठूलो सफलता भन्ने गरिन्छ । तर शून्य सिकारका हजार दिनभित्रै चोरी सिकारीले गैंडा मारेको तथ्य भेटिएको छ ।

चितवन जिल्ला अदालतले गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा मंसिर ११ गते दुई जनालाई सजाय सुनाएको छ । अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार भारत विहारको पश्चिम चम्पारण गोबरहिया दोनका ४० वर्षीय छठु महतोलाई सात वर्ष कैद भएको थियो । त्यसैगरी चितवन माडीमा रामा महतोलाई पाँच लाख रुपैयाँ जरिवना भएको थियो । विसं. २०७३ सालको जेठमा गैंडा मारेको मुद्दामा उनीहरूलाई यो सजाय भएको हो ।


तर चितवन निकुञ्जले दिने गरेको आधिकारिक विवरणहरूमा यो मितिमा गैंडा मरेको देखिँदैन । निकुञ्जका सूचना अधिकारी रहेका गोपाल घिमिरे ०७१ सालको वैशाख २० गते पछाडि एकै पटक ०७३ सालको चैत २६ मा चोरी सिकारीले गोली हानेर गैंडा मरेको बताउँछन् । ०७१ साल वैशाख २० यता चोरी सिकारीका कारण कुनै पनि गैंडा नमरेको भनेर ०७३ सालको माघ १५ मा शून्य चोरी सिकारका हजार दिन मनाइएको थियो ।


तत्कालीन वनमन्त्री शंकर भण्डारी र निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले सौराहामा गैंडाको चित्र ढाकिने गरेर एक हजार लेखिएको साइनबोर्ड अनावरण गरेका थिए । निकुञ्ज कार्यालय र सुरक्षाका लागि तैनाथ श्रीजंग गणले संयुक्त रूपमा त्यो कार्यक्रम मनाएका थिए । तर अदालतले मुद्दा फैसला गर्दा भित्रभित्रै गैंडा मरेर खागसमेत बिक्री भएको तथ्य उजागार भएको छ ।


निकुञ्जभित्रै समातिएका थिए छठु महतो गएको असार १० गते चितवन राष्ट्रिय निकुञ्जभित्र सुरुङखोला क्षेत्रमा समातिएको निकुञ्जका अधिकारीहरूले बताएका छन् । त्यो बेला उनीसँग अरु चार पाँचजना साथीहरू पनि थिए । खेतको काम गर्न भारतको वाल्मीकि टाइगर रिजर्भ हुँदै माडी जान लागेको बयान दिएपछि अरू छुटे ।


तर निकुञ्जको सुराकी संयन्त्रले छठु शंकास्पद भएको सूचना दिएपछि उनीमाथि थप अनुसन्धान भएको थियो । थप अनुसन्धान हुँदा उनले ०७३ सालको जेठमा चितवन निकुञ्जभित्र गैंडा मारेको बयान दिएका थिए । भारतको दोन गाउँ वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको छ । छठुले आफूसहित पाँचजना साथी भएर तीन थान बन्दुक र २७ राउन्ड गोली बोकेर गैंडा मार्न निकुञ्ज छिरेको बताएका छन् ।


खाग किन्ने नेपाली नै

छठुले दिएको बयानमा गैंडा मार्न जानेहरूमा पाँचै जना भारतीय थिए । तर खाग किन्नेहरू नेपाली थिए । गैंडा मारेको एक महिनापछि बुटबलबाट आएका दुई जना महिलाले एक लाख भारतीय रुपैयाँ तिरेर खाग लगेको छठुले बताएका छन् ।


ती महिलाहरू खाग किन्न छठुकै गाउँमा आएका थिए । निकुञ्जभित्रै आएका बेलामा छठु समातिए पनि उनले गैंडा मार्न र खाग किन्न संलग्न भएको भनेर नाम लिएका अरू पक्राउ परेका छैनन् ।


गैंडा मार्न पहिला पहिला चितवन निकुञ्ज आसपासका गाउँमा बस्ने सोझा व्यक्तिहरू प्रयोग हुन्थे । निकुञ्जदेखि पर पहाडी गाउँमा बस्ने चेपाङहरू पनि चोरी सिकारीको आरोपमा धेरै नै समातिएका छन् । तर नेपालतर्फ कडाइ हुन थालेपछि तस्करहरूले गैंडा मार्न भारतीयलाई रोज्न थालेको यो घटनाले देखाएको छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?