दैलोमा पुगेर निर्माण सम्झौता

‘योजनाको सम्झौता सहज र सिंहदरबार गाउँगाउँमा पुगेको अनुभूति होस् भनेर यो अभियान चलाएका हाैं’
प्रताप विष्ट

हेटौंडा — गाउँघरमा सरकारको अनुभूति दिलाउन मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरदैलोमा पुगेर सेवा दिने अभियान सुरु गरेको छ । चालू आव २०५७/०७६ को गाउँपालिका स्तरीय विकास निर्माणका कार्यहरूको वडावडामा पुगेर उपभोक्ता समितिहरूसँग सम्झौता गरेको छ ।

दैलोमा पुगेर निर्माण सम्झौता

‘उपभोक्ता समितिमार्फत हुने अधिकांश विकास निर्माणका कामहरू गाउँमै गएर सम्झौता गर्ने अभियान नै चलाएका छाैं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले भने, ‘तीन वडाका करिब ४० वटा योजनाहरू गाउँमै गएर सम्झौता गरिसकेका छौं ।’


गाउँघरमा सिंहदरबारको उपस्थिति जनाउने अभियानअन्तर्गत प्रत्येक गाउँमा पुगेर मंसिरको पहिलो सातादेखि स्थानीय जनताको काम गर्ने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिकाले योजनाहरूका बारेमा अध्ययन गर्नका लागि प्राविधिकहरू पहिला गाउँमा खटाउने गरेको छ ।


उपभोक्ता समितिहरू गठन भइसकेपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित वडाध्यक्ष गाउँमा गएर सम्झौता गरेका छन् । स्थानीयवासीलाई विकास निर्माणको लागत, सक्नुपर्ने अवधिलगायतका बारेमा जानकारी पनि दिने गरेका छन् । राक्सिराङ गाउँपालिका मकवानपुरको दुर्गम गाउँपालिकाभित्र पर्छ । गाउँपालिकाको केन्द्र चैनपुरमा छ ।


केही वडाहरूवाट गाउँपालिकाको केन्द्रमा आइपुग्न नौ घण्टा लाग्छ । ‘योजनाको सम्झौता गर्न उपभोक्ता समितिहरूलाई सहज र सिंहदरबार गाउँगाउँमा पुगेको अनुभूति होस् भनेर यो अभियान चलाएका हांै,’ अध्यक्ष मल्लले भने, ‘गाउँमा नै पुगेर सम्झौता गर्दा विकास निर्माणको काम पारदर्शी पनि हुनेछन् ।’ गाउँलेहरूलाई तत्काल आवश्यक परेको तर सामान्य रकमले पुग्ने कामहरू पनि यथाशीघ्र गरिदिने गरेका छन् ।


राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लको नेतृत्वमा सोमबार राक्सिराङ गाउँपालिका ६ शिलाधुनीमा पुगेर ६ र ७ नम्बरको वडाको ३० वटा विकास निर्माण कामको उपभोक्तासंँग सम्झौता गरेको छ । विकास निर्माणको कामको सम्झौता गर्दा वडावासीहरूलाई उपस्थित गराएर जानकारी पनि गराइएको थियो ।


जुरेथुमको पेल्टिकसेट बिग्रेर मर्मत गर्न नसकेको अवस्थामा गाउँपालिका अध्यक्ष मल्लले लागेको रकम गापाले उपलब्ध गराउने र मंगलबारदेखि मर्मतसम्भार गर्न भनेका थिए । शिलाधुनीबाट चैनपुर हिँडेर आउन ८ घण्टा लाग्छ ।


गाडीमा चितवनको भण्डारा, मनहरी हुँदै चैनपुर आउनुपर्छ । उक्त गाउँपालिकाले मंसिर पहिलो सातामा गापाको ९ नम्बर वडा खैराङबाट यो अभियान सुरु गरेको हो । खैराङमा १० वटा योजना सम्झौता गरिएको थियो । ‘गाउँपालिकाका सबै दुर्गम वडाहरूमा गाउँमै पुगेर सम्झौता गर्नेछौं,’ प्रशासकीय अधिकृत पुडासैनीले भने ।


वडाभित्रका जनताले माग गरेका सिफारिसलगायतका अन्य काम पनि गाउँघरमै पुगेर गर्ने जनाएका छन् । ‘यो अभियान हामी प्रत्येक वडामा पुगेर सञ्चालन गर्नेछौं,’ पुडासैनीले भने, ‘अब जनप्रतिनिधिहरूले पनि कार्यालयमा नै बोलाएर काम गर्ने मात्र नभई जनताले भेटेको ठाउँमा नै सेवा दिने अभियान पनि सुरु भएको छ ।’ चेपाङहरूको बाहुल्य रहेको उक्त गापाको चालू आवको बजेट ४० करोड ५५ लाख रुपैयाँ छ । ९ वटा वडामा विभाजित यस गापामा २६ हजार १ सय ९२ जनसंख्या छ ।


गााउँपालिकाले गाउँबाट टुकी विस्थापित गर्ने अभियान सञ्चालन गरेको छ । ‘२०७७ सालसम्ममा गाउँबाट टुकी विस्थापित गर्ने अभियान चलाएका छौं,’ गापा अध्यक्ष मल्लले भने, ‘सोलार वितरण, पेल्टिकसेट निर्माण र विद्युतीकरण गर्ने तीनै अभियानबाट टुकी विस्थापित गरिछाड्छौं ।’


५ हजार ६ सय घरधुरी रहेको यस गाउँपालिकामा १० वटा पेल्टिकसेटबाट विद्युत् उत्पादन र सोलार पनि वितरण गरिएको छ । सोलार र पेल्टिकसेटको उज्यालोबाट २१ सय घरधुरीबाट टुकी विस्थापित भएको गापाले जनाएको छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?